Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

प्राध्यापक पी. खरेललाई मदन भण्डारी शिक्षा पुरस्कार

बुधबार, १५ असार २०७३

काठमाडौं १५ असार / मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार पत्रकारिता विषयका पहिलो प्राध्यापक पी. खरेललाई प्रदान गरिएको छ । मदन भण्डारी मेमोरियल कलेजको १५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्राध्यापक खरेललाई मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । प्राध्यापक खरेलले पत्रकारिता शिक्षा र पत्रकारितामा लामो समयदेखि महत्त्वपूर्ण योगदान पुर्‍याएकाले सो पुरस्कार प्रदान गरेको कलेजले जनाएको छ । २५ हजार रुपैयाँ नगद र कदरपत्रसहित पुरस्कार प्रदान गरिएको छ । पी. खरेल त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्वप्रमुखसमेत हुन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वर्षअघि इच्छाशक्तिका आधारमा स्थापना भएको मदन भण्डारी मेमोरियल कलेज अहिले धेरै अगाडि बढेकामा खुसी व्यक्ति गरे । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणका लागि युवाहरूलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउनुपर्ने बताए । उनले मदन भण्डारी इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी स्थापनाका लागि बजेट कार्यक्रममा सम्बोधन भएको बताए । कार्यक्रममा कलेज व्यवस्थापन समिति अध्यक्ष उषाकिरण भण्डारीले गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहिरहने बताइन् ।

कार्यक्रममा क्याम्पस प्रमुख डम्बर हमालले शिक्षालाई व्यापारमुखी नभएर सेवामुखी हुनुपर्ने पक्षमा आफूहरू दृढतापूर्वक लागेको बताए । क्याम्पस प्रमुख हमालले कलेजले समयसापेक्ष रूपमा कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र शिक्षालाई आम जनसमुदायको पहुँचसम्म पुर्‍याउने प्रयास भइरहेको बताए । उनले कलेजले उच्च माध्यमिक र विश्वविद्यालय तहका परीक्षाहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको र स्नातकोत्तर तहको परीक्षामा पटक–पटक शतप्रतिशत ल्याउन सफल भएको जानकारी दिए । विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष डा. कमलकृष्ण जोशीको संयोजकत्वमा पुरस्कार छनोट गरिएको थियो ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया