Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

मेरो छोराले पढ्न पाउँदैन ?

बुधबार, १५ असार २०७३

काठमाडौं १५ असार / एसएलसी सकेका आफ्ना छोराछोरीका लागि गतिलो प्लस टु खोजी गर्ने अभिभावकको भीडमा केही दिनयता इलामका भुवन खतिवडा पनि छन् । इलामको ज्योति विद्या मन्दिरबाट एसएलसी दिएका उनका कान्छा छोरा आलोकले ३.५० जीपीए ल्याएपछि उनले जति खुसियाली मनाए, प्लस टुको खोजीमा पहिलो पटक राजधानी आइपुगेपछि त्यति नै निराश छन् ।

आठ कक्षामा जिल्ला ‘टप’ र यसवर्ष विद्यालयका ७३ विद्यार्थीलाई उछिनेका आलोकको कम्मरभन्दा तलको भाग चल्दैन । विगतको जस्तै नतिजाको विश्लेषण गर्ने हो भने उनले विशिष्ट श्रेणी ल्याएका हुन् । यसैले परिवारले खुसी मनायो ।

विज्ञान पढेर डाक्टर बन्ने छोराको धोको पूरा गर्न जुटेदेखि नै भुवनले यसका जटिलता महसुस गर्न थालेका छन् । उनी पढ्ने ज्योति स्कुलमा १० कक्षामै ह्वीलचियर पुग्थ्यो । तर, एसएलसीको सेन्टरमा त्यो सुविधा थिएन । भुवनले छोरालाई बोकेरै परीक्षा हलमा पुर्‍याए ।

इलाम र आसपासका विद्यालयमा कक्षा ११ को पढाइ हुने स्कुलका कोठासम्म ह्वीलचियर नपुग्ने भएपछि उनी त्यो सुविधा भएका प्लस टुको खोजीमा काठमाडौं आए । उनको एउटै उद्देश्य छ, ‘कक्षाकोठामै ह्वीलचियर जाने प्लस टु खोज्ने ।’

बिहीबार काठमाडौं आइपुगेदेखि मंगलबारसम्म उनी २० भन्दा बढी सामुदायिक र निजी प्लस टुमा पुगे । भक्तपुरको ख्वप, सैनिक आवासीय महाविद्यालय, एसओएस पुगे । विद्यालयको फारम पाइने कोठामा शरीरिक अपांगता भएका आलोकको ग्रेडसिट र फोटो देखाउँदै उनी भन्थे, ‘यो मेरो छोरा । उसको कम्मरभन्दा तलको भाग चल्दैन । तपाईंको कलेजमा मेरो छोरालाई पढाउन सकिन्छ ?’

फारम वितरण गर्ने कर्मचारीले त्यसको जवाफ दिन नसकेर प्लस टुका प्रमुख र सहायकलाई भेट्न भने । उनी लुरुलुरु गए । यसै क्रममा उनी मंगलबार भक्तपुरको ख्वप विद्यालय पुगे ।

त्यहाँका सहायक प्राचार्य कृष्णप्रसाद कर्माचार्यलाई उनले आफ्नो छोराबारे बताएर उही प्रश्न दोहोर्‍याए । कर्माचार्यले ह्वीलचियरमार्फत कक्षामा जाने संरचना नभएको भनेपछि उनी फर्किए । सेनाले सञ्चालन गरेको विद्यालयमा त पक्कै पनि यस्तो व्यवस्था होला भन्दै सैनिक आवासीय महाविद्यालय पुगे ।

विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार माथेमालाई त्यही समस्या र प्रश्न सुनाए । त्यही कक्षमा बसेका एक शिक्षकले भुवनलाई उनी सेना हो भनेर सोधे ।

भुवनले होइन भने । अनि ती शिक्षकले भने, ‘हाम्रो विद्यालयमा अपांग विद्यार्थीलाई भर्ना नै लिइँदैन, यहाँ पढ्नलाई दाग त लागेको हुनुहुँदैन । अपांगको त कुरै नगरौं ।’ शिक्षकको कुरा सुनेर उनी तुरुन्तै कोठाबाट निस्किए । बाहिर निस्किएपछि उनले आँसु थाम्नै सकेनन् । यहाँबाट निराश बनेका उनी एसओएस र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर पुगे ।

यी दुई स्कुलमा पनि उनले खोजेको व्यवस्था थिएन । यी मात्र होइन, एक सातामा उनी पुगेका राजधानीका हिमालयन ह्वाइट हाउस, नासा, पेन्टागन, नोबेल, गोल्डेनगेट, युनिभर्सल, लिभरपुल, सेन्ट जेभियर्स, ग्लोबल, ल्याबरोटरी, प्रसादी, युनाइटेड कुनैमा पनि यो सुविधा थिएन ।

