Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

आफ्नै विद्यालय बनाउने बालुवा बोक्न जाँदा पुर्यो ढिस्कोले

आइतबार, १२ असार २०७३

चितवन - आफैंले पढ्ने विद्यालयको निर्माणधिन भवनका लागि आवश्यक बालुवा लिन जाँदा ढिस्कोले पुरिएर कक्षा ५ मा अध्ययनरत १४ वर्षीया होमरी माया चेपाङ्को निधन भएको छ । लोथर–७ स्यामराङ स्थित श्री दुङबाङ राष्ट्रिय प्राथमिक विद्यालयको निर्माणाधीन भवनका लागि बालुवा लिन गएकी चेपाङ्लाई शनिवार दिउँसो २ बजे पहिरोले पुरेको थियो ।

संगै गएका गाउँलेले उद्धार गरी घर ल्याए पनि उपचारको अभावमा उनको राति १० बजे निधन भएको विद्यालयका प्रधानाध्यापक अतिबल चेपाङले जानकारी दिए । शनिबार विदाको दिन परेकोले ३०–३५ जनाको समूहमा चेपाङ् पनि बालुवा लिन गएकी थिईन् । बालुवा खन्दै गर्दा अचानक ढिस्को पहिरिए पछि भागाभाग भएको थियो ।

करीव १ घण्टा टाढा भएको दुर्घटना पछि गाउँलेले उनलाई बोकेर घर ल्याएका थिए । उद्दार गरी घरसम्म ल्याए पनि तत्कालै अस्पताल पु¥याउन नसक्नाले छात्राको निधन भएको हो । विकट भएकाले स्यामराङबाट तुरुन्तै अस्पतालसम्म ल्याउन सकिन्न । पूर्वी चितवनको भण्डाराबाट ३ घण्टा हिडेंपछि बल्ल स्यामराङ पुगिन्छ ।

जिल्ला शिक्षा कार्यालयको १३ लाख ५० हजार रुपैंया लागतमा निर्माण भइरहेको २ कोठे विद्यालय भवनका लागि गाउँलेले बालुवा ओसारिरहेका थिए । विद्यालय भवन बनाउनका लागि पाथीको ४० रुपैयाँ ज्याला पाउने आशाले अभिभावकको साथमा विद्यार्थी पनि बालुवा बोक्ने गर्छन् । विद्यालय भवन निर्माणका लागि आएको रकम ज्याला वापत दिने गरी ब्ययवस्थापन समितिले निर्णय गरेको प्रअ चेपाङ्ले बताए । 'गाउँलेहरुको अन्य आर्थिक श्रोत छैन, यही पैसाबाट यहींको सामग्री, सीप प्रयोग गरी विद्यालय बनाईरहेका थियौं' उनले भने, 'तेल भुटुन, लुगा, कपडा जोड्ने आशामा गाउँलेहरुले काम गरेका हुन् ।'

विकट र आर्थिक अवस्थाले विपन्नहरुको बसोवास रहेको गाउँमा २०२६ सालमै उक्त विद्यालय स्थापना भएको हो । तर, बालबालिकालाई पढाउनु पर्छ भन्ने चेतनाको अभाव र शिक्षाको महत्वका बारेमा थाह नहुँदा विद्यालय भौतिक रुपमा अस्तब्यस्त थियो । 'हामीले नगरे कसले गर्ने ?: भन्ने अभियानको २० लाख रुपैंयाको सहयोगमा यस अघि नै २ कोठे विद्यालय भवन बनाएको प्रअ चेपाङ्ले बताए । 'अभियानको सहयोगमा विद्यालय बनेपछि बल्ल सरकारको ध्यान पुगेको थियो, जिल्ला शिक्षाबाट सहयोग नै पाएका थियौं' उनले भने, 'तर दुखद् घटना भयो, आज त्यही दुखमा हामीले विद्यालय बन्द गर्यौं ।'

९० घर थुरी रहेको गाउँको यो विद्यालयमा १ सय ७५ जना बालबालिका पढ्छन् । प्राथमिक स्तर पढेपछि अगाडिको पढाई गर्न उनीहरु कित त लोथरको देउराली पुग्नु पर्छ की त धाँदिङ्को धुसा गाविसको स्यालदुङ् पुग्नु पर्ने बाध्यता छ । घर देखि टाढा कोठा लिएर बस्न नसक्ने बालबालिकाको पढाई कक्षा ५ मै सकिने गरेको छ ।

प्रकाशित मिति २०७३ असार १२ गते

प्रतिक्रिया