Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यार्थी कुट्ने शिक्षक पक्राउ

आइतबार, १९ असार २०७३

काठमाडौं १९ असार / विद्यार्थीलाई कुटपिट गरेपछि पाँचथरको एक निजी विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाँचथर थर्पुस्थित साइनिङ स्टार लोवर सेकेन्डरी इङ्लिस स्कुलका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटा रहेका छन्।

उनले ताप्लेजुङ आम्वेगुदीन-९ घर भई सोही स्कुलमा कक्षा २ मा आवासीय रुपमा बसेर पढ्दै गरेका ८ वर्षीय रचित विष्टलाई मङ्गलबार बिहान ‘अक्षर’ नराम्रो भएको भन्दै ट्युसनकक्षामै निर्घात कुटपिट गरेका थिए।

बालकलाई अक्षर राम्रो नभएको भन्दै विद्यार्थीकैमाझमा बाँसको लाट्ठीले हातपाखुरा तथा खुट्टाका विभिन्न भागमा निलडाम हुने गरी निर्धात कुटपिट भएको थियो।

कुटपिटबाट घाइते भएका बालकलाई अरुलाई भनेमा पुनःकारबाही गर्ने भन्दै मानसिक यातना समेत दिएको र घटना भएको भोलिपल्ट मलहम लगाएर फर्काएको बालकका आफन्तले बताए।

बच्चाले कुटाई खाएको भोलिपल्ट अन्य अभिभावकबाट थाहा पाएर आउनुभएकी बच्चाकी आमा दिलमायाँ विष्ट अहिले कानुनी प्रक्रियासहित बच्चाको उपचारको लागि फिदिम आएका छन्। उनले आफूलाई सामान्य घटना भएको भन्दै कानुनी प्रक्रिया अघि नबढाउन केही राजनीतिक दलका नेतासहित केही कानुन व्यवसायीले समेत दबाब दिएको बताए।

कुटाइको कारण ज्वरोले थलिएको बच्चाको उपचारसहित कुटपिटमा संलग्न प्रधानाध्यापकलाई कानुनी कारबाहीको माग गर्दै उहाँले जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन समेत गरेपछि प्रधानाध्यापक सापकोटालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रधानाध्यापक आफैँले 'गल्ती भयो माफ दिनुस् बरु दुई महिनाको स्कुलको फि मिनाहा गरिदिन्छु' भन्दै उम्कन खोजेको बालककी आमा दिलमायाले बताइन्। बच्चालाई कुटपिट गरेको निवेदनअनुसार सार्वजनिक अपराध मुद्दाअन्तर्गत म्याद थप गरी कानुनी कारबाही प्रक्रिया सुरु भएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए।

बालमैत्री शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने तथा दण्डरहित अध्यापन गरिनुपर्ने माग र बहस चलिरहेका बेला पाँचथरमा पटकपटक यस प्रकारका घटना हुने गरेका छन्।

अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया