Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

बनेनन् स्थानीय पाठ्यक्रम, अंग्रेजीमै जोड

आइतबार, १९ असार २०७३

- भानुभक्त आचार्य / मकवानपुर - सरकारले स्थानीय क्षेत्रका कला, संकृति, मौलिक परम्परा, भाषा, कृषिउत्पादन, आयआर्जन आदि बिषयमा बालबालिकालाई जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण गरी पढाउन विद्यालयलाई दिएको जिम्मेवारी कुनै पनि विद्यालयले पूरा गरेका छैनन् ।

कक्षा १ देखि ५ सम्म तीन वटा बिषयमा २०/२० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरेर पढाउनु पर्ने थियो । तर, स्थानीय पाठ्यक्रमको सट्टामा सबै विद्यालयले अतिरिक्त अंग्रेजी पढाएका छन् । कक्षा ६ देखि ८ सम्म एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गर्नु पर्ने शिक्षा मन्त्रालयको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले निर्दिष्ट गरेको पाठ्यक्रम निर्माण हुनै सकेको छैन ।

स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने गरी सरोकारवालाको सहभागितामा स्थानीय बिषयबस्तुको पहिचान गरी व्यवहारिक र कार्यमूलक पाठ्यक्रम तयार गर्नु पर्ने थियो । कक्षा १ देखि ५ सम्म पढाई हुने सामाजिक शिक्षा, सिर्जनसील कला र शारीरिक शिक्षाको पाठ्यक्रममा २०÷२० पूर्णाङ्कको पाठ्यभार मिलाएर पाठ्यक्रम तयार गर्न विद्यालयलाई आवश्यक निर्देशन दिईएको जिल्ला शिक्षा कार्यालय मकवानपुरका अधिकारीहरु बताउँछन् । प्लान मकवानपुरको सहयोगमा केही समय अघि हाम्रो मकवानपुर भन्ने पाठ्यक्रम तयार गरेर विद्यालयमा बितरण गरिएको थियो तर, त्यो पनि प्रभावकारी कार्यान्वयमा आउन सकेन ।

कक्षा १ देखि ५ सम्म प्रायः सबै विद्यालयमा स्थानीय पाठ्यक्रमको सट्टामा अतिरिक्त अंग्रेजी बिषय पढाई भइरहेको हेटौंडाका पुस्तक बिक्रेताहरुले बताएका छन् । अतिरिक्त पाठ्यक्रम निर्माण गर्ने झण्झट भएका कारण अतिरिक्त अंग्रेजी बिषय अध्यापन गराउनु पर्ने बाध्यता रहेको निर्मल उमावि श्रोतकेन्द्रका एक प्रधानाध्यापक बताउँछन् । स्थानीय बिषयको पाठ्यक्रम बनाउने क्षमता भएका शिक्षक विद्यालयमा नभएको र विद्यालय व्यवस्थापन समितिले पनि चासो नदिएका कारण अतिरिक्त अंग्रेजी लगाइएको उनले जानकारी दिए ।

निम्न माध्यमिक तह अर्थात कक्षा ६ देखि ८ सम्म वार्षिक एक सय ७५ पाठ्यभारको १०० पूर्णाङ्कको स्थानीय बिषय पढाउनु पर्ने पाठ्यक्रम प्रारुपमा उल्लेख गरिएको छ । कक्षा १ देखि ५ सम्म साप्ताहिक पाठ्यभार ४ र वार्षिक एक सय २८ घन्टी (पिरियड) स्थानीय पाठ्यक्रम पाढाउनु पर्ने थियो । तर, मकवानपुरका सबै विद्यालयले यसको सट्टामा अतिरिक्त अंग्रेजी पढाएका छन् । मनहरी गाविसको रोटरी माविका प्रधानाध्यापक गोबिन्द पौडेल भन्छन्–एक बर्ष अघि स्रोत केन्द्रको बैठकमा स्थानीय पाठ्यक्रम बनाउने कुरा उठेको थियो तर, कसैले पनि चासो देखाएनन् ।

कक्षा १ देखि ३ सम्म सृजनात्मक कला भन्ने बिषयमा २० प्रतिशत स्थानीय पाठ्यक्रम निर्माण गर्दा साप्ताहिक रुपमा १६ घण्टी थपिने छ । त्यसैगरी शारीरिक शिक्षामा १० घण्टी थपिने छ । सृजनात्मक कलामै कक्षा ४ र ५ मा २० प्रतिशत स्थानीय पाठ्यक्रम निर्माण गर्दा साप्ताहिक रुपमा १९ पिरियड थपिने छ । शारीरिकमा कक्षा ४ र ५ मा २० प्रतिशत स्थानीय पाठ्यक्रम निर्माण गर्दा साप्ताहिक पाठ्यभार १२ थपिने छ । तर, अहिले कुनै पनि विद्यालयले स्थानीय पाठ्यक्रम निर्माण नगरी पढाउँदा क्रेडिट आवर नपुग्ने जिल्ला शिक्षा कार्यालय मकवानपुरका सहायक जिल्ला शिक्षा अधिकारी खेम भुषाल बताउँछन् ।

