Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

शैक्षिक प्रमाणपत्र र सम्पत्ति छानबिन सँगसँगै

सोमबार, २० असार २०७३

काठमाडौं २० असार / नक्कली प्रमाणपत्रधारी चिकित्सकको शैक्षिक प्रमाणपत्र र उनीहरूले आर्जन गरेको सम्पत्तिको सँगसँगै छानबिन हुने भएको छ । फर्जी प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेका चिकित्सकबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रमाणपत्र र सम्पत्ति छानबिन एकैसाथ अघि बढाएको हो ।

उनीहरूमाथि ब्युरोले मुलुकी ऐन २०२० को ठगी महलअन्तर्गत अनुसन्धान जारी राखेको छ । छानबिनमा रहेका चिकित्सकहरुको खोजीमा ब्युरोका विशेष टोलीहरु देशभर परिचालित भएका छन् ।

उच्च माध्यमिक शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सिलसँग समन्वय गरी ब्युरोले नक्कली प्रमाणपत्रधारी चिकित्सकविरुद्ध एक वर्षअघिदेखि ‘अपरेसन क्वाक’ अभियान थालेको थियो । सोही कारबाहीअन्तर्गत गत चैतमा १७ जना र असार पहिलो साता पक्राउ परेका ३६ चिकित्सकविरुद्ध ठगी र किर्ते अभियोगमा अदालतमा मुद्दा दर्ता भइसकेको छ ।

ब्युरोले काठमाडौंबाट १३, ललितपुरबाट २, झापा र सुनसरीबाट एक/एक, मोरङबाट ३, धनुषाबाट २, पर्साबाट ९,  चितवनबाट ३ र कास्कीबाट १ गरी ३७ जना चिकित्सक पक्राउ गरेको थियो । मुद्दा दायर भएका चिकित्सकहरू नर्भिक अस्पताल, ट्रमा सेन्टर, तिलगंगा आँखा अस्पताल, चितवन मेडिकल कलेज, किस्ट मेडिकल कलेज, लोकहित डेन्टल अस्पताल त्रिपुरेश्वर, गण्डक अस्पताल वीरगन्ज, नेसनल मेडिकल कलेज वीरगन्जलगायत अस्पतालमा कार्यरत थिए । तेस्रो चरणको अनुसन्धानमा ब्युरोले मेडिकल काउन्सिलमा दर्ता भएका एमडी, एमबीबीएस र बीडीएस (डेन्टल) चिकित्सकको प्रमाणपत्र र सम्पत्ति पनि छानबिनको दायरामा राखेको छ ।

मेडिकल काउन्सिल ऐन २०२० जारी भएयता नेपालमा एमबीबीएस (स्नातक) चिकित्सकको संख्या १७ हजार २६५ छ । तीमध्ये १२ सय ४४ पुरुष र ६ हजार २१ महिला चिकित्सक छन् । यो सन् २०१५ सम्मको तथ्यांक हेर्दा नेपालमा एमडी अध्ययन पूरा गरेका चिकित्सकको संख्या ४ हजार ४८६ छ । यीमध्ये ३ हजार ३०४ पुरुष र ११ सय ८२ महिला छन् । यी सबै चिकित्सकमाथि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।  “नक्कली प्रमाणपत्र पेस गरी चिकित्सक बनेका व्यक्तिको सम्पत्ति पनि छानबिनको दायरामा राखेका छौं,” ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले भने, “यो अनुसन्धानअन्तर्गत चिकित्सक बनेपछि लिएको तलब÷भत्ता लगायत सेवासुविधाको यकिन गरिनेछ ।” ब्युरोका अनुसार पछिल्लो पटक पक्राउ परेका ३६ जना चिकित्सकले फर्जी कागजात पेश गरेर चिकित्सक बनेपछि करिब १६ करोड रुपैयाँ रकम ठगी गरेको खुलेको छ । “काउन्सिलमा दर्ता भएका सबै चिकित्सकले गल्ती गरेका छन् भन्ने होइन,” डीआईजी सिलवालले भने, “फर्जी प्रमाणपत्र पेश गरेर चिकित्सा पेशालाई नै बदनाम गराउनेमाथि हाम्रो अनुसन्धान केन्द्रित छ ।” कारबाहीको दायरामा आएका धेरैजसो चिकित्सकले भारतको बिहार इन्टरमिडिएट बोर्डको प्रमाणपत्र खरिद गरेका थिए ।

