Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

पक्राउ परेका अधिकाँश डाक्टर 'विहारका प्रमाणपत्रधारी'

सोमबार, ०६ असार २०७३

काठमाडौं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली प्रमाणपत्रका आधारमा डाक्टर भएका ३६ जनाको नाम सार्वजनिक गरे पछि अहिले चिकित्सकहरु बारेमा कुन तहको नक्कली प्रमाणपत्र हो ? भन्ने सोधखोजको बिषय बनेको छ । सोधखोज संगै यी मध्ये अधिकाँशसंग भारतको बिहार वोर्डबाट (प्रमाणपत्र) आईएस्सी तहको प्रमाणपत्र खरिद गरेर ल्याएको खुल्न आएको छ ।

भारत कै अन्य बोर्डका प्रमाणपत्र छानविन सँगै नक्कलीहरुको संख्या बढ्ने अनुमान गरिएको छ । नेपालमा भारतका बिभिन्न बोर्डका शैक्षिक प्रमाणपत्रले समकक्षता पाउँछन् । विहार बोर्ड, युपी बोर्ड, सिवीएसी लगायतका थुप्रै बोर्डबाट अध्ययन गरेका विद्यार्थीले समकक्षताको मान्यता पाउने गरेका छन् । त्यसैको फाईदा उठाउँदै भारतमा समेत बदनाम रहेको विहार बोर्डका प्रमाणपत्रले कुनै बेला नेपालमा शैक्षिक व्यापारको रुप धारण गरेको थियो । जुनकुरा यति वेला पुष्टी भएको छ । नेपालका निजामती र सुरक्षा निकायमा समेत यस्ता नक्कली शैक्षिक प्रमाण पत्रधारीको विगविगी छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप अनुसान्धान जारी रहेको भनिरहेका बेला नेपाल मेडिकल काउन्सिल स्रोतले नाम सार्वजनिक भएका चिकित्सक प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र भएको आधारमा पक्राउ गरेको जनाएको छ । सिआईबीले उच्च माध्यमिक शिक्षा परिषद् र काउन्सिलसँगको समवन्यमा चिकित्सकहरुको शैक्षिक प्रमाणपत्र छानबिन गरिरहेको छ ।

अहिलेसम्म पक्राउ परेका चिकित्सक विहार बोर्डका नामबाट प्रमाणपत्र खरिद गरेर ल्याईएका फेला परेको काउन्सिलका एक पूर्व सदस्यले बताए । उनले भने ‘भारत कै अन्य बोर्डका शैक्षिक प्रमाणपत्रहरुमा छानबिन जारी रहेको छ ।’ प्रहरीका अनुसार शंकास्पद १ हजार भन्दा धेरै चिकित्सकको प्रमाणपत्र छानबिन जारी छ ।

काउन्सिलले चिकित्सकका प्रमाण–पत्रका बारेमा शंका गरे पनि छानबिन गरेर तथ्य बाहिर ल्याउन सकेको थिएन । सिआईबीले पहिलो पटक आँट गरेर यस्तो अप्रेशन चलाएको हो । अधिकाँश चिकित्सक एमबीबीएस अध्ययन गरेका भए पनि उनीहरुको प्रमाण पत्र तहको शैक्षिक प्रमाण पत्र नक्कली भेटिएको हो ।  प्रमाणपत्रको अध्ययन प्रमाणपत्र भारतको र एमबीबीएस चीन, भारत, बंगलादेश लगायतका देशमा अध्ययन गरेकाहरु छन् । सन् २००८ अघि सम्म विदेशमा एमबीबीएस अध्ययन गर्नेहरुलाई नियामक निकाय नेपाल मेडिकल काउन्सिलले नियमन गर्ने प्रावधान नै थिएन । विदेशमा अध्ययन पुरा गरेर फर्किए पश्चात उनीहरुले काउन्सिलको परीक्षा उत्र्तिण गरे पुग्थ्यो । त्यस्ता विद्यार्थी विदेशमा अध्ययन गरेर फर्किए पश्चात काउन्सिलको परीक्षामा एउटै विद्यार्थी १९ पटकसम्म फेल भएका उदाहरण काउन्सिलमा छन् । सन् २००८ पछि भने अध्ययन गर्न जानु अघि अनुमति पत्र लिनु पर्ने प्रावधान बनाएको छ ।

सामान्य प्रक्रिया पुरा गरेपछि काउन्सिलले त्यस्ता विद्यार्थीलाई उक्त लेटर उपलब्ध गराउदै आएको विगत छ । डा. गोविन्द केसीको पटक पटको अनसन पश्चात सरकारले चिकित्सा शिक्षा सुधार गर्न शुरुवात गरे पछि यस बर्ष देखि अनिवार्य रुपमा नेपालका विश्वविद्यालय वा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रवेश परीक्षा उत्र्तिण गर्नु पर्ने प्रावधान बनाएको छ ।

अहिले पक्राउ पर्ने चिकित्सकहरु अधिकाँश सन् २००८ भन्दा अघिका रहेको काउन्सिलका निलम्बित प्रवक्ता डा.कृष्ण अधिकारीले बताए । उनले भने ‘उनीहरुको प्रमाण पत्र तहको शैक्षिक प्रमाण पत्र मात्र नक्कली भेटिएको हो ।’ काउन्सिलले शुरुबाट नै आफ्नो नियमन प्रक्रियामा ध्यान नदिदाँ यस्तो समस्या आएको उनको भनाई छ ।

निजी मेडिकल कलेज सञ्चालकहरुको संस्था नेपाल मेडिकल एण्ड डेण्टल कलेज एसोसिएसनका कार्यवहाक अध्यक्ष डा. सुरेश कनौडियाले पक्राउ परेका चिकित्सकहरुको कुन तहको प्रमाणपत्र नक्कली हो सो सार्वजनिक गर्न माग गरेका छन् । ’पक्राउ परेका कतिपय चिकित्सकहरु एमवीवीएस अध्ययन गरेर नेपाल मेडिकल काउन्सिलको परीक्षा पास गरेकाहरु छन्’ उनले भने, ’त्यसैले अनुसन्धान कुन तहको प्रमाणपत्रका लागि हो स्पष्ट पार्नु पर्छ ।’

सुचना बिना आफ्ना परिवारका सदस्यलाई पक्राउ गरिएको भन्दै पक्राउ परेका चिकित्सकका आफन्त सोमबार सर्वाेच्च अदालतमा रिट दायर गर्न पुगेका छन् ।

प्रकाशित २०७३ असार ६ गते

प्रतिक्रिया