कक्षा ६ देखि ८ सम्म अतिरिक्त पाठ्यक्रम निर्माण गर्नका लागि पर्याप्त स्रोत साधन नभएका कारण अतिरिक्त अंग्रेजीकै कक्षा सञ्चालन गर्नु परेको हाँडीखोला गाविस ८ डिल्लीपुरस्थित भोजसिद्ध माविका प्रधानाध्यापक महेश रिजालले बताए । ग्रामीण क्षेत्रका विद्यालयमा पर्याप्त शिक्षक दरबन्दी नभएकै कारण निजी स्रोतमा शिक्षक राख्नु पर्ने बाध्यता र स्रोत साधनको अभावमा स्थानीय भाषा वा स्थानीय पाठ्यक्रम निर्माण गर्न सम्भव नभएको प्रअ रिजालको भनाई छ । स्थानीय बिषय वा मातृभाषा जे पढाए पनि हुने निर्देशिकाले व्यवस्था गरेको सहायक जिशिअ भुषाल बताउँछन् ।

मकवानपुरको पूर्बिक्षेत्र छतिवनको महेन्द्र उमाविका प्राचार्य नारायण चापागाईका अनुसार स्थानीय पाठ्यक्रम निर्माण गर्ने बिषयमा गंभिर रुपमा बहस पनि हुन सकेको छैन । खासगरी विद्यालय व्यवस्थापन तहमा स्थानीय पाठ्यक्रमको बिषयमा बहस हुनु जरुरी रहेको प्राचार्य चापागाईको धारणा छ । स्थानीयको सरोकार वा आवश्यकता के छ भन्ने बिषयमा व्यवस्थापन समितिसँग गरिएको छलफल र अन्र्तक्रिया बढी लाभदायक हुने चापागाई बताउँछन् । विद्यालयको स्रोत साधनले भ्याएसम्म पाठ्यक्रम निर्माण गर्ने कुरामा समस्या होईन तर, सरोकारवाला निकायको चासो र सहयोग जरुरी छ ।

भानु उमावि मक्राञ्चुलीका प्राचार्य ध्रुबकुमार भुजेल भन्छन्–स्थानीय पाठ्यक्रम निर्माण गर्न स्थानीय अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, शिक्षक, गाउँ शिक्षा समिति, स्रोत केन्द्र, जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय सबैको भूमिका महत्वपूर्ण हुन्छ । तर, स्थानीय निर्वाचन नभएका कारण मकवानपुरका अधिकाँश गाविसमा गाउँ शिक्षा समिति क्रियाशील छैन । कागजी रुपमा निर्माण गरिएको गाउँ शिक्षा समिति खाली देखाउनका लागि मात्र बनाइएका छन् ।

स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि पर्याप्त स्रोत साधनको अभावका कारण प्रभावकारी हुन नसकेको अधिकाँश विद्यालयका शिक्षकहरुले बताएका छन् । माविले त निर्माण गरेका छैनन् भने निमावि वा प्राविले निर्माण गर्नसक्ने कुरै छैन–हाँँडीखोलाको चेपाङ प्राविका प्रधानाध्यापक राजेन्द्र न्यौपाने भन्छन् । बजारमा अतिरिक्त अंग्रेजीको पुस्तक खरिद गर्न सहज भएकै कारण सरकारले जारी गरेको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ कार्यान्वयन हुन सकेको छैन ।

तामाङ वा चेपाङ बाहुल्य मकवानपुरका बिभिन्न गाविसमा फरक फरक आवश्यकता रहेका छन् । चुरे प्रभावित क्षेत्रका गाविसमा रहेका विद्यालयलाई आवश्यक पर्ने पाठ्यक्रम दामन, पालुङ, बज्रबाराही, चितलाङ, टिस्टुङ, आग्रा, डाँडाखर्क जस्ता गाविसको प्राथमिकतामा पर्दैनन् ।

बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा रहेका गाविसका विद्यालयमा तरकारी उत्पादन र बजारीकरणमा जोड दिने पाठ्यक्रम निर्माण गर्न सकिने थियो । विद्यालय व्यवस्थापन समिति वा स्रोतकेन्द्रको बैठकले आवश्यकता पहिचान गरेको बिषयमा पठनपाठन गर्न सकिने प्रावधान रहेकै कारण अतिरिक्त अंग्रेजी पढाइ भएको हुनसक्ने जिल्ला शिक्षा कार्यालयका अधिकारीहरु बताउँछन् । कक्षा १ देखि ५ सम्म २० प्रतिशत र कक्षा ६ देखि ८ सम्म एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण नगरी क्रेडिट आवर नपुग्ने भए पनि विद्यालयले निर्माण गर्न सकेका छैनन् ।

प्रकाशित मिति २०७३ असार १९ गते

प्रतिक्रिया