Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

छात्राको प्रेममा परेका शिक्षकले होस गुमाउँदा...

बुधबार, ०८ असार २०७३

काठमाडौं ८ असार / डोटीको पचनाली गाविसको तलकोटकी युवती मीना साउदको उनकै घरमा डेरा गरी बस्दै आएका शिक्षक लालबहादुर चन्दले गोली हानेर हत्या गरेको खुलासा भएको छ ।

क्षेत्रीय प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार, बैतडीको शर्माली गाविस वडा नंं १ घर भई पचनाली गाविसको हरिहर उच्च माविमा कार्यरत शिक्षक चन्दले मीना साउदको गोली हानेका हुन् ।

जेठ २८ गते बेलकी खाना पकाइरहेका बेला डोटको पचनाली गाविस–६ तलकोटकी २० वर्षिया युवती मीना साउदको गोली हानी हत्या गरिएको थियो ।

२८ वर्षीय चन्द २०६७ साल देखि हरिहर उच्च माविमा शिक्षक थिए । मीनाले सोही स्कुल कक्षा ८ मा पढिरहेका बेलादेखि नै चन्दले मीनालाई मन पराउने गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।

एलएससी पछि आईएड र बीएडमा भर्ना हुनका लागि चन्दले पढाई खर्च दिँदै आएको खुलेको सुदूरपश्चिम क्षेत्रका डिआईजी विजयराज भट्टले बताए ।

धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा विएडमा भर्ना भएपछि मीनाले अरुलाई नै मन पराउन थालेको थाहा पाएर तनावमा आएका चन्दले कञ्चनपुरको बेलौरी हुँदै भारत गएर ८० हजारमा १२ राउन्ड गोलीसहितको पेस्तोल किनेका अनुसन्धानबाट खुलेको छ ।
जेठ २८ गते राति मीनाले घरमा खाना बनाइरहेका बेला चन्दले सोही पेस्तोलले हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । चन्दमाथि मीनाको हत्या भएदेखि नै क्षेत्रीय प्रहरीको क्षेत्रीय अनुसन्धान टोली (आरआईटी) को टोलीले निगरानी बढाएको थियो ।

मीनालाई गोली हानेको पेस्तोल, त्यसको केही राउन्ड गोली र पेस्तोल चलाउँदा प्रयोग ग्लोबसहितको सामाग्री पनि प्रहरीले हरिहर उच्च मावि परिसरमा लुकाएको अवस्थामा सोमबार बरामद गरेको छ ।

चन्दले यसअघि पनि मीनालाई गोली हान्न किनेको रिभल्वरबाट फायर नभएपछि दोस्रो पटक भारतबाट ८० हजारमा पेस्तोल किनेको प्रहरीलाई बयान दिएका छन् ।

हतियार बनाएको भन्दै कैलालीको फूलबारीबाट पक्राउ पक्रेका सन्तराम विकले डोटीका शिक्षकको पनि पेस्तोल मर्मत गरेको बयान दिएपछि प्रहरीलाई चन्दबारेमा थप प्रमाण बटुल्न सहयोग मिलेको थियो ।

पहिलो पटक किनेको रिभल्वर नचलेपछि उनले मर्मतका लागि फूलबारीका सन्तराम विकलाई दिएका थिए । सन्तरामले डोटीका शिक्षकको पनि रिभल्वर मर्मत गरेको कैलाली प्रहरीलाई बयान दिएपछि डोटी प्रहरीले उनलाई सोमबार रातारात डोटी लगेको थियो ।

सन्तरामले तलकोटस्थित मृतक मीनाको घरमा बस्दै आएका चन्दले नै रिभल्वर दिएको भन्दै सनाखत गरेपछि प्रहरीले चन्दलाई पक्रेको डिआईजी भट्टले बताए ।

अन्नपूर्ण पोष्टमा शिवराज भटले लेखेका छन् ।

प्रतिक्रिया