Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यालयमा विदेशी र उत्ताउला नेपाली गीतमा रोक

आइतबार, १९ असार २०७३

काठमाडौं १९ असार / निजी तथा सामुदायिक विद्यालयले अबदेखि हिन्दी, अंग्रेजी गीत तथा उत्ताउला नेपाली गीतसहितका सांस्कृतिक कार्यक्रम गर्न नपाउने भएका छन् । सांस्कृतिक कार्यक्रममा नेपाली संस्कृति झल्कने गीत–संगीत तथा नाचगान मात्र गर्न पाउने व्यवस्था गरिएको छ ।

शिक्षा विभागका महानिर्देशक खगराज बरालले ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई नेपाली संस्कृति झल्काउने कार्यक्रम मात्र गर्न सोमबार सर्कुलर गरेका छन् । नेपाली संस्कृति झल्कनेबाहेकका कार्यक्रम गरे वा अनुमति दिएमा प्रधानाध्यापकलाई कारबाही गर्ने विभागको निर्देशनमा उल्लेख छ ।

‘विद्यालयमा देखाइने सांस्कृतिक कार्यक्रम तथा गीत–संगीतको प्रस्तुतीकरण हेरी उपयुक्त भएमा प्रस्तुत गर्न अनुमति दिन विद्यालय प्रशासनलाई सूचित गराउने,’ महानिर्देशक बरालले शिक्षा कार्यालयलाई गरेको निर्देशनमा भनिएको छ, ‘राष्ट्र, राष्ट्रियता झल्कने, सामाजिक सद्भाव कायम गर्ने, मौलिक संस्कृति जगेर्ना गर्ने किसिमका मात्र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।’

अटेर गरे कारबाही अगाडि बढाउन पनि विभागले निर्देशन दिएको छ । ‘विवादास्पद कार्यक्रम सञ्चालन नगर्ने, सञ्चालन भएमा सम्पूर्ण जिम्मा प्रधानाध्यापकले लिनुपर्ने र यस्ता कार्यक्रम सञ्चालन भएमा प्रधानाध्यापकलाई विभागीय कारबाही अगाडि बढाउने,’ निर्देशनमा भनिएको छ ।

उत्ताउला गीत र नृत्य्र बढेकाले बन्देज : महानिर्देशक

विद्यालयमा उत्ताउला सांस्कृतिक कार्यक्रम हुने गरेको रिपोर्ट आएकाले रोक्ने निर्णय गरिएको शिक्षा बिभागका महानिर्देशक खगराज बरालले बताए । उत्ताउला गीत तथा नृत्यले विद्यार्थी तथा समाज कसैको हित नगर्ने भएकाले बन्देज लगाइएको उनको भनाइ छ । विदेशी मात्र नभएर नेपाली फिल्मी तथा उत्ताउला खालका गीत र नृत्य गर्न नपाउने व्यवस्था गरिएको बरालले बताए ।

सुन्दरता प्रतिस्पर्धामा रोक

शिक्षा विभागले विद्यालयमा सुन्दरतासम्बन्धी प्रतिस्पर्धाका कार्यक्रम रोक्नसमेत निर्देशन दिएको छ । विद्यालयका कार्यक्रममा लिटिल लेडी, ब्युटी क्विन, मिस्टर एन्ड मिसेस, फेसन सोजस्ता कार्यक्रम गर्न बन्देज लगाइएको छ ।

के राम्रो, के नराम्रो भनेर निर्णय गर्न नसक्ने साना–साना बालबालिकालाई हात समातेर वाकिङ गराउने र त्यसैका आधारमा ब्युटिफुल, ह्यान्डसम वा अरू कुनै नाम दिनु उचित नहुने विभागका महानिर्देशक खगराज बरालले बताए ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमलेलेखेका छन् ।

प्रतिक्रिया