Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

ट्रेड युनियनको नाममा शिक्षा बेतिथी सह्य हुन्नः शिक्षामन्त्री

आइतबार, १९ असार २०७३

काठमाडौं १९ असार / शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले ट्रेड युनियनको नाममा शिक्षामा बेतिथी मच्चाउने काम स्वीकार्य नहुने बताएका छन्। युगसँगै परिस्थितिमा पनि  परिवर्तन आएकाले शिक्षामा बेतिथी मच्चाउने विरुद्ध कडाइका साथ प्रस्तुत हुने उनको भनाइ थियो।

शिक्षा विधेयक प्रमाणिकरण भएपछि कार्यान्वयनका लागि पहिलो अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुन सिरहा आएका मन्त्री पोखरेल शनिबार धनडीको तीनकोनीमा माध्यमिक विद्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘एउटा शिक्षक वर्षौसम्म एउटै जिल्लमा बसेर बेथिती निमत्याउने कामलाई शिक्षा नियमावलीले लगाम लगाएको छ।’

‘राजनीतिक दलको कार्यसमितिमा बसेका शिक्षक सरकारले आह्वान नगर्दै कार्यसमितिबाट राजीनामा दियोस भनेर शिक्षकहरुलाई आग्रह गर्न चाहन्छु,’ उनले थपे,‘अब शिक्षकहरु राजनीतिक दलको कार्यसमितिमा बस्न पाउँदैनन् यो कुरा छिट्टै शिक्षकहरुले कार्यान्वयन गरिदिए हुन्छ ।’

मन्त्री पोखरेलले स्कुल सार्वजनिक र निजी गुठी अन्तर्गत दर्ता हुने भन्दै  पहिला खुलेका निजी विद्यालयलाई गुठीमा आउन आग्रह गरे। ‘संंशोधित नयाँ शिक्षा ऐनमा नाफा कमाउने उद्देश्यले खोलिने निजी स्कुलहरुलाई निरुत्साहित गरिएको छ।’

निजी स्कुल गुठीमा आउन नमाने कडाइका साथ कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए । निजी स्कुलमा कार्यरत शिक्षकलाई सरकारी सरह तलब, शुल्क बढाउँदा अभिभावक भेलाको दुई तिहाई बहुमतले स्वीकृति लिनुपर्ने, न्युनतम पूर्वाधार अनियवार्य हुनुपर्ने र यी तीन सर्तलाई कडाईका साथ कार्यान्वयन गर्न मातहतका शिक्षा कार्यालयलाई निर्देशन भैसकेको मन्त्री पोखरेलले बताए।

http://www.nagariknews.com/news/1101

नागरिकमा मिथिलेश यादवलेलेखेका छन् ।

प्रतिक्रिया