Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

ब्याक लागेको विषयमा फी लगाएकोमा विरोध

बुधबार, १५ असार २०७३

काठमाडौं १५ असार / फेल भएको विषयको जाँच दिँदा थप शुल्क तिर्नुपरेको भन्दै विद्यार्थी आन्दोलित हुँदा पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मंगलबार परीक्षा हुन सकेन ।

स्कुल अफ इन्जिनियरिङका विद्यार्थीले ब्याक विषयमा फी नतिर्ने भन्दै आन्दोलन गर्दा मंगलबार बीबीए तेस्रो सेमेस्टरको परीक्षामा अवरोध भएको छ ।

आफूहरुको परीक्षा बुधबारबाट भए पनि इन्जिनियरिङका विद्यार्थीले मंगलबारको परीक्षामा पनि अवरोध पुर्याएका हुन् ।

परीक्षा चल्न नदिन विहानैदेखि क्याम्पस गेटमा धर्ना बसेका विद्यार्थीको प्रहरीसँग झडपसमेत भएको छ । झडपमा केही विद्यार्थी घाइते भएका छन् भने केहीलाई प्रहरीले पक्रेको छ ।

स्कुल अफ इन्जिनियरिङका विद्यार्थी आशीष दनाईंका अनुसार विश्वविद्यालयले पहिलापहिला ब्याक लागेको विषयको जाँच दिन परीक्षा शुल्कमात्रै लिन्थ्यो । यसपालि भने प्रति विषय छुट्टै ३ सय रुपैयाँ पनि लिन थालेको हुँदा विद्यार्थी आन्दोलित भएका हुन् ।

‘परीक्षा फर्म भरिसकेपछि सूचना निकालेर शुल्क तिर्नुपर्छ भनेकाले हामी आन्दोलित हुनुपरेको हो’, दनाईंले अन्नपूर्णसँग भने, ‘एक त पहिला नलिने गरिएको शुल्क लिन थालिएको छ भने अर्काेतिर बेलामा सूचना पनि दिइएको छैन ।’

पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङमा सातौं सेमेस्टरको परीक्षा भने बुधबारबाट सुरु हुँदैछ । विद्यार्थीहरुले भने गएका ४/५ दिनदेखि नै ब्याक लागेको विषयमा शुल्क लिन नपाइने भन्दै आन्दोलन गर्दै आएका थिए ।

त्यही क्रममा आफूहरुको परीक्षा सुरु हुनुभन्दा अघिल्लो दिनै इन्जिनियरिङका विद्यार्थी मंगलबार पनि आन्दोलित हुँदा बिहान ७ बजे सुरु हुनुपर्ने बीबीएको परीक्षामा बाधा पुगेको हो ।

लेखनाथको ढुंगेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा परीक्षामा बाधा पुगे पनि देशभरका अरु कलेजमा भने सामान्य अवस्था रहेको बुझिएको छ ।

प्रवेशद्वारमै धर्ना बसेर बाटो छेकेका विद्यार्थी हटाउन पुगेको प्रहरीले छात्राहरुमाथि दुव्र्यवहार गरेको आरोप पनि विद्यार्थीले लगाएका छन् । अहिले भने विद्यार्थी र विश्वविद्यालयको व्यवस्थापन पक्षबीच वार्ता चलिरहेको जानकारी डाँडाको नाक प्रहरी चौकी लेखनाथका इन्चार्ज मित्रबहादुर आचार्यले दिए ।

अन्नपूर्ण पोष्टमा केशवशरण लामिछानेले लेखेका छन् ।

प्रतिक्रिया