प्रहरीले मेडिकल काउन्सिलले लिने हरेक परीक्षामा सामेल चिकित्सकहरुको कागजात पनि अनुसन्धानको दायरामा राखेको छ । काउन्सिलका अनुसार बर्सेनि परीक्षामा सहभागीमध्ये ५० प्रतिशतको हाराहारीमा मात्रै उत्तीर्ण हुने गरेका छन् । अनुत्तीर्णको प्रमुख कारण फर्जी प्रमाणपत्र पनि रहेकोमा प्रहरी र मेडिकल काउन्सिलका अधिकारी एकमत छन् । स्वदेश र विदेशमा अध्ययन गरेकामध्ये वार्षिक औसत २ हजार चिकित्सक उत्पादन हुने गरेका छन् । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार यो दर बढ्दो क्रममा छ । काउन्सिलकी प्रशासकीय अधिकृत अनिता लामाका अनुसार काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षामा भने सरदर ५० प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण हुने गरेका छन् । कतिपय विद्यार्थी त ३३ पटकसम्म अनुत्तीर्ण भएको लामा बताउँछिन् । काउन्सिलले लिने वस्तुगत प्रश्न प्रणालीमा पनि अनुत्तीर्ण हुनुले सम्बन्धित परीक्षार्थी कस्तो शैक्षिक संस्थाको उत्पादन हो भन्नेबारे गम्भीर प्रश्न उब्जाएको लामाको तर्क छ ।

“वस्तुगत प्रश्नमा पनि यति धेरै विद्यार्थी अनुत्तीर्ण हुनु राम्रो होइन । किन यस्तो भइरहेको छ भन्ने विषयमा हामीले पनि अनुसन्धान गरिरहेका छौं,” उनले भनिन्, “परीक्षार्थीले अध्ययनको गुणस्तर बढाउने हो भने काउन्सिलको प्रश्न प्रणालीलाई दोष दिने ठाउँ नै रहँदैन ।” काउन्सिलका अनुसार विदेशभन्दा नेपालमै अध्ययन गर्ने विद्यार्थीको नतिजा राम्रो देखिन्छ ।

कहाँ कति अध्ययन ?

काउन्सिलका अनुसार सन् २०१५ मा एमबीबीएस तथा पीजी (एमडी, एमएस, एमडीएस)का लागि नेपालबाट २ हजार २६६ विद्यार्थी विभिन्न देशमा गएका छन् । एमबीबीएस अध्ययन गर्न जानेमध्ये बंगलादेशमा सबैभन्दा बढी ५९४ विद्यार्थी छन् । त्यस्तै, चीनमा १६०, फिलिपिन्समा ७४, भारतमा १९, इजिप्टमा १३, रुसमा १८ र पाकिस्तानमा १३ जना त छन् । पीजी पढ्न गएका मध्ये सबैभन्दा बढी चीनमा १९५, फिलिपिन्समा ५८, बंगलादेशमा ३४, थाइल्यान्डमा २, अस्टे«लियामा २, जापानमा ५, बेलायतमा १, अमेरिकामा ८, भारतमा ४४, किर्गिस्तानमा ४, पाकिस्तानमा ४, इजिप्टमा १३, कोरियामा १, इरानमा १ र बेल्जियममा १ जना गरी ३७३ जना चिकित्सक छन् । नेपालका विभिन्न मेडिकल कलेजमा एमबीबीएसतर्फ १ हजार ९०५ जना छन् ।

कारोबारमा मातृका दाहाल र जुनु भट्टराईको खबर

प्रतिक्रिया