Edukhabar
सोमबार, २६ कार्तिक २०८१
अन्तैवाट

बिरामीबिनै पढाइन्छ डाक्टरी

बुधबार, २३ भदौ २०७२

काठमाडौं २३ भदौ / भदौ पहिलो साता नेपाल मेडिकल काउन्सिलको टोली अनुगमनका लागि अस्पताल पुग्दा जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका बेड बिरामीले भरिभराउ थिए।

नर्स र रेजिडेन्ट चिकित्सकलाई अघिल्लै दिनदेखि बिरामीको विवरण उतार्न भ्याइनभ्याइ थियो।

टोलीले अस्पतालको कुल शऒ्ढयाको ६० प्रतिशतभन्दा बढी बेड (बेड अकुपेन्सी) भरिएको अनुगमन रिपोर्ट दियो। त्यही आधारमा कलेजको एमबिबिएस कोटा निर्धारण भयो।

काउन्सिल अनुगमनको २० दिनपछि मंगलबार बिहान ८ बजे कलेज अस्पतालको दृश्य भने रिपोर्टको ठिक उल्टो थियो। नागरिककर्मी अस्पतालका विभिन्न वार्ड र कक्ष चहार्दा त्यहाँ डाक्टरी विद्यार्थी बढी देखिए, बिरामी र कुरुवाको खासै चहलपहल थिएन।

यसबाट प्रस्ट हुन्छ– अनुगमन क्रममा बेड भरिभराउ पारिएका व्यक्ति बिरामी होइन, नक्कली थिए जो अनुगमन टोली गएपछि आ–आफ्ना बाटो लागे। २१ वर्षदेखि सञ्चालित यस कलेजले वर्षौदेखि यसैगरी नक्कली बिरामी देखाएर मापदण्ड पूरा गरेको रिपोर्टका आधारमा डेढ सय विद्यार्थी भर्ना कोटा टिकाउँछ।

सत्याग्रही डा. गोविन्द केसीसँग सरकारले पछिल्लोपटक गरेको ११ बुँदे सम्झौता कार्यान्वयन नभए यो जालझेल कायम रहिरहने देखिन्छ।

मंगलबार नागरिकले कलेजमा रहेका केही इन्टर्न, रेजिडेन्ट र फ्याकल्टीको समेत सहयोगमा अस्पतालका प्रमुख विभागहरुको भ्रमण गरेको थियो। ती विभागमा पोस्टिङ भएका चिकित्सक र 'बेड अकुपेन्सी' हेर्दा मुस्किलले २० देखि ३० प्रतिशत मात्र भरिएको भेटियो जुन मापदण्डभन्दा अति न्यून हो।

केही वर्षअघिसम्म ७० प्रतिशत 'बेड अकुपेन्सी' हुनुपर्ने प्रावधान रहेकामा काउन्सिलले मापदण्ड परिमार्जनका नाममा ६० प्रतिशतमा झारेको थियो। काउन्सिलको नयाँ मापदण्डअनुसार उक्त सिट कोटामा मेडिकल कलेज चलाउने अस्पतालमा ७ सय ५० बेड हुनुपर्छ र प्रत्येक विभागमा ६० प्रतिशत बेड भरिएको हुनुपर्छ।

काउन्सिलले शिक्षण सिकाइका लागि बिरामीको उपस्थिति र विभिन्न प्रकारका केस भएका अस्पतालमै प्रभावकारी हुने भन्दै यस्तो मापदण्ड बनाएको छ। मेडिकल शिक्षामा बिरामीलाई सकेसम्म कम दुःख दिएर वरिष्ठ मातहत चिकित्सकले आफैं सिप हासिल गर्नुपर्छ।

यस कलेजमा भने सबैभन्दा बढी रेजिडेन्ट चिकित्सक अध्ययनरत र इन्टर्न चिकित्सकको समेत पोस्टिङ भएका विभागमै बिरामीको संख्या एक चिकित्सक बराबर एक जना बिरामी पनि नपुग्ने देखियो।

अस्पतालको मेडिसिन, बालरोग (पेडियाटिक), स्त्री तथा प्रसूति रोग, आँखा, छाला तथा यौनरोग विभागमै बिरामीको संख्या निकै कम पाइएको छ। काउन्सिल अनुगमनका समयमा अनुगमन टोली पुग्दा ४० बिरामी रहेको हाडजोर्नी विभागमै मंगलबार नौ जना बिरामी थिए जहाँ ५० बेड छ। रेजिडेन्ट (विशेषज्ञका विद्यार्थी) ९ र एमबिबिएस सकेर क्लिनिक अभ्यासमा रहेका इन्टर्न ६ जना पोस्टिङ भएका छन्।

अनुगमन रिपोर्टमा नेत्ररोग विभागमा ११ जना बिरामी देखाइएको थियो जहाँ मंगलबार पुग्दा एक जना मात्रै बिरामी भेटिए।

२९ इन्टर्न र ४ रेजिडेन्ट अध्ययनरत स्त्री तथा प्रसूति रोग विभागमा २३ जना मात्रै बिरामी थिए। कलेजका अधिकांश विभागका तथ्यांक हेर्दा बिरामीभन्दा १ सय ७८ जना बढी विद्यार्थी अध्ययनरत देखियो। विभिन्न विभागमा १ सय ६३ जना बिरामी भर्ना भएको भेटिएको थियो। तीमध्ये पेडियाटिक सर्जरी, यौन तथा छाला रोगलगायत वार्डमा त बिरामी नै थिएनन्।

