Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

शिक्षकलाई ११ वर्ष कैद

मंगलबार, १४ असार २०७३

काठमाडौं १४ असार / आफ्नै विद्यालयमा अध्ययनरत सुस्त मन:स्थितिकी छात्रालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत बैतडीले एक शिक्षकलाई ११ वर्ष कैद सजाय तोकेको छ ।

जिल्ला न्यायाधीश ध्रुवकुमार शाहको इजलासले दशरथचन्द ९ डुंगरास्थित दानेश्वर प्राविका शिक्षक दुर्गादत्त भट्टलाई ११ वर्ष कैद सजाय तोकेको हो । उक्त विद्यालयमा ४ कक्षा पढ्ने १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक भट्टविरुद्ध मुद्दा दायर भएको थियो ।

गत मंसिर ६ देखि १० गतेसम्म ती किशोरीमाथि विद्यालयबाट घर फर्कने क्रममा पटक–पटक बलात्कार गरेको भन्दै मुद्दा परेको थियो । जबर्जस्ती करणी मुद्दामा ६ वर्ष र अपांगता भएकी किशोरी भएकाले थप ५ वर्षसहित ११ वर्ष कैद फैसला भएको हो ।

ती किशोरीका अभिभावकले शिक्षक भट्टविरुद्ध चैत ६ मा प्रहरीमा किटानी जाहेरी दिएका थिए । बलात्कारपछि ती किशोरी गर्भवती भएकी थिइन् । फागुनमा गर्भपतन भएपछि मात्रै किशोरीका आफन्तले घटनाबारे थाहा पाएपछि मुद्दा दर्ता गरेका थिए । घटनापछि डराएर ती छात्राले विद्यालय जान छाडेकी छन् ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया