Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

नेविसंघको महाधिवेशन प्रतिनिधि धमाधम विदेशिँदै

विहीबार, २३ असार २०७३

काठमाडौं २३ असार / कैलालीका ओम साउद, सञ्जय सिंह, खुसिराम चौधरी नेविसंघको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि हुन्, तर यतिवेला उनीहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक, मलेसिया र कोरिया पुगेका छन् । साउद, सिंह र चौधरी मात्र होइनन्, समयमा महाधिवेशन नहुँदा देशभरका थुप्रै प्रतिनिधि बिदेसिएका छन् ।

कैलालीका नेविसंघ अध्यक्ष विनय लामाका अनुसार साउद कोरिया, विष्ट मलेसिया र चौधरी कतारमा छन् । तोकिएको समयमा नेविसंघको केन्द्रीय महाधिवेशन नहुँदा तीन वर्षअघि निर्वाचित भएका उनीहरू बिदेसिएका हुन् ।

जिल्ला अध्यक्ष नै बाहिरिए

वैदेशिक रोजगारीका लागि बिदेसिनेमा महाधिवेशन प्रतिनिधि मात्र छैनन्, जिल्ला अध्यक्षसमेत छन् । पाल्पा जिल्लाका नेविसंघ अध्यक्ष नै बिदेसिएका छन् । जिल्ला अध्यक्ष विदुर घिमिरे कोरिया गएका छन् । त्यसैगरी, सोही जिल्लाबाट महाधिवेशन प्रतिनिधि बनेका सुदर्शन पन्त, हरि कार्कीलगायत पनि स्वदेशमा छैनन् ।

सबै जिल्लाको समस्या उस्तै

कैलालीको मात्र होइन, बाजुराको अवस्था पनि उस्तै छ । बाजुरा अध्यक्ष सुरेन्द्र सिंहका अनुसार तीन वर्षअघि महाधिवेशन प्रतिनिधि छनोट भएका धेरै तितरवितर भइसकेका छन् । सुनसरीमा पनि झन्डै आधा दर्जन बिदेसिएका छन् । रामबहादुर कार्की, सन्दीप पौडेल, केपी कुँवरलगायतका महाधिवेशन प्रतिनिधि बिदेसिएका छन् ।

कोही माउ पार्टीको राजनीतिमा

धेरैजसो वैदेशिक रोजगारीमा बिदेसिए केही माउ पार्टी कांग्रेसको पार्टी राजनीतिमा पदोन्नति भए भने केही यतै रोजगारीमा लागे । महाधिवेशन प्रतिनिधि दीपक शाह पार्टी सचिव भएका छन् भने राजबहादुर धामी सरकारी जागिरे भए । कञ्चनपुरका गोपी उपाध्याय पार्टीको क्षेत्रीय सभापति बनेका छन् । चितवनका नेविसंघ प्रतिनिधि कैलाश कोइराला पार्टीका जिल्ला उपाध्यक्ष भएका छन् भने उत्तम जोशी पार्टी सचिवमा चुनाव लडेरै जितेका छन् ।

सातौँ प्रयासमा पनि महाधिवेशन भएन

लामो समयसम्म संगठनको महाधिवेशन नभएपछि विद्यार्थी राजनीतिमा लागेका धेरै असन्तुष्ट भएर विकल्प खोज्नतिर लागेका हुन् । नेविसंघका अध्यक्ष रञ्जित कर्णको अध्यक्षतामा रहेको नेविसंघले सातौँपटकसम्मको प्रयासमा पनि महाधिवेशन सम्पन्न गर्न सकेको छैन । आठौँ प्रयासस्वरूप साउनको अन्तिम साता महाधिवेशन गर्ने घोषणा गरिएको छ ।

प्रतिनिधि बाहिरिएको स्वीकार गर्छन् नेता

यो कुरा नेविसंघका नेताहरू नै स्वीकार गर्छन् । पूर्वमहामन्त्री मनोजमणि आचार्य लामो समयसम्म महाधिवेशन नहुँदा धेरै तितरबितर भइसकेको बताउँछन् । नेविसंघ प्रवक्ता युपी लामिछानेले प्रतिनिधि चुनिएपछि केही विदेश गएको र केही पार्टी राजनीतिमा लागेको कुरा सत्य भएको बताए । लामिछानेले भने, ‘कति प्रतिनिधि विदेश गएका छन् र कति पार्टीको जिम्मेवारीमा छन् भन्ने कुरा अपडेड गर्न बाँकी छ ।’

महाधिवेशनका लागि आठौँ प्रयासमा पनि सबै जिल्ला र क्याम्पसमा अधिवेशन हुन सकेको छैन । केन्द्रीय नेतृत्वले ६४ जिल्लामा अधिवेशन सम्पन्न भएको र ११ जिल्लामा विवाद रहेको जनाएको छ । त्रिवि कीर्तिपुरलगायत राजधानीका केही क्याम्पसमा अझै अधिवेशन भएको छैन ।

तयारी छैन महाधिवेशनको

आठौँ प्रयासमा पनि ११औँ महाधिवेशनको तयारी भने अपेक्षाकृत देखिँदैन ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया