Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

शिक्षक महासंघको धर्ना रोक्न अदालतको आदेश

विहीबार, १७ भदौ २०७२

ललितपुर १७ भदौ / शिक्षक महासंघले गर्न लागेको धर्ना विरुद्ध परेको रिटको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले धर्ना नगर्न अन्तरिम आदेश जारी गरेको छ । धर्नाले विद्यार्थीको पढाई र जिल्ला शिक्षा कार्यालहरुबाट नागरिकले पाउने सेवाबाट बञ्चित हुने दावि सहित परेको मुद्धामा अदालतले यस्तो आदेश जारी गरेको हो ।

शिक्षक महासंघले भने यस अघिनै देशको जटिल राजनीतिक परिस्थितीका कारण भन्दै २० गते गर्ने भनिएको कामरोक धर्ना स्थगित गरिसकेको छ । यसको सट््टा भदौ २१ गते उपत्यकाका ३ वटै जिल्लामा विविध कार्यक्रम गर्ने भनिएको छ । २६ गते गर्ने भनिएको काठमाडौं जाऔं आन्दोलन भोलिपल्टलाई सारिएको छ ।

पुनरावेदन अदालत पाटनमा भदौ १ गते परेको मुद्धाको सुनुवाई गर्दै अदालतले भदौ ९ गतेका लागि तोकेको पेशीमा शिक्षा विभागले म्याद तामेली नगर्दा बिहीबारका लागि दोश्रो पेशी तोकिएको थियो । तीलक प्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त ईजलासले अन्तरिम आदेश जारी गरेको हो । 

शिक्षक महासंघले गर्न लागेको काम रोक धर्ना कानून विपरित भन्दै पब्लिक उच्च मावि धरानका लेखापाल कमलप्रसाद खतिवडा, कालीदेवि मावि धाँदिङ् सलाङ्का शिक्षक विष्णुहरी कोइराला र नमूना मच्छिन्द्र उच्च मावि लगनखेल ललितपुरका पियन दल बहादुरका छोरा शंकर बहादुर कुमालले अन्तरिम आदेश सहितको निषेधाज्ञा जारी गरी पाउँ भन्दै मुद्धा दायर गरेका थिए ।

साउन २९ गतेको धर्नाको निरन्तरता भन्दै महासंघले भदौ २० गतेका लागि कामरोक धर्ना तय गरेको थियो । संविधानको मस्यौदामा शिक्षालाई उच्च प्राथमिकतामा नराखिएको र आफूहरुसंग यस अघि भएका सहमतीको कार्यान्वयनमा शिक्षा मन्त्रीले आलटाल गरेको लगायतका माग गर्दै शिक्षकहरु लामो समय देखि आन्दोलनमा छन् ।

प्रतिक्रिया