Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

कक्षा ११ मा छात्रवृत्ति पाउन कति चाहिन्छ जीपीए ?

मंगलबार, ०७ असार २०७३

काठमाडौं – कक्षा ११ मा छात्रवृत्ति पाउन अनिवार्य तीन विषयमा न्युनतम ‘डी प्लस’ ल्याउनु पर्ने भएको छ । पहिलो पटक सार्वजनिक भएको गे्रडिङ प्रणालीको नतिजा अनुसार अनिवार्य तीन विषय अंगे्रजी, विज्ञान र गणितमा जीपीए १ दशमलव ६ ल्याएको हुनुपर्ने गरी उच्च माध्यमिक शिक्षा परिषद्ले नियम बनाएको हो ।

उच्च माध्यमिक विद्यालय सञ्चालन निर्देशिका अनुसार निजी उच्च माध्यमिक विद्यालयले परिषद्को सिफारिसका आधारमा ३ प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति उपलब्ध गराउनु पर्ने हुन्छ । विद्यालय आफैंले भने यो सहित १० प्रतिशत छात्रवृत्ति दिनु पर्ने ब्यवस्था छ ।

देशभर करिब ३६ सय उच्च मावि सञ्चालनमा छन् । त्यसका लागि छात्रवृत्तिमा पारदर्शिता अपनाउन परीक्षा संचालन गरेर प्रक्रिया पुरा गरेका सहभागी विद्यार्थीलाई सिफरिश गर्ने गरेको छ । विगत बर्षहरुमा श्रेणीमा आधारित विद्यार्थीलाई प्रतिशत अंकका आधारमा प्रर्तिष्पर्धा गर्न पाउने ब्यवस्था थियो । यस बर्ष ग्रेडिङको न्युनतम अंकलाई आधार बनाएर साउन १ गते देश भर एकै समयमा परीक्षा संचालन गर्न लागेको छ । त्यसका लागि असार २७ गतेसम्म जिल्ला शिक्षा कार्यलयमा फारम बुझाउन आग्रह गरिएको छ ।

विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीले सी प्लस ग्रेड र न्युनतम अंक २ दशमलव शून्य  ल्याएका हुनुपर्ने प्रावधान बनाएको छ । त्यसैगरी व्यवस्थापन, मानविकी र शिक्षा संकाय अन्र्तगत डी प्लस र न्युनतम अंक १ दशमलव ६ ल्याएका विद्यार्थी परीक्षमा सहभागी हुन पाउने भएका छन् ।

परिषद्ले विद्यार्थीको प्रवेशिकाको प्राप्तांक र छात्रवृत्ति परीक्षाको प्राप्तांकलाई आधार मानेर विद्यार्थी छनोट गर्र्ने जनाएको छ । परिषद्का ११ क्षेत्रीय कार्यलयबाट विद्यार्थीले फारम प्राप्त गर्न सक्नेछन् । जिल्ला स्थित शिक्षा कार्यलयले तोकेको केन्द्रमा छात्रवृत्तिका लागि परीक्षा हुने भएको छ । उत्र्तिण विद्यार्थीका संख्याका आधारमा परिषद्ले देशभरका निजी तथा सामुदायिक उमाविहरुमा सिफारिश गर्नेछ ।

विगतमा पनि यसरी नै परीक्षा लिएर छात्रवृत्तिका लागि सिफारिस गरे पनि निजी उमाविले शेयरधनी र उनीहरुका निकटका आफन्तका सन्तालाई उच्च प्राथमिकताका साथ छात्रवृत्ति सुबिधा उपलब्ध गराउदै आएको छ । निजी उमाविमा परिषद्का कर्मचारीसँगको मिलोमतोमा छात्रवृत्ति वितरण हुने गरेको छ । परिषद्को छात्रवृत्ति वितरण पारदर्शी र विश्वसनीय नभएको भन्दै आलोचना हुँदै आएको छ ।
गतबर्ष कैलालीबाट राजधानी अध्ययन गर्न आएका अभिषेक मल्लले राजधानीको एक कलेजले छात्रवृत्तिको लोभ देखाएर भर्ना गराए पनि पछि २ जनालाई बाँड्नु परेको जनाउदै आधा शुल्क तिुर्न परेको गुनासो गरेका थिए । 

परिषद्ले  छात्रवृत्ति बैंक बनाएर पारदर्शी पूर्ण तरिकाले वितरण गर्दैं आएको दावी गरेको छ ।

प्रकाशित मिति २०७३ असार ७ गते

प्रतिक्रिया