Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

भागबन्डा हुने त्रिविका अनुसन्धान केन्द्रमा खुला प्रतिस्पर्धा

आइतबार, १२ असार २०७३

काठमाडौं १२ असार / राजनीतिक भागबन्डाका आधारमा नियुक्त हुने त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट प्रमुख नियुक्तिको तयारी भएको छ । त्रिविका चारवटा अनुसन्धान केन्द्रमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट नियुक्तिको तयारी भएको हो ।

त्रिविका नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास), आर्थिक विकास तथा अनुसन्धान केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) मा खुला प्रतिस्पर्धाबाट प्रमुखको नियुक्त गर्न लागको हो । चार केन्द्रहरूमा नियुक्तिका लागि अवधारणापत्रसमेत माग गरिएको छ ।

त्रिविका सहप्राध्यापकभन्दा माथिल्लो पदका प्राध्यापकहरूले नियुक्तिका लागि अवधारणापत्र पेस गर्न सक्नेछन् । उनीहरूले सम्बन्धित क्षेत्रमा पिएचडीसमेत गरेको हुनुपर्ने व्यवस्था गरेको छ । अहिले त्रिविका रिसर्च सेन्टर कर्मचारीको घाम ताप्ने सेन्टर मात्र बनेका छन् ।

त्रिविका रेक्टर प्रा. डा. सुधा त्रिपाठीले रिसर्च सेन्टरहरूलाई त्रिविको मेरुदण्डका रूपमा विकास गर्न राजनीतिक भागबन्डा नगरी क्षमताका आधारमा नियुक्त गर्न लागिएको बताइन् । रेक्टर त्रिपाठीले भनिन्, ‘पहिले टीका लगाएर नियुक्ति हुन्थ्यो, अब प्रतिस्पर्धाका आधारमा गरिनेछ ।’ पहिले त्रिविका रिसर्च सेन्टरहरूले राम्रो काम गरे पनि पछिल्ला वर्षहरूमा कुनै उपलब्धि हासिल गर्न सकेका छैन । यस्ता रिसर्च सेन्टरले रिसर्चका काम ल्याउनसमेत सकेका छैनन् ।’

कुन केन्द्रले के गर्छन् ?

- नेपाल तथा एसियाली अनुसन्धान केन्द्र

सिनासले मानवशास्त्र, समाजशास्त्र, संस्कृति, राजनीतिशास्त्र, कला, इतिहासजस्ता मानविकी शास्त्रतर्फका विषय, नेपाल तथा दक्षिण एसियाली मुलुकका अवस्थाबारे अनुसन्धान गर्छ ।

- आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा)

सेडाले देशको आर्थिक तथा प्रशासनिक क्षेत्र विकासका लागि नीतिगत योगदान पुर्‍याउने खालका अध्ययन अनुसन्धान गर्छ ।

- व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)

यसले स्थानीय प्रविधिको पहिचान, विकास, प्रयोग र प्रचारप्रसार, प्रविधि हस्तान्तरणमा सहयोगलगायतका काम गर्छ । वैदेशिक प्रविधिलाई नेपाल अनुकूलको कार्य गर्छ ।

- शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)

यस केन्द्रले विद्यालय शिक्षादेखि उच्च शिक्षा तहसम्मका सम्पूर्ण पक्षमा अनुसन्धान गर्दछ ।  शैक्षिक योजना तथा व्यवस्थापन, शैक्षिक सूचना व्यवस्था अनुसन्धान गर्ने गर्छ ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया