Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

नेपाल सहित ५ देशको अध्ययन : विपद् पछि बालबालिकाको शिक्षा राज्यको प्राथमिकतामा परेन

बुधबार, ०८ असार २०७३

काठमाडौ - भूकम्प पछि बालबालिकाको शिक्षा राज्यको प्राथमिकतामा नपरेको एक अध्ययनले निष्कर्ष निकालेको छ । भूकम्प भएको एक वर्ष नाघिसक्दा पनि केही हप्ता वा महिनाका लागि मात्र तयार पारिएका अस्थायी सिकाई केन्द्रमै बालबालिका पढ्न बाध्य हुनु यसको उदाहरण भएको उक्त अध्ययनको निष्कर्ष छ ।

सामाजिक संस्था सेभ द चिल्ड्रेनले प्राकृतिक विपद् पश्चात शिक्षाको अवस्थाबारे नेपाल सहित विभिन्न ५ देशमा अनुसन्धान गरेको थियो । शिक्षाको क्रमभंगता शिर्षकमा सार्वजनिक प्रतिवेदनमा मानवीय सहायताको केवल दुई प्रतिशत रकम मात्र शिक्षामा लगानी भएको उल्लेख छ ।

भूकम्पले नेपालका लगभग ३२ लाख बालबालिकाहरुलाई शारीरिक र मानसिक असर पारेको भनदै उक्त प्रतिवेदनले ८ लाख ७० हजार बालबालिका स्थायी कक्षाकोठा विहिन बनेका उल्लेख गरेको छ । यस बाहेक ५ लाख बालबालिकालाई कक्षाकोठामा फर्किन थप सहयोगको आवश्यकता रहेको भन्दै प्रतिवेदनमा भनिएको छ  यसले गर्दा यी बालबालिकाको पूरै शैक्षिक वर्षमा नै नकारात्मक प्रभाव प¥यो ।
सेभ द चिल्ड्रेनले नेपाल सहित फिलिपिन्स, भानुआटु, बर्मा र ईण्डोनेसियाको प्राकृतिक विपद् पछि बालबालिकाको शिक्षाका बारेमा अध्ययन गरेको जनाएको छ ।

'विपद्कै कारण हाम्रा बालबालिकाको मृत्यु हुने, नोक्सानी हुने वा शैक्षिक अवसरहरुबाट वञ्चित हुने अवस्था छ' सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक डेलाइला बोर्जाले भनिन्, 'एसिया विश्वकै सबैभन्दा विपद्को जोखिममा रहेको क्षेत्र हुनाले वर्षेनी लगभग २० करोड बालबालिकाहरुको जीवनमा व्यवधान उत्पन्न हुन्छ । हामीले यी बालबालिकाहरुको शिक्षामा ध्यान दिन अति आवश्यक छ र यसका लागि शैक्षिक क्षेत्रलाई विपद्बाट सुरक्षित राख्न प्रशस्त पहल गर्नुपर्छ ।

सेभ द चिल्ड्रेनले अझै पनि विपद्ले शिक्षामा पार्ने असरका बारेका पर्याप्त जानकारीको अभाव भएको समेत फेला परेको उल्लेख छ । जसले आधिकारिक तथ्याङ्क संकलन र विश्लेषणमा कमी भएको देखाउँछ । 'यो प्रतिवेदनको माध्यमबाट सेभ द चिल्ड्रेनले विश्वव्यापी रुपमा सरकारहरुलाई कुनै पनि विपद् पश्चात विद्यार्थीहरुको एक दिनको सिकाइ पनि छुट्न नदिन र कुनै बालबालिकाका पनि असुरक्षामा नपर्ने अवस्था सुनिश्चित गर्न आह्वान गर्दैछ' बोर्जाले भनिन् ।

प्रकाशित मिति २०७३ असार ८ गते

प्रतिक्रिया