Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

नक्कली चिकित्सकको सम्पत्ति खोजिँदै

विहीबार, ०९ असार २०७३

काठमाडौं ९ असार / प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर ठगी गरेको अभियोगमा पक्राउ गरी हिरासतमा राखिएका ३६ जनाको सम्पत्तिको खोजी सुरु गरेको छ । आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक हुँ भन्दै ठगी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका ३६ जनाको बिगो कायम गर्न अनुसन्धानमा संलग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूको सम्पत्ति विवरण संकलन सुरु गरेको हो ।

गत माघमा पक्राउ परेका १७ चिकित्सकले नक्कली चिकित्सकका रूपमा काम गरी ठगी गरेको रकम नखुलाउँदा १६ जना न्यून धरौटीमा मुक्त भएका थिए । दोस्रो अपरेसनमा पक्राउ परेकाहरूले गरेको ठगीको रकम नखुलाउंँदा सामान्य धरौटीमा मुक्त हुने देखिएपछि प्रहरीले उनीहरू चिकित्सक भएपछि आर्जन गरेको सम्पत्तिको विवरण संकलन थालेको हो ।

पक्राउ परेका नक्कली चिकित्सकमाथि प्रहरीले ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ । ठगीको महल २ मा टेकेर आफ्नो पहिचान ढाँटेर आफ्नो फाइदा र अरूको घाटाका लागि काम गरी ठगी गरेको अभियोग लगाएकाले कैद र सजायको मागका लागि बिगो आवश्यक पर्छ ।

ब्युरो प्रमुख डीआईजी नवराज सिलवालका अनुसार पक्राउ परेका चिकित्सकमाथिको अभियोग पुष्टिका लागि चार तहको प्रमाण संकलन भइरहेको छ । उनका अनुसार चिकित्सकका रूपमा काम गर्न उनीहरूले पेस गरेको शैक्षिक प्रमाणपत्रको वैधताको पुष्टि भइसकेको छ ।

‘उनीहरूले योबीचमा आफ्नो पहिचान ढाँटेर कति जनाको स्वास्थ्यमाथि खेलबाड गरेर कति कमाए भन्नेसमेत अनुसन्धानको दायराकै विषय हो,’ ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले कान्तिपुरसँग भने, ‘मेडिकल काउन्सिलबाट अनुमति लिएर चिकित्सकका रूपमा काम सुरु गरेको दिनदेखिको सम्पत्ति विवरण संकलन सुरु भइसक्यो ।’

ब्युरो अधिकारीका अनुसार उनीहरूविरुद्ध आएको जाहेरी, उपचारका क्रममा अंगभंग भएका वा ज्यान गुमाएको निवेदन र नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक बनेर गरेको कामको विवरण संकलनसँगै आर्थिक हैसियत र त्यसको स्रोतको खोजीलाई समेत ब्युरोले अनुसन्धानको दायरामा ल्याएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकका रूपमा कार्यरत रहेकाहरूमध्ये १५ वर्षदेखि विभिन्न संस्थामा चिकित्सकका रूपमा काम गरेकाले उनीहरू संलग्न भएको संस्था, हैसियत र त्यहाँ काम गर्दा उनीहरूविरुद्ध कुनै लिखित उजुरी आएको छ या छैन भन्ने पाटो समेत केलाइरहेको सिलवालले बताए ।

सिलवालका अनुसार पक्राउ परेका ३६ सै चिकित्सकविरुद्ध ठगीको जाहेरी आइसकेको छ । त्यसमा थप केही चिकित्सकविरुद्ध उपचारका क्रममा लापरबाही गरेर अंगभंग गराएको निवेदनसमेत आएको छ । स्रोतका अनुसार नर्भिक अस्पताल र बीएन्डबी अस्पतालका कार्यरत अरुणकुमार गुप्ताविरुद्ध २ वटा उजुरी आएका छन् ।

