Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

चटपटे बेचेर छोराछोरीलाई शिक्षा

शुक्रबार, १० असार २०७३

काठमाडौं १० असार / उनको पढ्ने धोको थियो । गरिबी र घरायसी समस्याले ६ कक्षामा छाड्नुपर्‍यो । आफूले अवसर प्राप्त नगरे पनि सन्तानले आर्थिक अभावले पढाइ नछाडून् भनेर वर्षौंसम्म ठेलामा चटपटे व्यापार गरे । सिद्धार्थनगर–६ भैंयाटोलका ४२ वर्षीय शिवप्रसाद जैसवालले चटपटे, फुल्की र टिकिया बेचेर अहिले दुई छोरालाई इन्जिनियरिङ पढाउँदै छन् । अन्य दुईलाई निजी विद्यालयमा पढाइरहेका छन् ।

जेठा छोरा विशाल भारतको भोपालस्थित कलेजमा मेकानिकल इन्जिनियर अध्ययनरत छन् । माइला सुरज रुपन्देहीको भलबारीस्थित लुम्बिनी इन्जिनियरिङ कलेजमा डिप्लोमा दोस्रो वर्षमा अध्ययनरत छन् । कान्छा दीपक कक्षा १० मा र छोरी कक्षा ७ मा स्थानीय अमरज्योति बोर्डिङ स्कुलमा अध्ययन गर्दै छन् । दुवै पढाइमा जेहनदार छन् ।

‘घरको परिस्थितिले मैले पढ्न नपाए पनि छोराछोरीले त्यस्तो बेहोर्न नपरोस् भनेर ठेलामा चटपटे, फुल्की टिकियाको व्यापार गरें,’ शिवले सुनाए, ‘सानो छोरालाई इलेक्ट्रोनिक इन्जिनियर र छोरीलाई डाक्टर पढाउने इच्छा छ ।’ उनका अनुसार सबै छोराछोरीका लागि मासिक ७५ हजार खर्च लाग्छ । घरायसीसमेत जोड्दा मासिक करिब एक लाख रुपैयाँ खर्च हुन्छ । त्यो खर्च अहिले पनि उनले सानैदेखि गर्दै आएको यही व्यापारबाट जुटाउने गरेका छन् ।

रूपन्देहीको सिलौटियास्थित विपन्न परिवारमा जन्मेका उनी डेढ वर्षको छँदा बाबुको मृत्यु भयो । दाजुसँगै भैरहवा आएर भाडामा बस्न थाले । दाजुले ठेलामा चटपटे व्यापार सुरु गरे । उनी भने भैरहवास्थित विद्यालयमा पढ्न थाले । तर यो खुसी लामो समय टिकेन । दाजु पक्षाघातका बिरामी भएपछि उनले पढाइ छाडेर परिवारको गुजारा चलाउन १० वर्षबाटै ठेला धकेल्दै दाजुले सुरु गरेको व्यापारलाई निरन्तरता दिन थाले । चटपटेबाट सुरु ठेला व्यापारलाई उनले मौसमअनुसार निरन्तरता दिए । गर्मीमा नरिवल, काँक्रा जाडोमा बदाम, चटपटे बेचे । फुल्की, टिकिया, चाट, समोसा बिक्री गर्न थाले ।

‘छोराछोरीको पढाइ खर्च जुटाउन ८/९ वर्षअघि व्यवसाय छाडेर वैदेशिक रोजगारी दुबईमा गए पनि सोचे अनुरूप कमाइ नभएपछि फर्केर पहिलाकै पेसालाई निरन्तरता दिएँ,’ उनले भने, ‘दुबईमा पाएको दु:ख र कष्टभन्दा बरु आफ्नै ठाउँमा मिहिनेत गर्छु भन्ने लाग्यो ।’

तीन वर्षयता ठेला व्यापार छाडेर दूरसञ्चार चोकमा सानो घर भाडामा लिएर व्यापार सञ्चालन गरिरहेका छन् । व्यवसायको प्रकृति भने उही छ । धेरै वर्षदेखि उनलाई चिनेका र उनले बनाएको परिकारको स्वादका पारखीको भीड लाग्ने गर्छ । पैदल यात्रु होस् वा कारमा सवार फुल्की, टिकिया, चाट लगायतका परिकार खान उनको पसल अगाडि रोकिन्छन् । विवाह, ब्रतबन्धका बेलामा त १५–२० दिनअगावै उनी बुक भइसकेका हुन्छन् । काठमाडौंदेखि पोखरासम्म पनि पुग्छन् ।

उनले करिब ५० लाख बराबरको घर र जमिन जोडिसके । पसलमा आफूलाई सघाउन तीनजना छन् । कर कार्यालय र नगरपालिकामा नियमअनुसारको लाग्ने कर पनि तिर्ने गर्छन् । ‘छोराछोरीको शिक्षाका लागि उनको यो मिहिनेत समाजका लागि प्रेरणाको स्रोत हो,’ शिवका कक्षा ६ पढ्दाका साथी तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ल भन्छन्, ‘उनीबाट समाजले सिक्नुपर्ने कुरा धेरै छन् ।’

कान्तिपुरमा भैरहवाबाट माधव ढुंगानाले लेखेका छन् ।

प्रतिक्रिया