Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

ताला फोडी उत्तरपुस्तिका परीक्षण केन्द्र पुर्याईयो

शुक्रबार, २५ भदौ २०७२

काठमाडौं २५ भदौ / आफ्नो स्वार्थ पूरा गराउन आफूले पढाएका विद्यार्थीको भविष्य नै चौपट पार्न खोज्ने शिक्षकहरूको योजनालाई परीक्षा नियन्त्रण कार्यालयले बिहीबार असफल तुल्याइदिएको छ ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा आन्दोलनमा उत्रिएका शिक्षकहरूले एसएलसी पूरक परीक्षाको उत्तरपुस्तिका परीक्षण नै गर्न नदिई केही परीक्षण केन्द्रमा तालाबन्दी गर्दै आएका थिए ।

तालाबन्दीले गर्दा केही जिल्लाको उत्तरपुस्तिका परीक्षण नै हुनसकेको छैन । लगातारको तालाबन्दीले पूरक परीक्षाको नतिजा समयमा सार्वजनिक हुन नसक्ने र त्यस्तो भएमा उत्तीर्ण हुने विद्यार्थीले यसै पटक कलेजमा भर्ना हुन नसक्ने हुँदा पनिकाले बिहीबार महासङ्घले लगाएको ताला नै फोडेर उत्तरपुस्तिका सानोठिमीस्थित परीक्षण केन्द्रमा पु¥याएको छ ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले नतिजा सार्वजनिक गर्ने समय घर्किन लागेको र तालाबन्दीले गर्दा उत्तरपुस्तिका परीक्षणमा असर पुगेकोले काठमाडौँ तथा ललितपुरको परीक्षण केन्द्रबाट बिहीबार ताल्चा फोडेर उत्तरपुस्तिका ल्याइएको जानकारी दिनुभयो ।

यस अघि पनिकाले पाल्पा, तनहुँ लगायतका जिल्लाबाट पनि ताल्चा फोडेर उत्तरपुस्तिका सानोठिमीमा ल्याएको थियो ।

विगतमा सरकारले सहमति गरेका माग तत्काल पूरा गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिएको महासङ्घ आवद्ध शिक्षक नेताहरू पनिकामा नै गई उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनसम्बन्धी काम बिथोल्नसक्ने भएकोले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

पनिकामा बिहीबार झापाबाट केही जिल्लाका उत्तरपुस्तिका ल्याइएको छ भने मोरङ र सुनसरीको उत्तरपुस्तिका ल्याउन बाँकी नै छ ।

तराईमा भएको आन्दोलनका कारण धेरै जिल्लाबाट हवाइ माध्यमबाट उत्तरपुस्तिका ढुवानी गर्नुपरेको छ ।

परीक्षा नियन्त्रक द्वारेले आफूले कसैको धम्की र दबाबमा काम नगर्ने, बरु विद्यार्थीको भविष्यप्रति चिन्तित हुँदै ताल्चा फोडेर भएपनि उत्तरपुस्तिका ल्याउने काम गरेको बताउँदै भन्नुभयो, “अब बाँकी उत्तरपुस्तिका तीन दिनभित्र परीक्षण गरिसक्छौँ ।”

पनिकाले बिहीबारबाटै विषय विशेषज्ञ शिक्षकलाई प्रयोग गरी उत्तरपुस्तिका परीक्षण सुरु गराएको छ र बिहान छ बजेदेखि साँझ अबेरसम्म उत्तरपुस्तिका परीक्षण गराइएको छ ।

गत साउन २० देखि २७ गतेसम्म सञ्चालन भएको एसएलसी पूरक परीक्षामा एक लाख २४ हजार २५१ परीक्षार्थीले परीक्षा दिएका थिए ।

नतिजाबारे चासो राख्दै विद्यार्थी तथा अभिभावकले दैनिक सयौँ टेलिफोन पनिकामा गर्ने गरेका छन् । पनिकाका कर्मचारीहरू त्यसको उत्तर दिँदादिँदा हैरानै भइसकेका छन् ।

एक महिनाभित्र परीक्षाको नतिजा प्रकाशित गर्ने चलन भएपनि शिक्षकहरूका कारण केही दिन ढिला हुन पुगेको छ । उहाँले भदौ मसान्तभित्र परीक्षाफल सार्वजनिक गरिछाड्ने बताउनुभयो ।

गोरखापत्रमा प्रकृति अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया