Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

आइसियुबाटै विद्यार्थीले भने ‘गुड आफ्टरनून म्याम’

मंगलबार, २१ असार २०७३

- हरिसुन्दर छुकां / ललितपुर - ‘हिजो म जब वी एण्ड वीको आइसियु कक्षमा गएँ, त्यहाँ नर्सले ‘नानी तिम्रो प्रिन्सिपल आउनुभयो, भन्नु भयो, मेरा नानीहरुले मलाई एकसाथ ‘गुड आफ्टरनून म्याम’ भने...’

टौखेलको पुष्पाञ्जलि सेकेण्डरी स्कुलकी प्रिन्सिपल पुहामीक्रान्ति लेप्चा बज्राचार्यलाई माथिको भनाइ राख्न तीन ठाउँमा रोकिनु प¥यो । त्यो दिनको घटना झल्झली आँखामा आउँदा, आफ्ना विद्यार्थीमाथि परेको ‘बज्रपात’ बलजफ्ती सँहदै उनले बारम्बार ‘सँुक्क, सुँक्क’ गरिरहिन् । आँखाबाट आँसु बगिरहे !

अस्पतालमा उपचारत विद्यार्थीको अवस्था के—कस्तो छ भनी निरन्तर बुझिरहेकी उनलाई विद्यार्थीले एक साथ ‘गुड आफ्टरनून म्याम’ भन्दा खपि नसक्नु भयो ! ‘नानीहरुले त्यसो भन्दा खेरि मलाई मेरो छोराले ‘आमा’ भनेर बोलाएको भन्दा पनि मीठो लाग्यो ।’ उनले थपिन् ।

ललितपुरको गोदावरी नगरपालिका—६, टौखेल स्थित पुष्पाजलि सेकेण्डरी स्कुलमा गत शुक्रबार कक्षा कोठामै पहिरो आएर २ विद्यार्थीको निधन भए देखि, बज्राचार्यको मात्रै हैन धेरैका आँखा ओभानो भएका छैनन् ।
कर्मा लामाले विद्यालय आडैमा गरेको जग्गा प्लटिङ्को पर्खाल भत्किएर कक्षा कोठामा पहिरो छिर्दा कृपा राई र अञ्जना पुन मगरको निधन भयो । कक्षा ३ र ८ का दुई दर्जन विद्यार्थी घाइते भए ।

पढ्नुहोस् : पढाई भईरहेकै बेला कक्षामा पहिरो, २ छात्राको निधन, १७ घाईते

त्यस यता टौखेलवासीलाई मात्र हैन यो खबर सुनेका सबै भाव विह्वल भएर मृतक साना नानीहरुप्रति श्रद्धाञ्जलि र उपचाररत विद्यार्थीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

२०७२ सालको बैशाख १२ गतेको भूकम्प पछि विद्यालयको भवनले हरियो स्टिकर पाएको थियो । तैपनि स्कुलले विद्यार्थी, अभिभावकहरुमा परेको मनोबैज्ञानिक त्रासलाई मध्यनजर गरी स्कुलको अफिस नजिकैको खाली जग्गा ‘लिज’ मा लिएर भूकम्प प्रतिरोधी भवन बनाएको थियो । ‘हामीले भूकम्प पछाडि सुरक्षाको लागि भनेर प्रिफ्याब स्ट्रक्चर बनाएका थियौं । तर आज.....’ बज्राचार्य बोल्नै सक्दिनन् ।

त्यसपछि शुरु भएको प्लानिङले पर्खाल बनाएको समयमै पनि पर्खालले स्कुललाई असर गर्न सक्ने बारेमा जानकारी गराएको उनको दावी छ । ‘हामीले पटकपटक प्लानिङ गर्नेलाई यसबारेमा भनेका थियौं, प्लानिङ गर्नेले पनि स्कूललाई केही फरक पर्दैन, हामी स्कुललाई असर नपर्ने गरी काम गर्छौं भनेर भनेका थिए’ प्रिन्सिपल बज्राचार्यले भनिन्, ‘तर यो नियतिको खेल, प्रकृतिको लीला, आज यस्तो असह्य घटना भयो ।’

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले घटनास्थलमै पुगेर उक्त प्लटिङ् गर्नेलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका त थिए । प्रहरीले अहिले सम्म उक्त प्लटिङ्का मालिक लामालाई पक्राउ गर्न सकेको छैन । गृह मन्त्री शक्ति बस्नेतले पनि घटनाको स्थलगत अध्ययन त गरे तर लामा पक्राउ परेका छैनन् । यसका पछिल्तिर आर्थिक र राजनीतिक चलखेल भएको शंका पनि शुरु भएको छ ।

पढ्नुहोस् : कक्षा कोठामै पहिरो : पहुँचले दोषी पक्राउ नपरेको अभिभावकको शंका 

‘कृपा हाम्रो फ्रष्ट गर्ल नै थिइन्, पढ्नमा निक्कै अब्बल थिइन्, निक्कै मिलनसार छोरी थिइन् । अञ्जना, हाम्रो स्कुलमा यो वर्षमात्र आएको थियो । टाढा गाउँबाट आए पनि उसको पढाइमा धेरै प्रगति भइरहेको थियो ।’ घटनामा ज्यान गुमाएका कृपा र अञ्जनालाई सँधै स्मरण गर्ने उनले बताईन् ।

घटना पछि स्कुल साउन २ गतेसम्म बिदा गरिएको छ । विद्यार्थीको मनोविज्ञानमा परेको असरलाई मध्यनजर गरेर काउन्सिलिङ गरेपछि मात्र पढनपाठन शुरु गर्ने सोच बनाएको छ विद्यालयले ।
विद्यालयले अस्पतालमा रहेका नानीहरुको उपचारका लागि कुनै पनि कसर नछोड्ने जनाउँदै उपचारत सबै विद्यार्थी ‘आउट अफ डेन्जर’ मा रहेको अस्पतालले जनाएको बताएको छ ।

विद्यार्थी तथा विद्यालयको सुरक्षा र राज्यको दायित्वबारे हाम्रो सम्पादकीय पनि पढ्नुहोस्  : दुर्दान्त घटनाको पाठ

प्रकाशित मिति २०७३ असार २१ गते

प्रतिक्रिया