ल्याबरोटरीमा अपांगता भएका विद्यार्थीलाई पढाउने व्यवस्था भएको सुनेर उनी मंगलबार अपराहन उत्साहका साथ पुगेका थिए । तर, जब त्यहाँका कर्मचारीले दृष्टिविहीनका लागि मात्रै व्यवस्था भएको बताए, उनको उत्साह तुरुन्तै सेलायो ।

इलाम बजारमा तरकारी पसलको व्यवसाय गर्ने ५४ वर्षीय भुवन खतिवडाले यो एक सातामा गहिरो निराशा अनुभति गरेका छन् । दु:खी मन लिएर उनी प्रश्न गर्छन्, ‘मेरो छोराले त पढ्नै पाउँदैन कि क्या हो ? मेरो छोरा मात्रै यस्तो हो त ? अरूका पनि हुन्थे भने त बनाउँथे होलान् ।’

उनी पुगेका प्राय: प्लस टुका भवन ठूला, कक्षामा फ्यान, एसी, काउन्सिलिङ कोठा, प्रवेशद्वारमा चिया, कफी र बिस्कुटको सत्कार देखे । तर, आफ्नो छोराको हवीलचेयर कक्षासम्म पुग्ने बाटो देखेनन् ।

‘के मेरो छोरो पढ्न अयोग्य नै भएको हो त ?’ अहिले उनको मनमा यो प्रश्न उठिरहेको छ । उनी भन्छन्, ‘विज्ञान पढ्छु भन्ने मान्छेलाई घरमा राखेर पनि भएन, नराखौं उसलाई पढाउने कलेज कतै पाइएन । म अब कसरी घर फर्किनु ? उसले मलाई बसिटिक्नु दिँदैन ।’

दुवै छोरा अपांग

भुवनले यस्तो समस्या भोगेको यो पहिलो पटक भने होइन । उनका जेठा छोरा भूपालको पनि कम्मरभन्दा तलको भाग चल्दैन । उनले पनि १० कक्षापछि अपांगमैत्री विद्यालय नभएकै कारण घरमै पढेर मानविकीमा ११ र १२ को परीक्षा दिए । ११ मा ५८ प्रतिशत ल्याए । १२ को नतिजा आउन बाँकी छ ।

अब स्नातक तह भने क्याम्पस गएर पढ्ने उनको चाहना छ ।

उनकी श्रीमतीलाई छोरा पढेकै विद्यालयले रोजगारी दिएको छ । १० कक्षासम्म विद्यालयले नि:शुल्क पढ्ने व्यवस्था गरेको थियो । अब ११ कक्षा पढ्न खर्च जुटाउन आफन्त गुहार्ने सुरसार उनको छ । भन्छन्, ‘पढ्ने कलेज भेटिए त छोराले आफ्नो क्षमता देखाउँथ्यो, सायद पैसा तिर्नै पर्दैनथ्यो । तिर्न परे पनि हामी दु:ख गर्छौं,’ उनले भने ।

नियम बन्छ, कार्यान्वयन हुँदैन

संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिकाले विद्यालयको भवन बनाउँदा नक्सापास र भूकम्प प्रतिरोधात्मक हुनुका साथै प्रत्येक कोठामा हवीलचियरको पहँ‘च पुग्ने गरी अपांग मैत्री भवन हुनुपर्ने प्रावधान राखेको छ ।

निजी विद्यालय सञ्चालकले यस्तो व्यवस्थाको विरोध गर्दै आइरहेका छन् । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ सञ्चालन गर्न चाहने विद्यालयलाई अनुमति दिँदा अपांगमैत्री हुनुपर्ने प्रावधान नराख्दा आलोकजस्तै विद्यार्थीहरू पढ्नबाट वञ्चित हुनुपर्ने बाध्यता छ ।

शिक्षा विभागका निर्देशक वैकुण्ठ अर्याल केही वर्षयता बनेका भवन अपांगमैत्री बन्न थालेको उल्लेख गर्दै ‘अब बन्ने भवन अनिवार्य अपांगमैत्री हुनुपर्ने’ बताउँछन् । तर, राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदी भने सरकारले अपांगता भएका विद्यार्थीलाई लक्षित गरेर संरचना बनाउन जोड नदिएको बताउँछन् ।

‘शिक्षा मन्त्रालय, विभाग र शिक्षा कार्यालयहरू अपांगमैत्री छैनन् । अपांगता भएका व्यक्तिहरूका लागि सहज हुने गरी संरचना नबनेकाले कति विद्यार्थीहरू पढ्नबाटै वञ्चित भएका छन्,’ सुवेदीले भने । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्याको १.९४ प्रतिशत अपांगता भएका व्यक्ति छन् । त्यसमध्ये आलोकजस्तै शारीरिक अपांगता भएका ३६ प्रतिशत छन् ।

कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया