Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

राष्ट्रपतिबाट शिक्षा ऐन प्रमाणिकरण, ऐनले नसमेटेका कुरा शिक्षा नीति मार्फत् गर्ने मन्त्रीको भनाई

बुधबार, १५ असार २०७३

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएसंगै शिक्षा ऐनको आठौं शंसोधनको प्रकृया पुरा भएको छ । यो संगै देशले नयाँ शिक्षा ऐन पाएको छ । शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ आठौं संशोधन संसदबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पुगेको थियो । ०६६ सालमा संसदमा टेबुल भएको मस्यौदा पटक–पटकको प्रयास पछि संसदीय समिति, संसद हुँदै राष्ट्रपति कार्यलयबाट प्रमाणिकरण भएसँगै बुधबार देखिनै ऐन लागू भएको छ । 

ऐन प्रमाणिकरण भएपछि एडुखवरसँग संक्षिप्त कुरा गर्दै शिक्षामन्त्री गिरिराजमणी पोखरेलले राष्ट्रको आवश्यकता भएकोले सबैको सहयोग र पहलबाट ऐन ल्याउन संभव भएको बताए । ऐनले सम्वोधन गर्न नसकेका कुराहरु राष्ट्रिय शिक्षा निती निर्माण गरेर संविधानले गरेको व्यवस्था अनुसार अघि बढ्ने उनले बताए । विद्यालय शिक्षामा ऐतिहासिक उपलब्धि भएको छ, उनले भने, ऐनले समेट्न नसकेका कुरा नीति निर्माण गरेर समाधान गर्ने मेरो योजना छ । यसका लागि ऐन ल्याउने बेला सम्म आफूले सबै क्षेत्रबाट प्राप्त गरेको सहयोग जस्तै सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।

ऐनको कार्यान्वयनमा थुप्रै चुनौती रहेको बताउँदै मन्त्री पोखरेलले सहकार्यबाट चुनौतीको पनि सामाना गर्न सकिने अपेक्षा गरेको बताए । चुनौतीको सामना गर्न मन्त्री पोखरेलले आँट देखाएका छन् । ऐन ल्याउने यो समग्र प्रकृयामा जिम्मेवारी पूर्वक कामलाई वहन गर्न सक्ने क्षमता उनले देखाएका छन् । त्यसैको परिणाम स्वरुप यस अघि राष्ट्रपति कार्यालय पुगेर फर्कार्ईएको ऐन उनकै कार्यकालमा पारित हुन सफल भएको छ ।
पूर्व प्राथािमक कक्षा देखि १२ सम्मलाई विद्यालय तह बनाएर निःशुल्क शिक्षा संचालन गर्ने बिषय ऐनमा उल्लेख छ । त्यसैले ऐनको कार्यन्वयनमा पहिलो चुनौती नै निःशुल्क शिक्षा कार्यान्वयन हुनेछ ।

साथै ऐनको प्रमाणिकरणसँगै कक्षा ११ र १२ तहलाई नियमन, सम्वन्धन र संचालन गर्दै आएको उच्च माध्यमिक शिक्षा परिषद् आजैका मिती देखि खारेज भएको छ । परिषद्का काम कारवाही आजै देखि शिक्षा मन्त्रालय मातहत आएको छ । अव तत्काल परीक्षा बोर्ड गठन गर्नु पर्ने भएपनि मन्त्रालयले त्यसबारेमा अहिले सम्म कुनै प्रकृया शुरु गरेको छैन । बोर्डको अध्यक्षको नियुक्ति मन्त्रीपरिषद्ले निर्णय गरेपछि हुने छ ।

बोर्डमा मन्त्रालयका सचिव उपाध्यक्ष हुने ब्यवस्था छ । बिहीबार बिहानै बैठक बसेर परीक्षा बोर्ड गठनको प्रकृया शुरु गर्ने मन्त्री पोखरेलले बताए । परिषद्ले गर्ने काम कारवाही कसरी सञ्चालन हुने हो भन्ने बारेमा देखिएको भय ऐन प्रमाणिकरण हुँदा सम्म पनि कायमै छ ।

पढ्नुहोस् : शिक्षा ऐन प्रमाणिकरण पछि हुने शून्यताको भय

ऐन सम्बन्धि अन्य खबरका लागि यी सामग्री पढ्नुहोस् :

चुनौतिबीच शिक्षा ऐन

शिक्षा विधेयक पारित, शिक्षामा नयाँ युगको शुरुवात

शिक्षा विधेयक समितिबाट पारित

शिक्षा विधेयकको पूर्ण पाठ : शिक्षक दलको कार्यकर्ता बन्न नपाउने, उच्च माविका शिक्षकलाई लाईसेन्सको ब्यवस्था

प्रकाशित मिति २०७३ असार १५ गते

प्रतिक्रिया