न्युरो सर्जरी विभागमा भने नागरिककर्मीलाई प्रवेश दिइएन भने इमर्जेन्सी विभागको तथ्यांक यसमा समावेश छैन।

यस मेडिकल कलेजले अध्ययनरत करिब ६ सय एमबिबिएस, रेजिडेन्ट र इन्टर्नलाई न्यून बिरामीकै भरमा चिकित्सा विज्ञानसम्बन्धी सिप सिकाउँछ। बिडिएस, बिएससी नर्सिङ पहिलो, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत करिब ६० जना नर्सको सिकाइ पनि यिनै बिरामीमा निर्भर हुन्छ। तीबाहेक ओम नर्सिङ कलेज, किट्स र शंकरापुरमा अध्ययनरत प्रमाणपत्र तहका विद्यार्थीसमेत यहीँ ल्याइन्छ।

यतिसम्म कि दुई जना रेजिडेन्ट अध्ययन गरिरहेको रेडियोलोजी विभागमा अहिलेसम्म एमआरआई छैन। अस्पतालले बिरामीको संख्या नपुगे पनि विश्वविद्यालयका पदाधिकारीलाई प्रभावमा पारेर जिआई सर्जरी र युरोलोजिकल सर्जरीमा एमसिएच (सुपरस्पेसियालिटी डिग्र) को कार्यक्रम सञ्चालनका लागि समेत अनुमति पाउने क्रममा रहेको एक वरिष्ठ चिकित्सकले जानकारी दिए।

'प्रत्यक्ष चिकित्साबाहेक प्रयोगशाला, बेसिक साइन्सका रेजिडेन्टको तथ्यांक संलग्न छैन। यी चिकित्सकहरुले समेत क्लिनिकल सिकाइ यिनै बिरामीको भरमा गर्ने हो। 'केस (बिरामी) नै हुन्न, अनि कसरी सिक्ने? धन्य, अहिले अधिकांश सर्जिकल विषयका भिडियो युट्युबमा भेटिन्छ,' एक रेजिडेन्टले भने, 'काउन्सिल परीक्षाका लागि भिडियो हेरेर पनि हुन्छ, तर आफैं गर्न त काम गर्दै सिक्नुपर्छ।'

अस्पतालका प्रशासक योगेन्द्र पौडेलले धेरै दिनदेखिको बन्दका कारण बिरामीको संख्यामा कमी आएको बताए। उनले मंगलबार पनि ३ सयभन्दा बढी बिरामी अस्पताल भर्ना रहेको दावी गरेका थिए।

चिकित्सा विज्ञानमा चिकित्सकहरु बढीभन्दा बढी बिरामी आउने अस्पतालमा मात्रै सिकाइ प्रभावकारी हुने बताउँछन्। 'हामी वरिष्ठ चिकित्सक पनि छांै, राजधानीको पायक पर्ने ठाउँमै कलेज छ, तर यही कलेजमा सिट संख्या एक सयलाई पुग्ने बिरामी पनि हुन्नन्,' नाम उल्लेख गर्न नचाहने अस्पतालका एक वरिष्ठ चिकित्सकले भने।

पछिल्लोपटक चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदल प्रतिवेदनले कलेजहरुका पूर्वाधार कमजोर हुँदा चिकित्सकको गुणस्तरमा समेत प्रभाव परेको भन्दै कलेजलाई अधिकतम सिट संख्या अधिकतम सय सिट दिन सिफारिस गरेको छ।

सरकारको निर्णयविरुद्ध नेतृत्व गर्ने निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष डा. भोला रिजाल नै यस मेडिकल कलेजका अध्यक्ष हुन्। यस कलेजमा अनुगमनकै दिन ठूलो संख्यामा बिरामी वृद्धाश्रमबाट ल्याएको घटना सार्वजनिक भएपछि कलेजले विज्ञप्ति निकालेरै षड्यन्त्र भएको दाबी गरेको थियो।

माथेमा कार्यदलका सदस्यहरुले अधिकांश अस्पतालले अनुगमनका समयमा मात्रै नक्कली बिरामी भर्ना गरेर राख्ने गरेको र बिरामीको संख्या कम हुँदा र विद्यार्थी संख्या धेरै हुँदा बिरामीले बढी सास्ती पाउने गरेको तर्क अगाडि सारेको छ।

हालसम्म काउन्सिलका पदाधिकारीसँगको मिलेमतोमा अनुगमन जाने दिनको पूर्वसूचना चुहाएर नक्कली बिरामीकै भरका १ सय ५० सम्म सिट दिने गरिएको छ। सोही दिनमा भेटिएको बिरामीका आधारमा 'बेड अकुपेन्सी' छ भन्ने दाबी सञ्चालकहरुले गरे पनि केही बाहेक अधिकांश मेडिकल कलेजमा यो अनुपात पुग्दैन।

कलेज सञ्चालकहरुले विभिन्न वृद्धाश्रमबाट नक्कली बिरामी ल्याउनेदेखि केही दिनअघिदेखि भर्ना गर्नै नपर्ने बिरामीलाई पनि बेड निःशुल्क दिएर भर्ना लिने गर्छन्।

नागरिकमा दीपक दाहालले लेखेका छन् ।

प्रतिक्रिया