Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

अख्तियारबाट परीक्षा सञ्चालन विश्वविद्यालयहरूमाथि हस्तक्षेप : पूर्वउपकुलपतिहरू

आइतबार, १९ असार २०७३

काठमाडौं १९ असार / काठमाडौं विश्वविद्यालय (केयू), चिकित्साशास्त्र स्नातकोत्तर कार्यक्रमको प्रवेश परीक्षा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गरेको विषयमा संसदीय छानबिन समिति गठन गर्न पूर्वउपकुलपतिहरूले माग गरेका छन् ।

पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी, नवीनप्रकाशजंग शाह, गोविन्दप्रसाद शर्मा र त्रिरत्न मानन्धरले शनिबार विज्ञप्ति जारी गरी केयूको प्रवेश परीक्षा अख्तियारले सञ्चालन गरेको विषयले हाल निकै चर्चा पाएको उल्लेख गर्दै विश्वविद्यालयको परीक्षामा गरिएको कथित हस्तक्षेपले यसको स्वायत्ततामा ठूलो अतिक्रमण भएको उल्लेख गरेका छन् ।

उक्त परीक्षा बोर्डका एक सदस्यको छोराले परीक्षा परिणाममा प्रथम स्थान हासिल गरेको चर्चाले समेत परीक्षासम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन र मान्यताको उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले हाल यसबारे सम्बन्धित निकायबाट विरोधाभासपूर्ण तर्कहरू आइरहेकाले वास्तविकताको खोजी हुनु जरुरी रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘यस्ता विसंगतिका गम्भीर क्रियाकलापबाट शिक्षा क्षेत्र तहसनहस हुने र सम्बन्धित निकायहरूले जनताको विश्वास गुमाउने कुरा निर्विवाद छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका अति अशोभनीय एवं असामाजिक क्रियाकलापले कुनै हालतमा कतैबाट प्रश्रय पाउनु हुँदैन भन्ने हाम्रो ठहर छ ।’ उनीहरूले वर्तमान घटनाको सत्यतथ्य बुझ्न र जनतालाई वास्तविक सूचना उपलब्ध गराउन एउटा संसदीय छानबिन टोली अविलम्ब गठन गर्न पनि माग गरेका छन् ।

कान्तिपुरमा अतुल मिश्रले लेखेका छन् ।

प्रतिक्रिया