Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

नक्कली शैक्षिक प्रमाणपत्र: पक्राउ पर्ने डरले १८ पाइलटले जागिर छाडे

मंगलबार, ०७ असार २०७३

काठमाडौं ७ असार / एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानबिन बढाएपछि विभिन्न एयरलाइन्स कम्पनीमा कार्यरत पाइलटले धमाधम राजीनामा दिन थालेका छन् । दुई महिनामा २२ जनाले राजीनामा दिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गोमा एयरका को–पाइलट विशाल कार्कीलाई पक्राउ गरेको थियो । आइएस्सी फेल भएपछि उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी पास गरेको नक्कली सर्टिफिकेट बनाएर पाइलट पढेका थिए । अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गरिसकेको छ । कार्की पक्राउ परेपछि पाइलटहरूले राजीनामा दिन थालेको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए ।

चिकित्सा क्षेत्रमा आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबिबिएस पढेजस्तै पाइलट पेसामा पनि त्यस्तै प्रवृत्ति देखिएको थियो । एकजना पक्राउ परेपछि अरूले पनि धमाधम राजीनामा दिएका हु्ुन् । डिआइजी सिलवालले नक्कली प्रमाणपत्रधारी पाइलटहरूमाथि पनि अनुसन्धान भइरहेको बताए । ‘यस्ता संवेदनशील पेसामा शुद्धीकरण हाम्रो प्रमुख उद्देश्य हो,’ डिआइजी सिलवालले भने, ‘चिकित्सक तथा पाइलट पेसामा नक्कली प्रमाणपत्र भएकाहरू अब रहनेछैनन् ।’

पाइलट मात्र नभई कतिपय चिकित्सकसमेत जागिर छाडेर विदेश जान थालेको स्रोत बताउँछ । हालसम्म सिआइबीले करिब एक हजार पाँच सय चिकित्सकको शैक्षिक प्रमाणपत्र आधिकारीकता जाँच गरेकोमा करिब एक सय ५० जनाको आइएस्सीको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । जसमध्ये ५३ जना पक्राउ परिसकेका छन् । शुक्रबार मात्र सिआइबीले ३६ जनालाई पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ ।

पैसाको भरमा डाक्टर

स्याङ्जाका डा. बुद्धिमान श्रेष्ठ बाँसबारी रोडमा स्कुल अफ डेन्टल साइन्स चलाउँथे । तर, उनलाई आफैँ डाक्टर हुने इच्छा जाग्यो । भारतको सरला सत्यनारायण यादव कलेजमा आइएस्सीमा भर्ना भए । अरूलाई नै परीक्षा दिन लगाएर पास गरे । तर, नम्बर नपुगेपछि सोही कलेजको नाममा नक्कली सर्टिफिकेट बनाए । त्यसैको आधारमा ललितनारायण मिथिला विश्वविद्यालयमा भर्ना भए । नेपालमै बसेर उनले बिडिएस उत्तीर्ण गरे ।
अरूलाई नै परीक्षा दिन लगाएर उनी डाक्टर बने । पछिल्लो समय उनी एमडिएस पनि पढिरेहका थिए । एमडिएस पढ्न आवासीय भएर अध्ययन/अध्याापन गराउनुपर्छ । तर, उनी आफ्नो कलेजको काम गरेर परीक्षा उत्तीर्ण गरिरहेका थिए ।

‘पैसाकै भरमा उनी डाक्टर बनेको देखिन्छ,’ सिआइबीका एक अधिकारीले भने । कान्तिपुर मेडिकल कलेजबाटै प्रशस्त पैसा कमाएकाले उनको उच्च तहको राजनीतिक पहुँच छ । उनी एमालेको स्वास्थ्य विभागमा कार्यरत छन् । उनी गत संविधानसभामा सभासद्का लागि सिफारिससमेत भएका थिए ।
पक्राउ परेकाहरू धेरैजसो पैसाकै भरमा डाक्टर बनेका हुन् । ‘जसरी पनि डाक्टर बन्नुपर्छ भन्ने सोचअनुसार नक्कली सर्टिफिकेटका आधारमा डाक्टर बनेको देखिन्छ,’ सिआइबीका डिआइजी सिलवालले भने ।

कारबाहीबारे प्रस्ट कानुन छैन

सुरुमा १३ जना नक्कली प्रमाणपत्रधारी चिकित्सक पक्राउ पर्दा प्रहरीले ठगी मुद्दामा अदालतबाट म्याद थप गरी हिरासतमा राखेको थियो । तर, पछि मुद्दा चलाउँदा नेपाल मेडिकल काउन्सिल ऐन ०२० अनुसार मुद्दा चलाइयो । पक्राउ परेका सबैजना सामान्य धरौटीमा छुटे । मेडिकल काउन्सिल ऐनअनुसार चिकित्कसलाई थुनामा राखेर अनुसन्धान गर्न मिल्दैन । त्यसकारण सिआइबीले पछि पक्राउ गरी तारेखमा राखेर मुद्दा चलाएको थियो ।
यसपटक पक्राउ परेका चिकित्सकहरूलाई फेरि ठगी मुद्दामै कारबाही अघि बढाइएको छ । ‘महान्यायाधिवक्ता कार्यालयले ठगी मुद्दा नै आकर्षित हुने निर्णय गरेपछि हामीले ठगी मुद्दामा कारबाही अघि बढाएका हौँ,’ डिआइजी सिलवालले भने । मेडिकल काउन्सिलले पक्राउ परेकामाथि ठगी मुद्दामा जाहेरी दिएको छ ।

चिकित्सकहरूले भने उनीहरूलाई मेडिकल काउन्सिल ऐनअनुसार कारबाही गर्नुपर्ने र थुनामा राख्न नपाउने भन्दै दबाब दिएका छन् । नक्कली प्रमाणपत्रधारी चिकित्सकले गरेको उपचारबाट धैरैको स्वास्थ्यमा गम्भीर असर परेको हुन सक्ने भन्दै उजुरी दिन सिआइबीले आग्रह गरेको छ । नक्कली प्रमाणापत्रधारी चिकित्सकलाई कारबाही गर्ने प्रष्ट कानुन नहुँदा उनीहरूलाई कडा कारबाही हुन सकेको छैन ।

आइओएममा पढेका पनि नक्कली

शुक्रबार पक्राउ परेका ३६ जनामध्ये चारजनाले नेपालकै मेडिकल कलेजबाट एमबिबिएस पढेका छन् । जसमध्ये नेसनल मेडिकल कलेजमा कार्यरत इशाहुल हकले त्रिविको आइओएमबाट पाँच वर्षअघि एमबिबिएस पूरा गरेका हुन् । त्यस्तै, पक्राउ परेकी विनिता मण्डलले नेपाल मेडिकल कलेज जोरपाटी, श्रीराम घिमिरेले युनिभर्सल मेडिकल कलेज तथा दिनेश साहले कलेज अफ मेडिकल साइन्स भरतपुरबाट एमबिबिएस उत्तीर्ण गरेका हुन् ।
पक्राउ परेका अन्य ३१ जनाले चीन, पाकिस्तान, बंगलादेश, भारत, रसिया, युक्रेन, काजकिस्तानलगायतका देशमा एमबिबिएस पढेका हुन् ।

यसैबीच, पक्राउ परेका चिकित्सकका परिवारले गैरकानुनी रूपमा पक्राउ गरेको दाबी गरी सोमबार सर्वाेच्चमा रिट हालेका छन् । सर्वाेच्चले पक्राउ परेकालाई उपस्थित गराउन आदेश दिएको छ ।

नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन् ।

प्रतिक्रिया