Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

एसएलसी ग्रेडको गाँठो : कसरी बुझ्ने ग्रेडलाई ?

आइतबार, ०५ असार २०७३

काठमाडौं ५ असार / ०२८०२५२ ‘एक्स’ सिम्बल नम्बरका विद्यार्थीले २.२५ जीपीए ल्याए। उनको अंग्रेजी र नेपालीमा सी प्लस, विज्ञान र सामाजिकमा सी तथा ईपीएचमा बी आयो। तर, गणितमा डी मात्र आयो।

उच्च माध्यमिक शिक्षा परिषद्ले विज्ञान समूहमा भर्ना हुन कम्तीमा २.० र अन्यमा १.६ जीपीए तोकेको छ। त्यसका साथै के पढ्न कुन विषयमा कुन ग्रेड ल्याउनुपर्ने आधार निर्धारण गरेको छ।

ती विद्यार्थीले २.० जीपीए नघाए पनि गणितमा डी मात्र ल्याए। उनी ११ मा भर्ना हुन पाउँछन् कि पाउँदैनन्?

‘पाउँछन्,’ शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले भने, ‘तर, विज्ञान र व्यवस्थापनमा पाउँदैनन्। मानविकीको पनि ऐच्छिक गणित लिन पाउँदैनन्। अन्य ऐच्छिक विषयहरू राखेर अरूसरह पढ्न पाउँछन्।’

विज्ञान वा व्यवस्थापन पढ्न चाहे के गर्ने? ‘त्यसका लागि उनले गणितको ग्रेड विस्तार परीक्षा दिनुपर्ने हुन्छ,’ उनले भने, ‘र, विज्ञानका लागि कम्तीमा सी प्लस र व्यवस्थापनका लागि सी ल्याउनुपर्ने हुन्छ।’

सिम्बल नम्बर ०३२१९७६ ‘आर’ का छात्रले जीपीए १.९५ ल्याए। अंग्रेजीको सैद्धान्तिकमा डी (प्रयोगात्मक जोड्दा सी), विज्ञानमा ई (प्रयोगात्मक जोड्दा डी प्लस) र गणितमा पनि डी मात्र आएको छ। सैद्धान्तिकमा कमसल ग्रेड आएकाले अन्योलमा पर्दै उनले जिज्ञासा राखे, ‘मैले कक्षा ११ पढ्न पाउँछु?’

शिक्षा मन्त्रालयको मापदण्डअनुसार उनले पनि पाउँछन्। किनकि, प्रयोगात्मकसमेत रहेका विषयमा सैद्धान्तिक होइन, दुवैको योगको औसत अर्थात् अन्तिम ग्रेडलाई मान्यता दिइन्छ। उनको तीनवटा विषयमा सैद्धान्तिकमा डीभन्दा  कम आएकाले मौका परीक्षा भने दिन पाउने छैनन्। विज्ञान र व्यवस्थापनमा भर्ना हुन पनि सक्दैनन्। मानविकीका अन्य ऐच्छिक विषय पढ्न उनलाई बाधा छैन।

सिम्बल नम्बर ०३२१९७१ ‘एम’ ले २.६५ जीपीए ल्याएका छन्। तर, विज्ञानको सैद्धान्तिकमा डी ल्याएका छन्। प्रयोगात्मकमा ‘ए प्लस’ छ। औसतमा सी ग्रेड हुन्छ।

कम्तीमा २.० जीपीए ल्याउनेले विज्ञान अध्ययन गर्न पाउने नियम छ। तर, साथसाथै विज्ञानमा कम्तीमा सी प्लस ल्याउनैपर्ने प्रावधान छ। त्यसैले उनले विज्ञानमा भर्ना हुन पाउँदैनन्। उनले ग्रेड वृद्धि परीक्षा दिन भने पाउँछन्।

सिम्बल नम्बर ०२८११५० ‘एल’ की छात्राले २.१५ जीपीए ल्याएकी छन्। यो विज्ञान पढ्न आवश्यक २ जीपीएभन्दा बढी हो। उनको चाहना पनि विज्ञान पढ्ने छ। समस्या उनलाई पनि उही छ– गणितमा डी मात्र। विज्ञान पढ्न गणितमा पनि सी प्लस आउनैपर्छ।

चिन्ता लोकसेवाको

भर्ना त होइन्छ, भविष्यमा लोकसेवाले मान्यता दिएन भने सरकारी सेवामा जान पाइँदैन कि भन्ने कम ग्रेडवाला विद्यार्थीको चिन्ता छ। नेपाली सेना र प्रहरी सेवामा प्रवेश गर्न पनि वञ्चित होइने हो कि भन्ने डर छ। तर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल भन्छन्, ‘सरोकारवाला सम्पूर्ण निकायसँग पूर्वसहमति भई निर्णय गरिएको हो। ढुक्क भए हुन्छ, सरकारी प्रमाणपत्र पाउने कसैलाई कुनै अप्ठ्यारो पर्ने छैन।’

उनका अनुसार विश्वविद्यालयहरूसँग पनि सहमति भइसकेको छ। कुन विषयको कति ग्रेड र कति जीपीए ल्याउनेलाई कहाँ–कहाँ भर्ना गराउने भन्ने मापदण्ड विज्ञहरूको परामर्श, अन्तर्राष्ट्रिय अभ्यास र सरोकारवाला निकायको सिफारिसमा तयार पारिएको उनले जानकारी दिए। ‘उच्च माध्यमिक शिक्षा परिषद् र सीटीईभीटीको संयुक्त बैठकबाट निचोडमा पुगिएको हो,’ उनले भने ।

उनले भने– ‘विज्ञहरूसँग छलफल गरिएको छ। अन्तर्राष्ट्रिय समकक्षताका आधारमा यसलाई मिलान गरेका छौं। त्यसैले यसबाट बिचल्ली हुने होइन, झन् सुविधा पुग्छ।’ लोकसेवामा अहिले पनि राजस्व, परराष्ट्र वा निजामती सेवामा प्रतिस्पर्धा गर्न फरक–फरक मापदण्ड छन्। ‘गुणस्तर त जहिले जहाँ पनि हेरिन्छ,’ उनले थपे, ‘लेटर ग्रेडिङ प्रणालीले जुन विद्यार्थी जुन विषयमा कमजोर छ, त्यता नअलमल्याई सक्ने विषयमा अघि बढाउने हो। भविष्यमा रोजगारीका मापदण्ड पनि त्यसरी नै निर्धारण गरिनेछन्।’

कान्तिपुरमा अखण्ड भण्डारी र मकर श्रेष्ठले लेखेका छन्  ।

प्रतिक्रिया