Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

प्रहरी निरीक्षकको सम्झनामा अक्षय कोष : संगीतमा प्रथम हुने विद्यार्थीलाई पुरस्कार

सोमबार, १३ असार २०७३

काठमाडौं - शसस्त्र प्रहरी बलको नेपाल एपीएफ स्कूलमा संगीत तर्फ प्रथम हुने विद्यार्थीलाई हरेक बर्ष पुरस्कार दिने गरी प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको स्मृतिमा संगीत अक्षय कोषको स्थापना गरिएको छ । नेपाली साँगीतिक क्षेत्रमा समेत सकृय स्वर्गीय पाठकले नेपाली गीत संगीत क्षेत्रमा पुर्याएको योगदानको स्मरण सहितको सम्मान तथा आगामी पुस्तालाई समेत उनका बारेमा जानकारी होस् भनेर कोष स्थापना गरिएको हो ।

गायक, रचनाकार तथा संगीतकार समेत रहेका पाठकका एकै व्याचका सशस्त्र प्रहरी निरीक्षकहरुले आआफै रकम संकलन गरि डेढ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् ।

सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठक स्मृति अक्षय कोषको सम्पूर्ण रेखदेख सशस्त्र प्रहरी परिवार महिला संघले गर्ने र संघको वार्षिकोत्सवमा सो पुरस्कार प्रदान गरिने तय भएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले बताए । कोषमा रहेको रकमबाट प्राप्त हुने वार्षिक ब्याजबाट हरेक बर्ष प्रथम हुने छात्र/छात्रालाई पुरस्कार प्रदान गरिने छ । यसबाट संगीत, गायन, बाद्यवादन, गीत रचना आदि सांगीतिक क्षेत्रमा योगदान पुग्ने तथा उनको सांगीतिक यात्रालाई स्थायीत्व र स्मरणीय बनाउने अपेक्षा गरिएको थापाले बताए ।

शसस्त्रले किर्तीपुरमा स्थापना गरेको विद्यालयमा कक्षा १ देखि १२ सम्म पठन पाठन हुँदै आएको छ ।

२०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षक बनेका पाठकका ‘पन्छी’ र ‘निन्द्रा लाग्दैन’ गरी २ वटा एल्बम बजारमा आइसकेका छन् । गत चैत २८ गते धादिङको मलेखुमा मोटरसाइकल दुर्घटनामा परि पाठकको निधन भएको थियो । 

पाठकले चर्चित गायिका अन्जु पन्तसँग संयुक्त स्वर दिएका छन् भने उनको म्यूजिक भिडियोमा चर्चित नायिका केकी अधिकारी र निता ढुंगानाले अभिनय गरेका छन् । प्राय सबै खाले गित गाउने क्षमता राख्ने स्व. पाठक क्रिकेट र फुटवलका खेलाडी पनि थिए ।

प्रकाशित मिति २०७३ असार १३ गते

प्रतिक्रिया