Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

शिक्षा परिषद्को सर्टिफिकेटमा राष्ट्रिय परीक्षा बोर्डको छाप

विहीबार, २३ असार २०७३

काठमाडौं २३ असार / उच्च माध्यमिक शिक्षा परिषद् खारेज भए पनि सोही संस्थाका नाममा छापिएका प्रमाणपत्र १२ कक्षा उत्तीर्ण भएका विद्यार्थीलाई प्रदान गरिने भएको छ । शिक्षा ऐनको आठौ संशोधनले परिषद् खारेज गरेर राष्ट्रिय परीक्षा बोर्ड गठन गरी कक्षा १२ सम्मलाई विद्यालय तह बनाए पनि उच्च माध्यमिक शिक्षा परिषद्को नामको सर्टिफिकेटमा राष्ट्रिय परीक्षा बोर्डको छाप हानेर वितरण गर्न लागिएको हो ।

अर्को व्यवस्था नहुँदा स्ट्याम्पको सहारा

संशोधित शिक्षा ऐनमा संक्रमणकालीन व्यवस्था नभएको र तत्काल अर्को व्यवस्था गर्न नसकिएकाले पुरानै सर्टिफिकेटमा बोर्डको छाप हानेर वितरण गर्न लागिएको हो । उच्च माध्यमिक शिक्षा परिषद् नाम रहेको ट्रान्सक्रिप्टमा ‘फुट नोट’ लेख्ने व्यवस्था गरिएको छ । त्यहाँ ‘शिक्षा ऐनको आठौा संशोधनले उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रूपान्तरण भएको’ भन्ने उल्लेख गरिएको छ ।

नयाँ छाप्न समय पुगेन

परीक्षा बोर्डका उपनियन्त्रक जयन्ती सत्यालले ट्रान्सक्रिप्ट छपाउने प्रक्रिया लामो हुने र सुरक्षा अपनाउनुपर्ने कारणले पहिले छपाइ भएका ट्रान्सक्रिप्ट नै प्रयोग गर्न थालिएको बताइन् । ऐनमा संक्रमणकालीन व्यवस्था नभएको र विद्यार्थीका काम तत्काल गर्नुपर्ने भएकाले पुरानै ट्रान्सक्रिप्ट प्रयोग गरिएको उनले जानकारी दिइन् । ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल सर्टिफिकेट मात्र होइन, फारमहरूसमेत पुरानै प्रयोग गरिएको छ ।

झन्डै एक साता विद्यार्थी अन्योलमा

उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएर राष्ट्रिय परीक्षा बोर्ड गठन भएपछि बोर्डबाट काम नहुँदा विद्यार्थीहरू झन्डै एक हप्ता अन्योलमा परे । कक्षा १२ उत्तीर्ण भइसकेका विद्यार्थी ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल सर्टिफिकेटका लागि बोर्ड कार्यलय पुगे पनि काम हुन सकेन । १५ असारमा शिक्षा ऐनको आठौा संशोधन राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै परिषद् खारेज भएर राष्ट्रिय परीक्षा बोर्ड बनेको थियो ।

बुधबारबाट काम सुरु

बुधबारदेखि बोर्डका जिल्लास्थित कार्यालयबाट सर्टिफिकेट प्रिन्ट गरी वितरण सुरु गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड भएपछि आर्थिक कारोबार भने भएको छैन ।

बोर्डको केन्द्रीय कार्यालयबाट केही काम सुरु गरिए पनि मंगलबारसम्म बोर्डका जिल्ला कार्यालयमा आएका विद्यार्थीको बिल काटेर पैसा लिने काम मात्रै गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट १५ असारमा संशोधित ऐन प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्डमा कार्यबाहक अध्यक्षदेखि आवश्यक पदाधिकारीसमेत नियुक्त भइसकेको छ । शिक्षा मन्त्रालयले बोर्डको कार्यबाहक अध्यक्षका रूपमा पदेन उपाध्यक्ष शिक्षासचिवलाई जिम्मेवारी दिइसकेको छ ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया