Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

आंशिक शिक्षकहरु आन्दोलनमा

शुक्रबार, १७ असार २०७३

बागलुङ - धवलागिरी बहुमुखी क्याम्पस बागलुङका आंशिक शिक्षकहरु पेशागत सुरक्षाको माग गर्दै आइतबारदेखि पठनपाठन छाडेर पुनः आन्दोलनमा उत्रिएका छन् । पटकपटकको आन्दोलनबाट पनि त्रिभुवन विश्वविद्यालयले आफ्नो माग पूरा नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

‘यथास्थितिमा क्याम्पसको पठनपाठनमा सहभागी हुन नसक्ने जानकारी क्याम्पस प्रमुखलाई पहिल्यै नै गराएका थियौं’ आंशिक प्राध्यापक संघका अध्यक्ष  शिवप्रसाद पौडेलले भने, ‘त्यसपछि क्याम्पस प्रशासनले बिहीबार सर्वपक्षीय बैठक बोलाएको थियो तर बैठक निष्कर्षविहीन बन्यो ।’ क्याम्पस प्रशासनले आन्दोलन फिर्ता लिन अनुरोध गरे पनि शुक्रबार बसेको आंशिकको प्रतिनिधिमूलक बैठकले यथास्थितिमा आन्दोलन फिर्ता लिन अस्वीकार गरेको जानकारी पनि उनले दिए । क्याम्पसका व्यवस्थापन विषयका आंशिक शिक्षक खगराज शर्माले भने ‘विभागका स्नातक र स्तातकोत्तर तहका कक्षाहरु आंशिककै भरमा चलेका छन् तर आंशिक शिक्षकको पेशागत सुरक्षामा भने त्रिवि सदासर्वदा उदासिन देखियो ।’ उनले प्रश्न गरे ‘के का लागि क्याम्पस जाने ? न तलब सुविधा न त सेवा अवधिको गणना ।’

उपत्यका बाहिरका आंशिक शिक्षकहरु पटकपटक आन्दोलनमा उत्रिए पनि त्रिविले उनीहरुका मागका सम्बन्धमा कुनै पनि सुनुवाइ नगरेको जानकारी आंशिक शिक्षक संघर्ष समिति पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक शिवशरण ज्ञवालीले बताए । उनका अनुसार क्षेत्रीय स्तरमा आन्दोलन गर्दा क्याम्पसका आआफ्ना बाध्यता हुँदारहेछन्, त्यसकारण यसपटक स्थानीय स्तरमा निर्णय लिइएको हो । अन्य क्याम्पसका साथीहरुलाई यस बारेमा खबर गरिसकिएको छ ।

राजनीतिक खिचातानीका कारण विगत दश वर्षदेखि त्रिविमा आंशिक शिक्षकहरुको समस्या समाधान हुन सकेको छैन ।

प्रकाशित मिति २०७३ असार १७ गते

प्रतिक्रिया