Edukhabar
शनिबार, ०१ मंसिर २०८१
खबर/फिचर

राष्ट्रिय परीक्षा बोर्डको पहिलो बैठक, आउँदो बर्षको एसएलसी र कक्षा ११ १२ को परीक्षाबारे निर्णय

विहीबार, १६ असार २०७३

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डको पहिलो बैठकले कक्षा १० अर्थात् एसएलसी परीक्षा सम्बन्धि कार्यहरु सोही कार्यालय मार्फत् हाललाई यथावत रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । गत बर्षको एसएलसी परीक्षामा ग्रेड डी र ई ल्याउने विद्यार्थीको ग्रेड वृद्धि परीक्षाको प्रकृया जारी रहेकाले तत्कालका लागि सोही कार्यालय मार्फत् प्रकृया जारी राख्ने निर्णय भएको हो । उक्त परीक्षा आगामी साउन १४ गते हुँदै छ ।

आगामी बर्षको एसएलसी परीक्षा तथा कक्षा ११ र १२ को परीक्षाका बारेमा कार्यविधि निर्माणका लागि सम्बन्धित परीक्षा नियन्त्रकहरुलाई जिम्मा दिईएको छ । नयाँ शिक्षा ऐनले गरेको ब्यवस्था अनुसार परीक्षाको काम नव गठित बोर्डको मातहतमा आएकोले तत्कालका लागि निर्णय गरिएको हो । शिक्षा ऐन कार्यान्वयनका सन्दर्भमा सहज र स्वभाविक ढंगले काम गर्न निर्णय गरिएको पत्रकार सम्मेलनमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए ।

बोर्डका कार्यवहाक अध्यक्ष शिक्षा सचिव विश्वप्रकाश पण्डितको अध्यक्षतामा बिहीबार बसेको बैठकले कक्षा १० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा एसएलसीको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक र राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ र १२ को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकले आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ । बोर्डको परीक्षा नियन्त्रक साविकको उच्च माध्यमिक शिक्षा परीषद्कै नियन्त्रक हुन् । 

यसैगरी बैठकले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा एसएलसीको परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई बोर्डमा काम गर्नका लागि खटाईदिन शिक्षा मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
साविकको परिषद्का कर्मचारी बोर्डका कर्मचारी मानिने ब्यवस्था भएकोले सबै कर्मचारीलाई तत् तत् पदमा बोर्डको कर्मचारी कायम भएको पत्र दिने पनि बैठकले निर्णय गरेको छ । बोर्डको प्रशाशनिक काम गर्न मन्त्रालयका सहसचिव लवदेव अवस्थीलाई बोर्डको सदस्य सचिव तोकिसकेको छ । 

शिक्षा ऐन कार्यान्वयनका सन्दर्भमा मन्त्रालयले गरेको निर्णयबारेको खबर पढ्नुहोस् : राष्ट्रिय परीक्षा वोर्ड गठन, परिषद्का सदस्य सचिव कोईरालाको राजीनामा

प्रकाशित मिति २०७३ असार १६ गते



प्रतिक्रिया