Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

चिकित्सक पक्राउ प्रकरण: बिरामीबाटै उजुरी

आइतबार, १९ असार २०७३

काठमाडौं १९ असार / नक्कली शैक्षिक प्रमाणपत्रधारीको आरोपमा पक्राउ परेका चिकित्सकले विगतमा लामो समय उपचार गरे पनि समस्या झन् बल्झिएको भन्दै बिरामीले क्षतिपूर्ति रकमको मागसहित प्रहरीमा उजुरी दिन थालेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका चिकित्सकमध्ये केही चिकित्सक गम्भीर प्रकृतिको उपचारमा संलग्न भएको पाइएपछि उनीहरूबाट उपचार गर्दा कोही पीडित भएमा आफूलाई उजुरी दिन आग्रह गरेकाले बिरामीबाट उजुरी पर्न थालेको हो ।

नर्भिक अस्पताल, अल्का अस्पताल, बी एन्ड बी अस्पताल, विराटनगरको एक क्लिनिकलगायतमा काम गर्दै आएका डा. अरुण गुप्ताविरुद्ध तीनजना बिरामीले उजुरी दिएका छन् ।

गोरखा पालुङटार ३ का सत्यजित श्रेष्ठले आफ्ना बाबु ५१ वर्षीय भैरवबहादुरलाई गुप्ताले अल्का अस्पतालमा २०७२ साल पुस १४ देखि तीन महिनासम्म जाँच गरेको तर रोगको प्रभाव कम हुनुको सट्टा दाहिने हातका सबै औंला बांगो भएर नचल्ने अवस्थामा पुगेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । बाबुको सद्दे औंला उपचारका क्रममा बांगो भएकाले त्यतिबेला जाँच र उपचार गर्दा लागेको एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति मागसहित उनले उजुरी दिएका हुन् ।

यस्तै बानेश्वर ३४ का ३३ वर्षीय रुद्रबहादुर निरौलाले डा. गुप्ताले बी एन्ड बी अस्पतालमा उपचारका क्रममा दिएको औषधिले झन् आफू थला परेको भन्दै क्षतिपूर्तिस्वरूप १५ हजार रुपैयाँ मागसहित ब्युरोमा उजुरी दर्ता गराएका छन् ।

नुवाकोट सुन्दरादेवी गाविस ६ की ५२ वर्षीया चित्ररेखा भण्डारीले डा. गुप्ताले अल्का अस्पतालमा आफ्नो उपचारका क्रममा सिफारिस गरेको औषधि खाँदा हातखुट्टा नचल्ने अवस्थामा पुगेको भन्दै उजुरी दिएकी छन् । गुप्ताविरुद्ध धादिङकी अनिता उप्रेतीले ‘झन्डै मरिनँजस्तो लाग्दैछ' भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गरेकी छन् । उनले डा. गुप्तासँग सन् २०१० देखि उपचार गराउँदै आएको तर आफूमा देखिएको समस्या कम हुन नसकेकाले आफूलाई बाथ रोग नभई अन्य कुनै रोग हो कि भन्ने त्रास बढेको गुनासो गरेकी छन् । उनले डरका कारण ब्युरोमा उजुरी दिन भने नसकेको बताइन् ।

ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले उक्त उजुरीअनुसार गल्ती प्रमाणित भए अदालतमा डाक्टरविरुद्ध ठगी मुद्दा दायर गर्ने गरी अनुसन्धान अघि बढाएको बताए । ‘एउटै डाक्टरविरुद्ध तीनजना बिरामीको उजुरी आउनु राम्रो सकेत होइन', उनले अन्नपूर्णसँग भने, ‘आएका उजुरीमाथि हामी अनुसन्धान अघि बढाउनेछौं । दोषीलाई छोड्ने कुरा हुँदैहुँदैन ।'

ब्युरोका अनुसार नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकले आफूलाई उपचार गरेको तर समस्या बल्झिएको भन्दै टेलिफोनबाट पनि धेरैले गुनासो गरेको तर दुर्गम र बर्खाले गर्दा उनीहरूले लिखित उजुरी दिन ब्युरोसम्म आएका छैनन् । ‘आफैं उजुरी खोज्दै जान पनि सम्भव छैन । धेरैले टोलिफोनमार्फत पक्राउ परेका चिकित्सकविरुद्ध गुनासो गरेका छन्', ब्युरोका एसपी तारणी लम्सालले भने, ‘त्यसैले अझै धेरै उजुरी आउने सम्भावना छ ।' ब्युरोले नक्कली प्रमाणपत्रधारीको आरोपमा गत शुक्रबार र शनिबार गरी ३६ चिकित्सकलाई पक्राउ गरेको थियो ।

१५ दिनको अनुसन्धानपछि भैरहवा, चितवन, दाङ, वीरगन्ज, लमजुङ, जनकपुर, झापा, सुनसरी र विराटनगरबाट पक्राउ परेका २१ जना चिकित्सकलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा बिहीबार पठाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका चिकित्सकलाई भने ब्युरोकै हिरासतमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयको अख्तियारीमा ब्युरोले गत चैतबाट उच्च माध्यमिक शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सिलसँग समन्वयमा सुरु गरेको ‘अप्रेसन क्वाक' नामको अभियानअन्तर्गत अहिलेसम्म ५५ जना चिकित्सकलाई नक्कली प्रमाणपत्रधारीको आरोपमा पक्राउ गरिसकेको छ । यसअघि पक्राउ परेका १९ जना चिकित्सक धरौटीमा छुटिसकेका छन् ।

भक्तपुर गट्ठाघरस्थित नागरिक सामुदायिक तथा शिक्षण अस्पतालले आफ्नो संस्थामा आबद्ध चिकित्सक, नर्स तथा कर्मचारीको शैक्षिक प्रमाणपत्रको छानबिन आफैं गर्ने घोषणा गरेको छ । अस्पतालका सञ्चालकहरूको हालै बसेको बैठकले छानबिन गर्ने निर्णय गरेको थियो ।

अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया