Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

मनमोहनको विधेयक फिर्ता गर्न माग, डा. केसीको निशानामा अख्तियार

आइतबार, १२ असार २०७३

काठमाडौं – निस्वार्थ सेवाभाव राखेर पटक–पटक अहिंसक आन्दोलनलाई निरन्तरता दिँदै मुलुकको स्वास्थ्य र शिक्षाको मुहानलाई निर्मलीकरण गर्न प्रतिवद्ध प्रा.डा.गोविन्द केसीले यस पटकको आफ्नो आन्दोलनको उद्घोषसँगैं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही प्रति समेत तिक्तता पोखेका छन् । आयोग प्रमुख लोकमान सिंह कार्की नै भ्रष्टाचारमा लिप्त रहेको उनको आरोप छ । 

डा. केसीले कार्कीले भष्ट्राचार गर्नेलाई कारवाही गर्नुको साटो संरक्षण गरिरहेको आरोप सार्वजनिक गरेका छन् । भष्ट्राचारीलाई संरक्षण दिँदै सीमा बाहिर गएर केयुको परीक्षामा हस्तक्षेप गरेको बताउँदै डा. केसीले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग राखे । ‘अख्तियारले आफ्ना आसेपासे, भाइ भतिजाको स्वार्थका लागि मेडिकल शिक्षामा हस्तक्षेप भैरहेको छ ।’ केसीले भने ।

आइतबार शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै केसीले विगतको सरकारसँगको सम्झौता कार्यान्वयन नभए असार २६ गतेबाट आमरण अनशनमा बस्ने जानकारी गराएका छन् । संसदको यही अधिवेशनबाट चिकित्सा शिक्षा ऐनको मस्यौदामा सुधार गरी पारित गर्नुपर्ने, प्रा. केदारभक्त माथेमा प्रतिवेदनको सुझाव विपरित काठमाडौंमा खोल्ने भनेर प्रस्तावित मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विचाराधिन विधेयक तत्काल फिर्ता गरिनुपर्ने, सबै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज पुर्याउनुपर्ने लगायतका माग राखेका छन् ।

संसदको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितीमा उपसमिती बनाएर मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकको छलफल जारी छ । सरकारको नेतृत्व गरेको एमालेका केही नेता र सांसदको लगानीमा सञ्चालन गरिएको उक्त मेडिकल कलेजको विधेयक जवरजस्ती संसदमा प्रस्तुत गर्ने कार्य भएको छ । निजी लगानीलाई सहकारीको संरचना देखाएर राज्यबाट सुविधा समेत लिन सफल उक्त मेडिकल कलेज सञ्चालन निकै विवादित बनेको छ ।

व्यवस्थापिका संसदलाई समेत पकडमा लिएर केही सांसदहरुले नै विधेयक समितिमा प्रस्तुत गरेका छन् । उक्त विधेयक रोक्नु पर्ने विषयलाई डा. केसीले माग राखेर आठांै पटकको अनसनको घोषणा गरेका हुन् ।

प्रकाशित मिति २०७३ असार १२ गते

प्रतिक्रिया