Edukhabar
शनिबार, १२ असोज २०८१
विचार / विमर्श

ग्रेडिङ्मा एसएलसी : अर्को तहमा भर्ना बारे

मंगलबार, १४ असार २०७३

- गेहनाथ गौतम / यो बर्ष एसएलसीको नतिजा ग्रेडिङ् अर्थात् अक्षरांकन पद्धति अनुसार सार्वजनिक भयो । नतिजासंगै  यसले थप अध्ययनका सम्बन्धमा अन्यौलता बढायो भन्ने र यसले धेरैलाई अवसर प्रदान गरेछ भन्ने दुवै किसिमका प्रतिक्रियाहरु आइरहेका छन् । साथमा एसएसलसीमा धेरै अनुत्तीर्ण भए भनेर नै यो पद्धति अपनाएको हो तर अझै डी र इ ग्रेडकाले उच्च माध्यमिक तहमा भर्ना हुन नपाउने रहेछन् । भनेपछि यो पनि पुरानो पद्धति भन्दा गतिलो रहेन छ भन्ने विचार पनि सुन्ने गरिएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद् र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विद्यार्थी भर्ना सम्बन्धमा निर्धारण गरी सार्वजनिक गरिएका आधारहरु हेर्दा विगतमा उत्तीण मात्र भएकाले पढ्न पाउने अवस्था रहेको स्थानमा पनि अव पढ्न नपाउने अवस्था बनेको देखियो । यस पक्षलाई हेरेर अक्षरांकन पद्धतिले झन् अप्ठ्यारो पार्यो भन्ने भनाइ पनि सुन्ने गरिएको छ । हाल धेरैमा प्रयोगात्मक र सैद्धान्तिकको अलग अलग ग्रेड चाहिने वा नचाहिने भन्नेमा दुविधा रहेको पाइन्छ ।

यी र यस्तै बारेमा स्पष्ट उत्तरको अपेक्षा गरिएको सुनिन्छ । मोवाइलमा वा अन्य सञ्चारका साधनहरुमा यस बारेमा अन्योल चिर्न कसै न कसैबाट केही त चाहियो भन्ने आवाज सुनिएको छ । यस्तै विद्यार्थीको समग्र नतिजालाई ए प्लस, बी प्लस वा अन्य ग्रेडमा अभिव्यक्त गर्ने र कतिपयले जिपिएलाई प्रतिशतमा परिवर्तन गरेर उल्लेख गर्ने गरिएको पनि पाइएको छ । आज यही सेरोफेरोमा रहेर केही चर्चा गर्न खोजिएको छ ।

यस विषयमा केही जानकारी :

१.     सम्बत् २०७२ सालको साधारण धार तर्फ नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भई सैद्धान्तिक तर्फ बढिमा २ (दुई) विषय सम्म डी र इ ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूका लागि माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको २०७३।३।२ को बैठकको निर्णयानुसार पुरक (ग्रेड बृद्धि) परीक्षा २०७३ साल साउन १४ गते शुक्रबारबाट सञ्चालन हुँदैछ । यस पटक एसएलसी पुरक (ग्रेड बृद्धि) परीक्षामा उल्लिखित अवस्थाका विद्यार्थीले मात्र सहभागी हुन पाउने छन् । तथापि सबैले  ग्रेड बृद्धि परीक्षा दिनै पर्छ भन्ने चाँहि छैन ।

२.     उच्च माध्यमिक शिक्षा परिषद् र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विद्यार्थी भर्ना सम्बन्धमा निर्धारण गरी सार्वजनिक गरेका आधारहरु अनुसार कुनै पनि विषयमा सैद्धान्तिक र प्रयोगात्मक दुवै किसिमबाट मूल्याङ्कन गरिएको भए पनि सैद्धान्तिक र प्रयोगात्मक अलग अलग नगरी एकमुष्ट गे्रडको आधारमा आवेदन दिन सकिन्छ ।

३.     हरेक परीक्षार्थीको ग्रेड सिटमा विषयगत रुपमा सैद्धान्तिक र प्रयोगात्मक भएमा अलग अलग ग्रेड राखिएको छ । यसरी एउटा विषयको संयुक्त ग्रेड कायम गर्दा सैद्धान्तिक र प्रयोगात्मक अङ्कलाई जोडेर आउने कुल प्राप्ताङ्कबाट ग्रेड कायम गरिएको छ । त्यसैले यो सैद्धान्तिक र प्रयोगात्मक गे्रडको औसत नभई अङ्कको योगको ग्रेड हो ।

४.     कुनै परीक्षार्थीले जिपिए २.० वा १.६ ल्याएर पनि तोकिएका विषयमा तोकिएको ग्रेड प्राप्त गरेको छैन भने भर्नाका लागि आवेदन दिन सकिन्न । तर उच्च माध्यमिक शिक्षाका लागि उच्च माध्यमिक शिक्षा परिषदले निर्धारण गरेका १२ ओटा आधार मध्ये जुन आधारमा आफ्नो नतिजाले भ्याउँछ त्यो विषय लिएर अध्ययन गर्न सकिन्छ । यस बाहेक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सञ्चालन गर्ने तालिम वा अध्ययनमा सहभागी हुन सकिन्छ ।

५.     भर्नाका आधार अनुसार हेर्दा जिपिए २.० वा १.६ वा माथि प्राप्त छ, पुरक (ग्रेड बृद्धि) परीक्षाका लागि तोकिएका डी र इ ग्रेड भन्दा माथि छ तर चाहेको विषयमा भर्ना गर्न नसकिने भयो भने के गर्ने भन्ने विषय गम्भिर छ । अध्ययनकर्ताले विशिष्ठता हाँसिल गर्न सके  जुन सुकै विषय अध्ययन गरे पनि त्यसको उत्तिकै महत्व हुन्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सञ्चालन गर्ने तालिम वा अध्ययनमा सहभागी हुन सकिन्छ ।

६.     विद्यार्थीको समग्र नतिजालाई ए प्लस, बी प्लस वा अन्य ग्रेडमा अभिव्यक्त गर्ने वा जिपिएलाई प्रतिशतमा परिवर्तन गरेर उल्लेख गर्नु उपयुक्त हुदैंन । परीक्षा नियन्त्रण कार्यलयले विद्यार्थीलाई गे्रडसिटमा समग्र नतिजामा जिपिए मात्र उल्लेख गर्दछ । स्तरीकृत अङ्क वा ग्रेड प्वाइन्ट निकाल्दा नै विद्यार्थीले प्राप्त गरेको अङ्कलाई रुपान्तरण गरि सकिएको हुन्छ । अब फेरि अङ्क वा प्रतिशतमा लैजानु वस्तुगत र उपयुक्त दुवै हुन्न ।  अझ सिद्धान्ततः अङ्क र अक्षरमा आधारित मूल्याङ्कन पद्धतिको मान्यता नै फरक हुने भएकाले पनि जिपिएका आधारमा अक्षर ग्रेड तोक्नु वा प्रतिशत निकाल्नु स्वाभाविक मानिन्न ।

(गौतम पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक हुन्)

प्रकाशित मिति २०७३ असार १४ गते

प्रतिक्रिया