Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

डा. केसीलाई अनशन नबस्न त्रिवि चिकित्सककै सुझाब

बुधबार, २२ असार २०७३

काठमाडौं २२ असार / त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पदाधिकारी र विभागीय प्रमुखले प्रा.डा. गोविन्द केसीलाई अनशन नबस्न आग्रह गरेका छन् । अनशन नै बस्ने भए आइओएम परिसरबाहिर बसिदिन उनीहरूको आग्रह छ । केसीले आइतबारदेखि अनशन बस्ने घोषणा गरेका छन् ।

पटकपटकको अनशनले शिक्षण अस्पतालको स्वास्थ्य सेवामा अवरोध भएको र आइओएमको पठनपाठनमा पनि नकारात्मक असर परेकाले अनशनमा पुनर्विचार गर्न आग्रह गरिएको अस्पतालका निर्देशक डा. दीपक महराले बताए । ‘हामीले सकेसम्म अनशन नै नगर्न आग्रह गरेका छौ“ । गर्ने नै हो भने पनि यसपटक पठनपाठनमा नकारात्मक असर नपर्ने गरी आइओएम परिसरबाहिर बस्न अनुरोध गरेका छौं’, उनले भने ।

डिन कार्यालयमा डा. केसीसहित सोमबार र मंगलबार बसेको पदाधिकारी र विभागीय प्रमुखहरूको बैठकले अनसन नबस्न आग्रह गरेको हो । बैठकले अनशन नबस्न र बस्ने भए परिसरबाहिर जान लिखित आग्रह नै गरेको छ । बैठकको उपस्थिति पुस्तिकामा डा. केसीले पनि हस्ताक्षर गरेका छन् ।

आइओएमका ग्यास्ट्रोलोजी डिपार्टमेन्ट प्रमुख प्रेमकृष्ण खड्काले केसीका मागभन्दा अस्पतालमा अनशन बस्ने विषयमा बढी छलफल भएको बताए । ‘हामीले उहाँलाई सकेसम्म अनशन नबस्न भन्यौँ । यदि बस्ने नै हो भने आइओएम हाताभित्र नबस्न आग्रह गरेका छौँ,’ डा. खड्काले भने । बैठकमा सहभागी प्याथोलोजी डिपार्टमेन्ट प्रमुख डा. विनयशमशेर जबराले अनशनका मागसँग कसैले सरोकार नराखेको, तर सबैको भनाइ तत्काल अनशन बस्न नहुने र बसे पनि आइओएम परिसरबाहिर बस्न सुझाब दिएको बताए ।

आइतबारदेखि अनशन बस्छु : डा. केसी

अहिले बेथिति झन् बढ्दै छ, आपराधिक मानसिकता स्थापित हुँदै छ, त्यसलाई तोड्न पनि म आमरण अनशन बस्छु ।

आइओएमका पदाधिकारी र विभागीय प्रमुखको निर्णय

- आमरण अनशन बस्ने मागसँग आइओएम र त्रिवि शिक्षण अस्पतालको सरोकार नभएको

- पटक–पटक अनशन बस्दा डा. केसीको शारीरिक अवस्था कमजोर भइसकेको हुँदा पुनः अनशन नबस्न सल्लाह दिने

- अनशनले शिक्षण अस्पतालमा बिरामीको उपचारमा असर पर्ने, अस्पतालको शान्तिसुरक्षामा र विद्यार्थीको पठनपाठनमा पनि असर पर्ने हुँदा आइओएम परिसरबाहिर गएर अनशन बस्न आग्रह गर्ने

केसीका सहयोगी पनि विभाजित

राजनीतिक मुद्दा उठाएर अनशन बस्न लागेको भन्दै डा. केसीको अनशनको विषयमा यसपटक आइओएमका सिनियर र आवासीय चिकित्सक पनि विभाजित भएका छन् । ‘विगतमा पेसागत विषय उठान भएकाले सहयोग गरियो, यसपटक राजनीतिक एजेन्डा भएकाले धेरैको समर्थन छैन,’ एक आवासीय चिकित्सकले भने ।

केयूको सिस्टमअनुसार नै परीक्षा

प्रा.डा. भोला थापा
रजिस्ट्रार, केयू

केयूको यस वर्षको एमडी-एमएसको प्रश्नपत्र आउट भयो भनेर अख्तियार र प्रहरीको अपराध अनुसन्धान महाशाखामा  कसैले उजुरी हालेको रहेछ । त्यसैको आधारमा अख्तियार र प्रहरीबाट अधिकारीहरू आउनुभयो । त्यो वेलामा हाम्रो प्रश्नपत्र पूरा भएको थिएन, प्रक्रियामा नै थियौँ । ‘हामीले प्रश्न बनाउने वेला विज्ञहरूको प्रयोग हुन्छ, कसैबाट बाहिरिँदैन, शंका लाग्छ भने छनोट हुँदै गरेका प्रश्न लग्नुस्, परीक्षा रोकौँ’ भन्यौँ । शंका मात्र हो भने प्रश्न बन्ने प्रक्रियाको अनुगमनमा बस्न आग्रह ग¥यौँ । त्यही क्रममा उहाँहरूले ‘हामीसँग केही विज्ञ हुनुहुन्छ, प्रश्नपत्र निर्माणमा सहयोग गर्न सक्छौँ ?’ भन्नुभयो । हामीले ‘हुन्छ’ भन्यौँ । उहाँहरूले सिफारिस गरेका विज्ञ हामीलाई सहयोग गर्ने विभिन्न विश्वविद्यालयका प्राध्यापक हुनुहुँदो रहेछ । उहाँहरूसँगै मिलेर प्रश्नपत्र छनोट ग-यौँ । सिस्टममा नै परीक्षा लिएर रिजल्ट निकालेको हो । बाहिर आएजस्तो अख्तियारले परीक्षा लिएको होइन । उजुरी परेपछि उहाँहरू आउनु स्वाभाविक नै हो ।

राजनीतिक मागमा हाम्रो समर्थन रहँदैन

डा. अञ्जनीकुमार झा
अध्यक्ष, चिकित्सक संघ

डा. केसीले उठाएका मागमध्ये चिकित्सा पेसासँग सम्बन्धित विषयमा हामी समर्थन गर्न सक्छौँ । हामी चिकित्सकको पेसा व्यवसायका विषयमा मात्र बोल्छौँ ।  संघले आफ्नो दायराभित्र रहेर मात्र सहयोग र समर्थन गर्छ । राजनीतिक मागका विषयमा हाम्रो समर्थन रहँदैन ।

नयाँ पत्रिकामा भिषा काफ्लेको खबर ।

प्रतिक्रिया