Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

शिक्षा विभागमा ५० लाखको ‘ठ्याङ – ठ्याङ’ !

बुधबार, २२ असार २०७३

- हरिसुन्दर छुकां / भक्तपुर - ‘ठ्याङ – ठ्याङ.........’ सानो ठिमीस्थित शिक्षा विभाग छिर्ने मूल ढोका पुग्न भ्याउँदा नभ्याउँदै मसिनो तर मुटु थर्किने आवाज सुनियो ।

‘के को आवाज हो ? के भयो यस्तो ?’ मनमा यस्तै प्रश्न र खुट्टाको पछ्याई भने त्यही आवाजलाई ! भवनको पूर्वी भ¥याङका खुट्किलाहरु उक्लँदै विभागको दोस्रो तलामा पुग्दा ‘ठ्याङ – ठ्याङ.........’ अझ नजिकियो ।

आवाज पछ्याउँदै अनिवार्य शिक्षा तथा बाल अधिकार शाखाभित्र छिरेँ । किन भने आवाज त्यहीँबाट आइरहेको थियो ।  भित्र रहेका फाइलहरु धूलाम्य भइ सकेका थिए । भूँइभरी धूलैधूलो भएको थियो । कोठामा दुई जना कामदारहरु एक हातमा छिना र अर्को हातमा ह्यामर लिएर हिर्काइरहेका थिए, भित्तालाई ‘ठ्याङ – ठ्याङ.........।’

छिनाले उप्किएको भित्ताको प्लाष्टरको धूलो कोठामा धुँवा मडारिएझैं मडारिरहेको थियो । काम भईरहेकोले हुनुपर्छ, त्यो शाखामा कर्मचारीहरु थिएनन् ।

त्यसपछि पश्चिमी भ¥याङ भएर दोस्रो तलामा झरियो । दोस्रो तलामा रहको निर्देशक देवकुमारी गुरागाईको ढोकैको आडमा फाइल, पत्र पत्रिका र कितावहरु लथालिङ पाराले थन्क्याइएको थियो ।

विभागमा ‘ठ्याङ – ठ्याङ.........’ र कोठाहरु धूलाम्य तथा फाइल, पत्र पत्रिका र फाइलहरु यतत्रत हुनुको मुख्य कारण हो – कोठाहरुको मर्मत तथा रंगरोगन ।

विभागका भौतिक शाखाका इञ्जिनियर रामहरि दाहालका अनुसार विभागका ५५ वटा कोठाहरुको अहिले मर्मत सम्भारको काम जारी छ । असारको पहिलो हप्ताबाट सुरु भएको मर्मत तथा रंगरोगनको कामले गर्दा अहिले विभागका कोठा अस्तव्यस्त छन् । ‘पुरानो भत्काएर तोड्ने, फोड्ने र जोड्ने कामले गर्दा अहिले यस्तो देखिएको हो ।’ दाहालले भने ।

२०७२ साल बैशाख १२ गतेको भूकम्पले शिक्षा विभागका केही भागमा परेको क्षतिको मर्मतको आवश्यकता अनुसार काम भइरहेको उनले बताए ।

यो ‘ठ्याङ – ठ्याङ.........’ ले आर्थिक बर्ष सकिनै लाग्दा बजेट सक्ने रोगले शिक्षा विभागलाई पनि नछाडेको प्रष्टै हुन्छ ।  असारको २५ गतेभित्र सबै काम सकाउने उद्देश्य सहित कामको भ्याई नभ्याई छ । कामका लागि दैनिक १६ जना कामदारहरु खटिरहेका छन् ।

विभागका प्रत्येक कोठाहरुमा साना ठूला चिराहरु परेको, कोठाहरुका भित्ताहरु फेर्नुपरेको कारण मर्मतको काम अघि बढेको पनि बताए । त्यसका लागि विभागले ५० लाख रुपैंया वजेट निर्धारण गरेको उनले जानकारी दिए ।
‘भूकम्पले कुनै कोठाका भित्ताहरु चर्किएका छन्, गारो फेर्नुपर्ने भएका छन्, कहिँ जाली लगाएर प्लाष्टर गर्नुपर्ने, कहिँ पुटिङ मात्र लगाउनु पर्ने देखिएको छ, सोही अनुसार हामी मर्मतको काम गरिरहेका छौं ।’ उनले भने ।

विभागले भुइँतलाको २० वटा कोठा, पहिलो तलाको २३ वटा कोठा र दोस्रो तलाको १२ वटा कोठाको मर्मत गर्ने जनाएको छ । मर्मतसँगै कोठाहरुमा रंगरोगन गर्ने, बिजुली, धारा र केही कोठाहरुमा कार्पेटिङ गर्ने विभागको योजना छ ।

प्रकाशित मिति २०७३ असार २२ गते

प्रतिक्रिया