Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

जता उपकुलपति उतै ताला

विहीबार, २४ भदौ २०७२

काठमाडौं २४ भदौ / त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँ जताजता गएर काम गर्छन्, विश्वविद्यालयका प्राध्यापकहरूले खोजीखोजी उतै पुगेर ताला लगाउने गरेका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशील कोइरालाले सत्तासाझेदार नेकपा एमालेसँग समन्वय नगरी त्रिविसहित चार विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेपछि एमालेनिकट प्रगतिशील प्राध्यापक संगठनले उपकुलपतिको काममा अवरोध गर्दै आएको छ।

मधेसी दलनिकट लोकतान्त्रिक प्राध्यापक संगठनले पनि विश्वविद्यालयमा आफ्नो पनि भाग माग्दै खोजीखोजी ताला लगाइरहेको छ।

कुलपतिको हैसियतले प्रधानमन्त्री कोइरालाले त्रिवि, नेपाल संस्कृत, पूर्वाञ्चल र सूदूरपश्चिमाञ्चलमा क्रमशः खनियाँ, कुलप्रसाद कोइराला, घनश्यामलाल दास र भूषण श्रेष्ठलाई उपकुलपति नियुक्त गरेका थिए । भदौ ८ मा एमाओवादी कोटामा ईश्वरीप्रसाद ढकाल कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति नियुक्त भए।

बौद्धिक चोरीको आरोप लागेका त्रिवि उपकुलपति खनियाँले पदभार सम्हालेलगत्तै कार्यालयमा पुगेर प्रगतिशील प्रध्यापक संगठनले ताला लगाएको थियो। त्यसपछि उपकुलपति खनियाँले बल्खुमा रहेको जनप्रशासन क्याम्पसमा बसेर काम गरे। लगत्तै प्रगितशील र लोकतान्त्रिक प्राध्यापक संगठनले त्यहाँ पनि ताला लगाइदिएको प्रगतिशील प्राध्यापक संगठनका महासचिव खगराज शर्माले बताए।

त्यसपछि खनियाँ विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायको डिन कार्यालयमा बसेर काम गर्न खोज्दा दुवै संगठनले त्यहीँ पुगेर चारै डिन कार्यालयमा ताला लगाइदिए।

सत्तासाझेदार दल एमालेलाई लत्याएर बौद्धिक चोरी आरोपित व्यक्तिलाई उपकुलपति नियुक्ति गरेर प्रधानमन्त्री एवं कुलपतिले समग्र शैक्षिक क्षेत्रकै बदनाम गरेको प्रगतिशील संगठनका महासचिव खगराज शर्माले आरोप लगाए। उनले उपकुलपति नियुक्तिको निर्णय नसच्याए विश्वविद्यालयहरूमा अनिश्चितकालीन तालबन्दी जारी नै रहने जनाए।

'कांग्रेसले त्रिवि लिए एमालेलाई तीन विश्वविद्यालय दिने र बाँकी एक विश्वविद्यालयको उपकुलपति अन्य दललाई दिने सहमति कांग्रेसका नेताहरूसँग भएको थियो,' महासचिव शर्माले नागरिकसँग भने, 'तर कुलपतिले त्रिविसहित चार विश्वविद्यालयमा आफ्नो दलकै नेता उपकुलपति नियुक्ति गरेपछि हामी विरोधमा उत्रनुपरेको हो।'

उनले विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा बौद्धिक चोरीका आरोपितलाई उपकुलपति नियुक्ति गर्दा प्राज्ञिक स्वच्छता कायम गर्ने नैतिकता नहुने बताए।

विश्वविद्यालयलगायत विभिन्न निकायको नियुक्तिबारे बुझेर छलफल गरी समस्या समाधन गर्न गठित माधवकुमार नेपाल संयोजकत्वको उच्चस्तरीय समितिलाई समेत कांग्रेसले बेवास्ता गरेको उनको आरोप छ।

'प्रधानमन्त्रीले विश्वविद्यालयको समस्या समाधान गर्न बेवास्ता गरिरहनुभएको छ,' उनले भने, 'हाम्रो माग पूरा नभएसम्म विश्वविद्यालयको जुनसुकै कार्यालयमा उपकुलपति बसेको जानकारी पाउनासाथ खोजीखोजी तालाबन्दी गछर्ौं।'

मधेसी दलनिकट लोकतान्त्रिक प्रध्यापक संगठनका अध्यक्ष उदयकिशोर तिवारीले मधेसी दललाई विश्वविद्यालयको उपकुलपतिमा कुनै भाग नदिएकाले विरोधस्वरूप तालाबन्दी गरेको जनाए। 'कुलपतिले भागबन्डामै उपकुलपति नियुक्ति गर्ने हो भने बाँकी दुई विश्वविद्यालय मध्यपश्चिम र पोखरामध्ये एउटामा मधेसी दलको सिफारिसमा हुनुपर्छ।' उनले सरकारले समावेशी आधारमा उपकुलति नियुक्ति नगरेसम्म तालाबन्दी जारी नै रहने बताए।

विश्वविद्यालयमा तालाबन्दीका कारण उच्च शिक्षा क्षेत्रमा असहज परिस्थित उत्पन्न हुन थालेको त्रिवि प्राध्यापक संघका सभापति योगेन्द्रनारायण बडबडियाले जनाए। उपकुलपतिले स्मृति भवनमा काम गर्न खोज्दा त्यहाँ पनि विरोधमा उत्रेका प्राध्यापकहरू पुगेर दुई ताला झुन्ड्याइदिएका थिए। उपकुलपति नियुक्तिपछि विश्वविद्यालयको कुनै पनि शाखा र महाशाखामा प्रशासनिक, आर्थिक र शैक्षिक गतिविधि अघि बढाउन त्रिविले सकेको छैन।

'त्रिविका उपकुलपति जहाँ बसेर काम गर्न खोज्छन् विरोधमा उत्रेका लोकतान्त्रिक र प्रगतिशील प्रध्यापकहरू त्यहीँ पुगेर ताला लगाइदिन्छन्,' सभापति बडबडियाले नागरिकसँग भने, 'कुलपतिले विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेर उच्च शिक्षा क्षेत्रमा जटिलता उत्पन्न गराइदिएका छन्।'

उनले तालाबन्दीका कारण त्रिविका शिक्षक र कर्मचारीको तलब, बढुवासरुवा, वृत्तिविकास, विद्यावरिधिको दर्ता प्रक्रिया, पेन्सनपट्टा बनाउने लगायतका काम ठप्प भएको बताए।

संस्कतृ, सुदूरपश्चिमाञ्चल, कृषि तथा वन विज्ञान र पूर्वाञ्चलका उपकुलपति कार्यालयमा पनि प्रगतिशील र लोकतान्त्रिक प्रध्यापक संगठनको तालाबन्दी जारी छ। त्यहाँका उपकुलपतिले सम्पर्क कार्यालयमा पदभार ग्रहण गर्नुपरेको थियो।

नागरिकमा रुबी रौनियारले लेखेकी छन् ।

प्रतिक्रिया