ब्युरो स्रोतका अनुसार बाथको उपचारमा संलग्न गुप्तासँग उपचार गराउँदा हात प्यारालाइसिस भएको एउटा उजुरी आएको छ भने बाथकै उपचारका क्रममा खुट्टामा इन्जेक्सन दिएको र हाल खुट्टा सुन्निएर चल्नै नसक्ने भएको मौखिम उजुरी आएको छ । अन्य चिकित्सकविरुद्ध समेत फोनमार्फत गुनासो आउनेक्रम बढेको र केही बिरामी ब्युरोको सम्पर्कमा समेत आएको ब्युरोका एक अधिकारीले जानकारी दिए ।

एक छुटे, एक थपिए

प्रहरीले शुक्रबार र शनिबार पक्राउ गरेका ३६ चिकित्सकमध्ये अर्काको काउन्सिलको नम्बर दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका भारतीय चिकित्सक जावेद अख्तर अन्सारी ५० हजार धरौटीमा छुटिसकेका छन् । अनुसन्धान सकाएर ब्युरोले उनलाई मंगलबार जिल्ला अदालत मोरङमा बुझाएकोमा अदालतले प्रारम्भिक सुनुवाइमा निर्दोष नदेखिएको भन्दै पछि ठहरिएअनुसार हुने गरी ५० हजार धरौटी मागेपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भए ।

ब्युरोले मंगलबार सहोदर अस्पताल लमजुङमा कार्यरत शिवराम श्रीमललाई लमजुङबाट पक्राउ गरेको थियो । ब्युरोले उनलाई बुधबार जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद लिएर हिरासतमा राखेको छ । उनीमाथि समेत प्रहरीले एमएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर ठगी गरेको अभियोग लगाएको छ ।

ब्युरो स्रोतका अनुसार मंगलबार पक्राउ परेका चिकित्सकबाहेक अन्य ३५ जनाको बयान सकिइसकेको छ । बयानमा अधिकांशले प्रमाणपत्र नक्कली रहेको तर, एमबीबीएस र एमडीको सक्कली रहेको दाबी गरेका छन् ।

‘कतिले एमबीबीएस पढ्न आवश्यक प्रतिशत नआएपछि प्रमाणपत्रमा आफैंले सच्याएर प्रतिशत पुर्‍याएको स्विकारेका छन् । कतिले परिवारको दबाबमा नक्कली प्रमाणपत्र किनेर एमबीबीएस पढेको बयान दिएका छन्,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो, ‘शैक्षिक प्रमाणपत्र नक्कली पुष्टि भइसके पनि केहीले अझै स्विकारेका छैनन् ।’

विहारपछि उत्तर प्रदेश र दिल्लीको अनुसन्धानविहार बोर्डबाट आईएस्सीको प्रमाणपत्रका आधारमा एमबीबीएस र एमडीको प्रमाणपत्र पेस गरी चिकित्सकको अनुमति लिएकाहरूको अनुसन्धान टुंगिएको ब्युरो स्रोतले जानकारी दियो ।

विहार बोर्डको करिब ९ सय शैक्षिक प्रमाणपत्रको अध्ययनमा एक सय ७ जनाको प्रमाणपत्र नक्कली रहेको खुलेको थियो ।
बिहार बोर्डबाट शैक्षिक प्रमाणपत्र लिएकाहरूको अनुसन्धान लगभग टुंगोमा पुर्‍याएको ब्युरोको टोली भारतको नयाँदिल्ली र उत्तर प्रदेशको शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेकाहरूको प्रमाणपत्रको पुस्ट्याइँमा केन्द्रित भएका हुन् ।

‘नेपाल मेडिकल काउन्सिलबाट अनुमति पाएका सबै चिकित्सकको प्रमाणपत्रको प्रमाणीकरणको प्रक्रियालाई अगाडि बढाइसकेका छौं,’ डीआईजी सिलवालले भने, ‘नेपाल र नेपाल बाहिरको जति प्रमाणपत्रहरू छन्, ती सबै अनुसन्धानको दायरामा छन् ।’

कान्तिपुरमा केपी ढुङ्गानाले लेखका छन् ।

प्रतिक्रिया