Edukhabar
शनिबार, ०१ मंसिर २०८१
खबर/फिचर

ग्रेडिङ्ले विद्यार्थी अभिभावकलाई भन्दा शिक्षा मन्त्रालयलाई फाईदा

विहीबार, ०९ असार २०७३

काठमाडौं - विद्यार्थीको क्षमता मापन गर्ने राम्रो विधि हुँदा हुँदै पनि यस पटकको एसएलसी ग्रेडिङ्ले विद्यार्थी अभिभावकलाई भन्दा शिक्षा मन्त्रालयलाई फाईदा पुगेको विज्ञहरुले निष्कर्ष निकालेका छन् ।  यस भन्दा अघि सामुदायिक र निजीमा कति विद्यार्थी उत्तिर्ण भए भन्ने तुलनात्मक तथ्याङ्कका कारण हैरान बनेको शिक्षा मन्त्रालयलाई यसपटक त्यो झण्झट नभएको उनीहरुको तर्क छ ।

मार्टिन चौतारीले गरेको छलफलमा बोल्दै शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले सामुदायिकको स्तर खस्क्यो भन्दै हुने आलोचना ग्रेडिङ्का कारण सुन्न नपरे पछि मन्त्रालयका अधिकारीहरुलाई सञ्चो भएको बताए । 'ग्रेडिङ्ले विद्यार्थी अभिभावकलाई भन्दा शिक्षा मन्त्रालयलाई फाईदा पुगेको छ' उनले भने, 'अव शिक्षामा धेरै अनुदान आउँछ ।'

त्रिभुवन विश्वविद्यालयको समेष्टर प्रणाली दाताकै कारण लागू भएको दृष्टान्त दिदैं अर्की शिक्षाविद् डा. शुसन आचार्यले ग्रेडिङ् पनि यस्तै प्रभावमा परेको अड्कल काटिन् । विद्यार्थीको मापनको विश्वब्यापी आधार भए पनि पर्याप्त गृहकार्य विना लागू गरिदाँ विद्यार्थी अभिभावक अलमलमा परेको उनीहरुको धारणा थियो ।

कक्षा ११ मा कस्ता विद्यार्थी भर्ना हुने भन्ने निर्णय एसएलसी नतिजा आउनु अघिल्लो दिन रातारात सार्वजनिक गर्दा अभिभावक र विद्यार्थीमा आवश्यक सञ्चार नभएको उनीहरुले बताए । यसले झन् धेरै अलमल भएको कार्यक्रमका सहभागिको धारणा थियो ।

मन्त्रालयका प्रवक्ता डा. हरी लम्सालले ग्रेडिङ्मा कुनै पनि दाता वा विदेशको प्रभाव नभएको दावी गरे । अहिलेका अलमल ग्रेडिङ् पद्धती भन्दा पनि कक्षा ११ मा कस्ता विद्यार्थी पढ्न पाउने नपाउने भन्ने कुराले भएको स्विकार्दै मन्त्रालयबाट कमजोरी भए पनि यसलाई सबैले आआफ्ना क्षेत्रबाट बुझाउन सहयोगको आग्रह गरे ।

परीक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रीले ग्रेडिङ् नित्तान्त सरकारको खर्चमा भएको   भन्दै यसमा देखिएका कमी कमजोरी सुधार गर्दै जाने प्रतिवद्धता ब्यक्त गरे ।

प्रकाशित मिति २०७३ असार ९ गते

प्रतिक्रिया