Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

सामाजिकमा डी र ई ल्याउनेले के गर्ने ?

शुक्रबार, १० असार २०७३

काठमाडौं १० असार / कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाका सबैजसो विषय अध्ययन गर्न एसएलसीमा सामाजिक विषयमा डी प्लस ल्याउनै पर्ने हुन्छ । डी र ई ल्याउने विद्यार्थीले ११ मा भर्ना हुन पाउँदैनन् ।

नियमित र आंशिक गरी ५ लाख ८८ हजार १ सय ५२ विद्यार्थीले एसएलसी दिएकोमा १ लाख ८५ हजार ५ सय ६४ जनाले सामाजिकमा डी र ई ग्रेड मात्रै ल्याएका छन् । त्यसमा नियमिततर्फ १ लाख १२ हजार ३६ र एक्जाम्टेडतर्फ ७३ हजार ५ सय २७ छन् । उनीहरू कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षामा भर्ना हुन पाउँदैनन् ।

यस्ता विद्यार्थीका लागि अब दुई विकल्प छन् । पहिलो, सीटीईभीटीको प्राविधिक विषय रोज्ने । दोस्रो, अर्को वर्ष फेरि १० कक्षाको परीक्षा दिने । पहिलो विकल्प रोज्नेले पनि सहजै भर्ना पाउन मुस्किल छ । किनभने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सित यस्ता २४ हजार विद्यार्थीलाई मात्रै पढाउने क्षमता छ । परिषद्का सदस्यसचिव रामहरि लामिछाने भन्छन्, ‘क्षमता बढाउन मन्त्रालयसँग छलफल भइरहेको छ ।’

सीटीईभीटीले बुधबार टीएसएलसीको प्रवेश परीक्षाको फाराम वितरणको विज्ञापन गरिसकेको छ । सीटीईभीटीले कम जीपीए र विषयगत ग्रेड ल्याउने विद्यार्थीलाई १८ महिने टीएसएलसी कोर्समा अध्ययन गराउने घोषणा गरेको छ । यसअघि सीटीईभीटीले एसएलसी पास हुने विद्यार्थीलाई पढाउने १५ र फेल हुनेलाई पढाउने २९ महिने कोर्सलाई समायोजन गरेर १८ महिने बनाउने निर्णय गरेको छ ।

सीटीईभीटीका अनुसार १५ महिने कोर्स पढाउने ३ सय ३ संस्थामा २१ हजार २ सय ९० विद्यार्थी भर्ना क्षमता छ । त्यस्तै २९ महिने कोर्स पढाउने ६८ संस्थामा ३ हजार ३ सय १५ विद्यार्थी भर्ना क्षमता छ । दुवै संस्थालाई समायोजन गर्दा यस वर्ष २४ हजार ६ सय ५ विद्यार्थी मात्रै अध्ययन गर्न सक्छन् । न्यूनतम २ जीपीए तथा अंग्रेजी, गणित र विज्ञानमा सी ल्याउने साढे १६ हजार विद्यार्थीले तीनवर्षे डिप्लोमा अध्ययन गर्ने अवसर पाउँछन् ।

०९०१०१९० ‘ओ’ सिम्बल नम्बर रहेकी ६१ वर्षीया ज्वाला विष्टले एसएलसीमा १.३५ जीपीए ल्याएकै कारण कक्षा ११ मा भर्ना नपाउने भन्दै प्राविधिकमा सहजै पढ्न पाउने व्यवस्था गरिदिन आग्रह गरिन् । ०४०१६६२ एन सिम्बल नम्बरकी अर्की विद्यार्थीले जीपीए १.६० ल्याएकी छन् । व्यवस्थापन पढ्न गणितमा सी ग्रेड हुनुपर्छ । यी विद्यार्थीको गणितमा ‘ई’ मात्रै छ । मानविकीमा पनि अधिकांश विषय पढ्न सामाजिक र गणितमा डी प्लस ग्रेड हुनुपर्छ । तर, उनको सामाजिकमा ‘डी’ ग्रेड मात्रै छ । शिक्षा समूहको ऐच्छिक विषय पढ्न सामाजिकमा कम्तीमा डी प्लस अनिवार्य गरेको छ । त्यसैले उनले पनि कक्षा ११ मा भर्ना पाइनन् । उनले कुनै सरकारी अधिकारीहरूलाई आफूले कक्षा ११ मा भर्ना नपाएको गुनासो गरे प्राविधिक विषय पढ्न सुझाव दिन्छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि ११ कक्षामा भर्ना नपाउने विद्यार्थीले प्राविधिक विषय अध्ययन गर्न पाउने आश्वासन बाँडेका छन् । तर, सामाजिक, गणितलगायत विषयमा कमजोर भएकै कारण कक्षा ११ मा भर्ना हुन नपाउने करिब दुई लाखभन्दा बढी छन् ।

शिक्षामन्त्री पोखरेलले अहिले भएका संस्थामै कोटा थपेर वा नयाँ सञ्चालन गर्न दिएर भए पनि क्षमता बढाउने बताए । यस विषयमा एक साताभित्र सीटीईभीटीको बैठकले निक्र्योल गर्ने उनले जनाए ।

प्रवेश परीक्षा दिनैबाट वञ्चित

यसैबीच राजधानीका केही विद्यालयले आफूखुसी मापदण्ड बनाएर कक्षा ११ मा भर्ना हुनुअघि लिने प्रवेश परीक्षाबाट वञ्चित गराएका छन् ।

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ मा विज्ञान समूह अध्ययन गर्न २.० जीपीए र अन्य समूहमा १.६ जीपीए तोकेको छ । अनिवार्य विषयमा कम्तीमा डी प्लस ल्याउनुपर्ने आधार बनाएको छ ।

तर, काठमाडौं, भक्तपुर र ललितपुरका केही विद्यालयहरूले परिषद्ले बनाएको भर्ना आधारलाई लत्याउँदै आफूखुसी नियम बनाएर परिषद्ले तोकेको योग्यता पुगेका विद्यार्थी प्रवेश परीक्षा दिनबाट समेत वञ्चित भएका हुन् ।

परिषद्ले विज्ञान समूह रोज्ने विद्यार्थीले विज्ञान र गणितमा सी प्लस, अंग्रेजीमा सी र सामाजिक र नेपालीमा डी प्लस हुनुपर्ने आधार बनाएको छ । ललितपुरको प्रसादी एकाडेमीले विज्ञान पढ्न कम्तीमा ३.२ जीपीए, गणित, अंग्रेजी, ऐच्छिक गणितमा बी ल्याउनुपर्ने नियम बनाएको छ । त्यस्तै अन्य विषयमा सी ल्याउनै पर्ने आधार तय गरेको छ ।

सैनिक आवासीय महाविद्यालय भक्तपुरले ३.२ जीपीए ल्याएका विद्यार्थीलाई मात्रै विज्ञान समूहमा प्रवेश परीक्षा दिन पाउने भन्दै विद्यालय बाहिर सूचना टाँस गरेको छ । सैनिक परिवारका छोराछोरीले अंग्रेजी, गणित, ऐच्छिक गणित र विज्ञानमा बी ल्याउनुपर्ने र सर्वसाधारणले अंग्रेजीमा बी, अनिवार्य गणित, ऐच्छिक गणित र विज्ञानमा बी प्लस ल्याउनुपर्ने नियम बनाएको छ । युनाइटेड एकाडेमीले विज्ञानमा ३.२ जीपीए ल्याएकालाई मात्रै फाराम वितरण गरिरहेको छ । साँगास्थित नेपाल प्रहरी विद्यालयमा विज्ञान पढ्न जीपीए २.८ ल्याउनुपर्ने आधार तय गरेको छ ।

एसओएसले न्यूनतम २.८ जीपीए, विज्ञान, ऐच्छिक गणित र अंग्रेजीमा बी प्लस, अन्य विषयमा अनिवार्य बी ल्याउनुपर्ने नियम बनाएको छ । परिषद्ले तोकेको भन्दा अर्कै आधार बनाएर फाराम पनि नदिएको अभिभावकहरूको गुनासो छ । एसओसएसका प्रधानाध्यापक विनोद बरालले गत वर्ष ७० प्रतिशतभन्दा माथि आएका विद्यार्थीले मात्रै प्रवेश परीक्षा दिन पाउने भए पनि यसपालि बी अर्थात् ६० र त्योभन्दा माथिल्लो प्रतिशत ल्याउने विद्यार्थीले पनि प्रवेश परीक्षा दिन पाउने बताए । बागबजारको केएमसीले विज्ञान विषय पढ्न २.८५ जीपीए र विषयगत रूपमा सबैमा बी प्लस ल्याउनुपर्ने आधार बनाएको छ । ट्रिनिटीले विज्ञानमा ३ जीपीए हुनुपर्ने, गणित र विज्ञानमा सी प्लस र अरू विषयमा सी ल्याउनुपर्ने आधार बनाएको छ । त्यस्तै व्यवस्थापन र मानविकीमा २.७ जीपीए र अरू विषयमा सी ग्रेड हुनुपर्ने आधार बनाएको छ । सीसीआरसीले विज्ञानमा २.८५ जीपीए र व्यवस्थापनमा २.४ जीपीए तोकेको छ ।

कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया