Edukhabar
शनिबार, ०१ मंसिर २०८१
विचार / विमर्श

सम्झनामा एसएलसी : एक महिना पछि नतिजा

आइतबार, ०५ असार २०७३

- उद्धव सापकोटा /  त्यस पछि उनले रेडियो बन्द गरे ।

यस्तो लाग्यो रेडियोखमात्रै होइन एसएलसी नतिजा थाहा पाउने श्रोत बन्द भयो ।

यो तीन दशक अघि २०४१ सालको कुरा । जतिबेला मैले एसएलसी दिएको थिएँ ।

बेला अहिले जस्तो थिएन । हात हातमा मोबाइलको कल्पना धेरै परको कुरा, घर घरमा रेडियो पनि थिएन । एसएलसी नतिजा रेडियोले मात्रै भन्थ्यो, कि गोर्खापत्रले छाप्थ्यो ।

गोरखापत्रमा पहुँच सम्भव थिएन । नतिजा थाहा पाउने विकल्प एउटा रेडियो नेपाल थियो । त्यो पनि अर्काको घरमा भएको रेडियोको भर परेर बस्नु पथ्यो ।

म त्यही भर पर्ने मध्येको एउटा विद्यार्थी थिएँ ।

हामी अघिका ३ व्याच विद्यार्थी एसएलसी पास भएका थिएनन् हाम्रा् विद्यालयबाट । त्यसैले हामीलाई पनि एसएलसी नतिजा धुकचुक धुकचुकनै थियो । 

एसएलसी अहिले त हाउगुजी नै छ, के के न हो ठान्ने जमात र मानसिकता अझै हटिसकेको छैन भने तीन दशक अघि त्यसको सामाजिक प्रतिष्ठा र मान्यता कस्तो थियो होला ? आँफै अन्दाज गर्न सकिन्छ ।
त्यति बेलाको यौटा मानसिकता के सम्म थियो भने एसएलसी भन्दा ठूलो परीक्षा नै हुँदैन । एसएलसी पास हुने मान्छे अरु कुनै परीक्षामा फेल नै हुँदैन ।

भन्न नै भनिन्थ्यो  :                       

स्कुल बाइ लेबर, एसएलसी बाइ चान्स

आइए बाइ लेक्चर, बीए बाइ डान्स

एसएलसी पास हुनु मेहनत र लेखाइले मात्रै होइन भाग्य सित पनि जोडिन्थ्यो ।

अझ म पढेको मकवानपुर जिल्लाको फापरबारी स्थित लोकहित मा.वि.  हामी भन्दा अगाडिका ३ वटा व्याचका विद्यार्थी एक जनाले पनि एसएलसी पास गर्न सकेका थिएनन् । ती मध्ये केही विद्यार्थी त एसएलसी दिएर फुर्सद भएका बेला  ९ र १० का विद्यार्थीलाई पढाइ रहेका शिक्षक भन्दा गतिलो पढाउने क्षमताका मानिन्थे । पढाउन सक्थे पनि  । उनीहरु पनि एसएलसी फेल भए ।

२०४१ सालमा म सहितको समूह विद्यालयको चौथो व्याच थियो । हामी १६ जना थियौं । एसएलसी दिन हेटौंडा जानु पथ्र्यो । गाउंबाट आउने विद्यार्थीलाई परिक्षा केन्द्रले खोज्न गाह्रो । कहिल्यै नदेखिएको व्यक्तिसंग बसेर परीक्षा दिन झन गाह्रो थियो । हामीले पनि त्यस्तै गाह्रोवीच परीक्षा दिएका थियौँ ।

एसएलसी सकिएको छ महिना पछि नतिजा आउँथ्यो ।  ६/ ७ महिना विद्यार्थी त्यतिकै हुन्थे । केही केही जाने वुझेका बावु आमाका छोराछोरी टाइपराइटर सिक्थे । मैले गाउँमै महिना बिताएँ । एसएलसी परीक्षा दिएको कुरा बिर्सिने बेला हुँदा छ महिना पछि बल्ल नतिजा आएको कुरा रेडियोले बतायो । र फेरि जीवनमा अर्को पल्ट एसएलसी उत्सुकता बौरिएर आयो ।

रिजल्ट छापिने गोरखापत्र गाउँघरमा आउने कुराको कल्पना होइन पत्रिका बारे नै पनि थाहा थिएन । एसएलसी नतिजाको खबर रेडियो नेपालले भन्थ्यो । खबर मात्र होइन २/ ४ दिन लगाएर पास हुनेको सिम्बोल नम्बर  पनि भन्थ्यो रेडियोले । गाउँमा न ती सबै सिम्बोल नम्बर सुनेर बस्ने फुर्सद थियो, न रेडियो सुनेर बस्ने अवसरनै थियो । सुन्दा सुन्दा अल्छेर, पट्यार र झर्को लाग्ने त्यो काम आफ्नो नम्बर आउँदा पनि सम्झिन सक्ने अवस्था रहँदैनथ्यो ।
तै पनि बेला बेला अरुको घरमा गएर रेडियो सुन्दा पनि आफ्नो सिम्बोल नम्बर कहिले आउने टुंगो हुँदैनथ्यो । धेरै जसोले आफू पास हुन्छु नै भन्ने ठान्दैन थिए र दिनभर रेडियो सुनेर बस्ने धैर्य राख्दैन थिए ।

अझ रेडियो वालाले 'बेटरी' सकिन्छ भन्दै रेडियो नै बन्द गरिदिन्थ्यो । हो एसएलसी नतिजा सुन्दा पनि रेडियो धनीले ब्याट्रि सकिन्छ भन्दै रेडियो बन्द गरिदिएका थिए । मैले आफ्नो सिम्बोल नम्बर रेडियोमा सुन्न पाएको थिइँन ।
रिजल्ट भएको कुरा त रेडियोबाट थाहा भयो, तर पास फेलको टुंगो लागेन । रेडियोले सिम्बोल नम्बर भन्यो भनेन सुन्न पाइएन । अरुलाई मेरो सिम्बोल नम्बर थाहा थिएन ।

रिजल्ट थाहा पाउन फेरि महिनौँ कुर्नु पर्ने अवस्था आयो । एसएलसी रिजल्ट जति बेला हुन्थ्यो त्यो असारको बेला हुन्थ्यो । स्कुलमा वर्षे विदा हुने भएकाले स्कुल जाने कुरै भएन । विदा पनि डेढ महिनाको हुन्थ्यो । रेडियो नसुन्नेलेअब नतिजा थाहा पाउन वर्षे बिदानै सक्नु पर्ने बाध्यता थियो ।

म पनि त्यही बाध्यतामा थिएँ ।

मैले आफु पास भएको खवर एसएलसी नतिजाको एक महिना पछि थाहा पाएँ । त्यति बेला वर्षे विदा सकिएर बल्ल स्कुल खुलेको थियो ।

त्यति बेला मौका परीक्षाको पद्यती थिएन । कम्पार्ट भनिने परीक्षाका लागि पनि एक वर्ष कुर्नु पथ्र्यो । तर ३ /४ वटा लागेको भए पनि कम्पार्ट परीक्षामा सामेल हुन पाइन्थ्यो ।

बेला बदलियो । समय सन्दर्भहरु बदलिए । प्रविधिको विकास भयो । चेतनाको विकास भयो । सञ्चार र सुविधाहरुले सूचनाको सहज पहुँच पुर्यायो ।

परिणाम एसएलसी होस् वा कुनै अरु परीक्षाको नतिजा अहिले हातहातमा हुने मोबाइल, त्यसमा अपलोड हुने एप, इन्टरनेत, एसएमएस जस्ता पद्यतीले तुरुन्ता तुरुन्ती नतिजा मात्रै थाहा हुने होइन उनीहरुले मार्कसिट समेत हेर्ने सुविधा पाइसके ।

हिजोको जस्तो महिना दिन कुर्नु पर्ने अवस्था नै छैन । गाउँ गाउँ, पाखा पाखामा हातहातमा भएको मोबाइलले व्यक्तिलाई सूचनाको सञ्जाल र संसारमा कहाँबाट कहाँ पुर्याइदियो ।

त्यही भएर होला आजको पुस्ता हिजोको भन्दा एक कदम अगाडि भएर निस्केको ।

अहिलेको पुस्ता आफ्नो मर्जीमा छ । कसैले बेटरी सकिन्छ भनेर रेडियो बन्द गर्देला र एसएलसी नतिजा थाहा पाउन महिना दिन कुर्नु पर्ला भन्ने चिन्ता मुक्त छ ।

(सापकोटा मकवानपुरको छतिवन स्थित महेन्द्र उमाविका शिक्षक हुन्)

प्रकाशित मिति २०७३ असार ५ गते

प्रतिक्रिया