Edukhabar
शनिबार, १२ असोज २०८१
विचार / विमर्श

मरे मरून् ति गोबिन्द !

शनिबार, १८ असार २०७३

- प्रा.डा. मनप्रसाद वाग्ले शिक्षाका मुद्धामा परिचित नाम हो । शिक्षा मात्रै हैन सामाजिक विषयमा समेत उनका टिप्पणी कडा र यथार्थपरक हुने गर्छन् । त्यसो त सत्याग्रहमा होमिएका डा. गोबिन्द के.सीको मुद्धा शिक्षाकै मुद्धा हो । चिकित्सा शिक्षा सुधारको उद्धेश्य लिएर उनले उठाएका मुद्धालाई समर्थन गर्दै वाग्लेले लेखेको कविता यसपटकको शनिवार विशेषमा :

 

मरे मरून् ति गोबिन्द टाउको किन दुख्दछ
यता बेहाल भो हाम्रो मुहान सब सुक्दछ
यस्तो मौका कहाँ मिल्छ प्रतिष्ठान बनाउने
यसैको आडमा हेर जीत हाम्रो जनाउने ।।

सम्झौता सब ती फाले धोका दिंदै समाजमा
मान्छे र स्वास्थ्यको मूल्य तोक्न थाले कवाडमा
मुखले भन्छ त्यो राम छुरा भित्र चलाउँछ
सुयोग्य ‘सुत’ गोबिन्द मर्म मात्र गलाउँछ ।।

न ता कुनै छ औजार न छ मान्छे पढाउने
खोलेर धेर त्यो संस्था ध्यान एकै कमाउने
कतै बन्दछन पाले खडेबाबा ति शिक्षक
के यस्तै गतिले हामी बन्दछौँ जन रक्षक ?

पैसाको भरमा हेर मान्छे डाक्टर बन्दछ
योग्य गरिबका लागि ढोका त्यो सब बन्दछ
यता शहरमा खुल्छन् स्वास्थ्य संस्था हजारमा
गाउँमा खोज पाइन्न सिटामोल बजारमा ।।

चिकित्साकै भनी फेरी आयोग नै बनेपनि
माथेमा प्रतिबेदन् जो लागु हुन्छ भनेपनि
खारेजी गर्नु त्यो कार्य देबदह बिराटका
रोकिद्यौ चोर बाटो हो ‘प्रतिष्ठान बिधेयक’।।

बर्तमान भयो पीडा भूतका ती कुकर्मले
भविष्यका पिंढी हाम्रा बाँच्न पाऊन् ति ढुक्कले
भएमा जनता रोगी राष्ट्र रोगी बनाउँछ
चिकित्सा क्षेत्रको शिक्षा हेर त्यहीं गन्हाउँछ ।।

प्रकाशित मिति २०७३ असार १८ गते

प्रतिक्रिया