Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

एमडी/एमएस गर्ने डाक्टरमाथि पनि अनुसन्धान

शुक्रबार, १० असार २०७३

काठमाडौं १० असार / चिकित्सकहरूको प्लस टु वा प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्रमाथिको छानबिन तीव्र बनाएको प्रहरीले उनीहरूले अध्ययन गरेको एमबीबीएस, एमडी/एमएस तहको पनि अनुसन्धान सुरु गरेको छ।

प्लस टु वा प्रवीणता प्रमाणपत्र तहमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेले एमबीबीएस, एमडी÷एमएसको शैक्षिक प्रमाणपत्र लिँदा पनि गडबढी गरेको हुनसक्ने अनुमानका साथ प्रहरीले अनुसन्धान अघि बढाएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डीआईजी नवराज सिलवालले प्लस टु वा प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली बनाउने ९० प्रतिशतले एमबीबीएस, एमडी÷एमएसको पनि नक्कली प्रमाणपत्र बनाएको आशंकामा छानबिन अघि बढाएको बताए।

'आईएस्सीको नक्कली सर्टिफिकेट बनाउनेले एमबीबीएस एमडी/एमएसको सर्टिफिकेट पनि नक्कली बनाएका हुन सक्छन्', उनले भने, 'त्यसैले पूर्ण रूपमा छानबिन प्रक्रिया अघि बढाएका हौं।'

उनका अनुसार नेपालभन्दा पनि चीन, बंगलादेशलगायतका मुलुकका मेडिकल कलेजमा अध्ययन गरेकालाई लक्षित गर्दै छानबिन अघि बढाइएको हो। 'नेपालका मेडिकल कलेजमा अध्ययन गरेकामाथि त्यति शंका छैन।

महाराजगन्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम), काठमाडौं मेडिकल कलेज (केएमसी ) लगायतले राम्रा चिकित्सक उत्पादन गरिरहेका छन्', उनले भने, 'तर जो बाहिरबाट अध्ययन गरेर आएका छन् उनीहरूको नतिजा राम्रो छैन। त्यसबारे सत्यतथ्य पत्ता लगाउने काममा हामी जुटेका छौं।'

विदेशबाट एमबीबीएस, एमडी÷एमएस अध्ययन गरेर आएकाहरू नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्सिङ (अभ्यास अनुमतिपत्र) परीक्षामा सबैभन्दा धेरै फेल हुने गरेका छन्। सरकारले विदेशमा एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीले अब नेपालका विश्वविद्यालय वा शिक्षा मन्त्रालयले लिएको प्रवेश परीक्षा अनिवार्य गर्नुपर्ने नियमसमेत ल्याएको छ।

प्लस टु वा प्रवीणता प्रमाणपत्र नक्कली पाइएको भन्दै प्रहरीले 'इन्टरमिडियट' तहको प्रमाणपत्र प्रदान गर्ने अन्य बोर्ड, नेपाल र भारतबाट पास गरिएको एसएलसीको प्रमाणपत्रमाथि पनि छानबिन गर्ने तयारी गरेको छ।

प्रहरीले करिब एक वर्षदेखि नेपाल मेडिकल काउन्सिल र उच्चमाध्यमिक शिक्षा परिषद्सँग मिलेर चिकित्सकको शैक्षिक प्रमाणपत्रमाथि अनुसन्धान गरिरहेको हो। गत शुक्रबार र शनिबारमात्रै ३६ जना चिकित्सकलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ गरिएको थियो।

'अप्रेसन क्वाक' अभियानबाट प्रहरीले हालसम्म ५५ जना चिकित्सकलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ गरिसकेको छ। तीमध्ये १८ जना धरौटीमा छुटेका छन् भने एकजना मानिसक स्वास्थ्यमा समस्या आएपछि उपचार गराइरहेका छन्।

काउन्सिल स्रोतका अनुसार भारतको बिहार इन्टरमिडियट बोर्डबाट प्रवीणता प्रमाणपत्र उतीर्ण गरी एमबीबीएस अध्ययन गरेका करिब नौ सय चिकित्सकमाथि अनुसन्धान सुरु गरिएको छ।नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा चिकित्सक पक्राउ गर्न प्रहरीले ठूलै मेहनेत गरिरहेको समेत स्रोतले बतायो।

'कुनै निर्दोष मानिसले अनाहकमा दुःख नपाओस् र उनीहरूको प्रतिष्ठा नगुमोस् भन्नेमा सबै निकाय संवेदनशील छन्', स्रोतले भन्यो, 'यसमा धेरै आत्तिनुपर्ने छैन। राम्रो कामको सुरु गर्दा सबैले साथ दिनुपर्छ।'

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा चिकित्सक पक्राउ गर्दा प्रहरीले अराजक शैली अपनाएको भन्दै नेपाल चिकित्सक संघले विरोध गर्दै आएको छ। उसले नेपाल मेडिकल काउन्सिल आफैंले गर्नुपर्ने छानबिन प्रहरीले गरेको भन्दै आपत्ति प्रकट गरेको छ।

सरकारी चिकित्सक संघ नेपालले भने नेपाल प्रहरीको अभियानप्रति समर्थन जनाउँदै अभियानमा कुनै निर्दोष व्यक्तिको व्यक्तित्व र संस्थाको प्रतिष्ठा नष्ट नहोस् भन्नेतर्फ सचेत गराएको छ। 'स्वदेशमै सेवा गर्ने उद्देश्यले अन्य अवसर त्यागेर बसेका छौं।

समाजको सर्वाधिक संवेदनशील पेसाकर्मीको हैसियत समाज शुद्धीकरणको अभियान हामीबाटै सुरु हुनु जरुरी छ', संघका महासचिव डा. विष्णुरथ गिरीले भने।

अन्नपूर्ण पोष्टमा दीपा दाहालले लेखेकी छन् ।

प्रतिक्रिया