Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

ह्विलचियरमा बसेकी उनलाई तरर... ताली !

सोमबार, २० असार २०७३

- हरिसुन्दर छुकां / भक्तपुर - ‘नमस्कार, मेरो नाम सुकुमाया तामाङ हो । म  अरु साथीहरु जस्तै हिँड्न, दौडन सक्तिन । मैले एउटा चित्र बनाएको छु । मैले मेरो चित्रको नाम अवसर राखेको छु । यो चित्र मार्फत मैले अपाङ्गता भएका व्यक्तिहरुलाई उचित अवसर दिने हो भने, चन्द्रमा पनि छुन सक्छन् भन्ने सन्देश दिन खोजेको हुँ ।’

अपाङ्गता भएका विद्यार्थीबीच गरिएको जिल्ला स्तरीय चित्र वर्णन प्रतियोगितामा सहभागी सूर्योदय सेकेण्डरी स्कुल कक्षा ६ मा अध्ययनरत सुकुमाया तामाङ !

ह्विलचियरमा बसेकी एउटी बालिकाले यस्तो बयान गर्दा कार्यक्रममा सहभागी भएका सपाङ्ग व्यक्तिहरु स्तब्ध बने । उनका सहपाठीहरु भने खुसीले दंग !

सहभागी सबैले तरर... ताली बजाए । सुकुमाया मुसुक्क मुस्कुराइन् !

तामाङ मात्र होइन, प्रतियोगितामा सहभागी हुन ह्विलचियरमै आएकी अर्की विद्यार्थी सुचिना केसीले पनि आफ्नो भनाइ पछि उसै गरी ताली पाइन् ।

प्रतियोगितामा ‘म गर्न सक्छु’ भन्ने भाव बोकेकोे चित्रका साथमा आएकी उनले अपाङ्ग र सपाङ्गबीच भिन्नता नभएको सन्देश सहितको चित्र कोरेकी थिइन् । ‘चित्रमा तपाईंहरुले देख्न सक्नु हुन्छ, यहाँ एकजना अपाङ्गता भएका व्यक्ति ह्विलचियरमा छन् भने अर्को सपाङ्ग व्यक्ति छन् । तिनीहरुबीच दौड प्रतियोगिता हुन गइरहेको छ । यसको अर्थ अपाङ्गता भएका व्यक्तिहरु कमजोर हुँदैनन्, उनीहरु पनि हिम्मतिला हुन्छन्, साहसी हुन्छन् भन्ने देखाउन खोजेको हुँ ।’

अपाङ्गता भएको क्षेत्रमा क्रियाशील संस्था सत्प्रयाश नेपाल र शिक्षा विभागको संयुक्त आयोजनामा गत हप्ता सम्पन्न जिल्ला स्तरीय चित्र वर्णन प्रतियोगितामा सुकुमाया र सचिना मात्र होइन, विभिन्न किसिमले अपाङ्गता भएका २२ विद्यार्थीको सहभागिता थियो । अपाङ्गता भएका विद्यार्थीको सिर्जनशीलता तथा अभिव्यक्ति कला प्रष्फुटन गराउन गरिएको उक्त प्रतियोगितामा सुकुमाया र सुचिना दुबै पुरस्कृत भए । उनीहरुले शारिरिक अपाङ्ता भएका विद्यार्थीको तर्फबाट पुरस्कार थापेका हुन् ।

बौद्धिक अपाङ्गता भएका, सुस्त श्रवण भएका र बहु अपाङ्गता भएका विद्यार्थीबीच छुट्टाछुट्टै गराइएको प्रतियोगितामा मानव विद्यागृहका सुलिना पराजुली, दिवा सेवा केन्द्र दुवाकोटका रुपेश खाइतु र मानव विद्यागृहकै सागर बज्राचार्य, लोकबहादुर तामाङ, दिपा श्रेष्ठ र रस्मिना तामाङ, सुजन शिल्पकार, निरजमान श्रेष्ठ श्रवण दुमरु तृतीय भए ।

प्रतियोगितामा विजयी विद्यार्थीले पुरस्कार पाउँदा ज्यादै खुसी लागेको अनुभव साटे । ‘सँधै सपाङ्गहरु बीच हुने प्रतियोगिता आज हामीहरु बीच भएको छ, यसले हामी पनि कम छैनौं भन्ने कुरा देखाउन सजिलो भएको छ ।’ सुचिना केसीले भनिन् ।

प्रतियोगितामा सिबिआर, सत्प्रयाश, मानव विद्यागृह ठिमी, दुवाकोट दिवा केन्द्र, बहिरा स्कुल भक्तपुर, सिबिआर ठिमी र सूर्योदय सेकेण्डरी स्कुलका विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सहभागी विद्यार्थीले अन्तिममा एकै स्वरमा भने, ‘अपाङ्ग हौं, तर कम हैनौं ।’

प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई शिक्षा विभागमा उपनिर्देशक एवं समाहित शिक्षा शाखाका प्रमुख गणेशप्रसाद पौडेलले पुरस्कार वितरण गरेका थिए । अवसरमा सत्प्रयाश नेपालका उपाध्यक्ष महेन्द्रगोपाल कर्माचार्य, वागीश्वरी अगुवा स्रोत केन्द्रका स्रोत संयोजक शर्मिला बासी लगायतले अपाङ्गता र अवसर पाए विद्यार्थीले देखाउन सक्ने क्षमताका विषयमा चर्चा गरेका थिए ।

प्रकाशित मिति २०७३ असार २० गते

प्रतिक्रिया