Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

कक्षा कोठामै पहिरो : विद्यालयद्धारा प्लटरमाथि कारवाहीको माग

मंगलबार, २१ असार २०७३

काठमाडौ २१ असार / प्लटिङ्को पर्खाल भत्केर टौखेल स्थित पुष्पाञ्जली स्कुलका २ छात्राको निधन भएको एक हप्ता हुन लाग्दा समेत प्लटरलाई नपक्रेको भन्दै आलोचना भईरहेकै  छेकमा विद्यालयले जग्गा प्लटिङ् गर्नेलाई कारवाहीको माग गरेको छ । पत्रकार सम्मेलन गरेर विद्यालयले भुकम्प पछि प्रतिरोधी भवनमा अध्यापन गरिरहेको दावी गर्दै सीमानामा जग्गा प्लटिङ गर्नेले लगाएको पर्खाल ढलेर दुर्घटना भएको भन्दै जग्गा प्लटरलाई कारवाही गर्न माग गरेको हो ।

प्रधानाध्यापक पुहामीक्रान्ति लेप्चा बज्राचार्यले आफूहरुले पर्खाल नलगाउन बारम्बार आग्रह गर्दा गर्दै पनि अटेर गरेर लगाएकोले दुर्घटना भएको दावी गरिन् । जग्गा प्लटरमाथि कारवाही गरेर मृतक र घाईतेका परिवारलाई न्याय दिलाउनु उनको माग छ ।

उनले तत्कालै विद्यार्थी, अभिभावक, शिक्षक, प्रहरीसहित स्थानीयको तदारुकताको कारण धेरै घाईते विद्यार्थीको ज्यान बचाउन सकिएको बताईन् । घाईते २६ मध्ये दुईको निधन भएको र बाँकी मध्ये सबै डिस्चार्ज भएर नौ जनाको मात्रै अहिले उपचार भईरहेको उनले बताईन् । प्रधानाध्यापक लेप्चाले अहिलेसम्म सम्पूर्ण विद्यार्थीको उपचार खर्च विद्यालयले नै बेहोरेको जानकारी गराईन् । मृतक विद्यार्थीलाई सधै सम्झना गराईरहने गरी विद्यालयले उनीहरुको नाममा शिक्षा कोष स्थापना गरिएको उनले बताईन् ।

गत शुक्रबार प्लटिङको पर्खाल भत्किएर झरेको पहिरोले कक्षा कोठामा पढिरहेका २ छात्राको निधन भएको थियो । घटनाको यतिका दिन सम्म पनि प्लटरलाई नपक्रनुको पछिल्तिर आर्थिक सहित राजनीतिक प्रभावले काम गरेको हुन सक्ने भन्दै आलोचना भईरहेको छ ।

पढ्नुहोस् : कक्षा कोठामै पहिरो : पहुँचले दोषी पक्राउ नपरेको अभिभावकको शंका

घटना छानवीन गर्न गृह मन्त्रालयले एउटा समिति बनाएको छ । घटना शिक्षा भन्दा पनि गृहमन्त्रालयसंग सम्बन्धित भएकोले उसैले समति बनाएको शिक्षा मन्त्रालयको भनाई छ । 'शिक्षा मन्त्रालयका एक सहसचिव समेत सदस्य हुने गरी गृहले एक समिति बनाएको छ' शिक्षा सचिव विश्वप्रकाश पण्डितले भने, 'समितिको काम कारवहि बारे गृह मन्त्रालयले नै काम गरिरहेको छ ।' 

उक्त समितिमा शिक्षा मन्त्रालयका सहसचिव डा. डील्लीराम रिमाल सदस्य छन् ।

प्रकाशित मिति २०७३ असार २१ गते

प्रतिक्रिया