Edukhabar
शनिबार, १२ असोज २०८१
विचार / विमर्श

अहिलेको ग्रेडिङ् 'कस्मेटिक' परिवर्तन

शनिबार, ०४ असार २०७३

- प्रा.डा.विद्यानाथ कोइराला / अहिले सरकारले शुरु गरेको ग्रेडिङ् कुनै युवतीले गरेको श्रृंगार जस्तो 'कस्मेटिक' (वनावटी) परिवर्तन हो । श्रृंगार गर्दा राम्रो देखिन्छ, तर त्यो कति दिनका लागि हो ? भन्ने थाह हुँदैन । श्रृंगारले अहिले राम्रो देखिन्छ, तर त्यो सकिए पछि त उस्तै हो ! त्यसैले यो कस्मेटिकको कुरा धेरै नगरौं । बरु, यसले ल्याएको अवस्थाबाट अब के गर्ने ? भन्ने चिन्तन गरौं ।

उदाहरणका लागि अव कक्षा ११ लचिलो बन्न सक्छ की सक्दैन ? कुनै पनि विद्यार्थीको एउटामा ई आयो अर्कोमा ए आयो अर्कोमा सी आयो अब उसलाई त्यहाँ भर्ना दिन के गर्ने ? त्यो विषय पढ्न विद्यार्थीलाई रहर छ । अब के गर्ने ? त्यसैले अभिवृद्धि परीक्षा वा झूकाव परीक्षाका बारेमा सोच्नु जरुरी छ । ईच्छा भएका यस्ता विद्यार्थीको पढाई अगाडी बढाउन परीक्षा लिन जरुरी छ ।

त्यस्तै त्यो विद्यार्थीले अव म दुई महिना पढेर यो कोर्स जसरी पनि सक्छु र अगाडिको पढाईमा जान्छु भन्यो भने ठाउँ दिने की नदिने ? त्यस्तै त्यही विद्यार्थीले म व्यवसायिक रुपमा जान्छु, गरेर खान्छु, त्यसका आधारमा मेरो पढाईको क्रेडिट आवर त्यहाँ बस्छ की बस्दैन ? गर्दै पनि खान्छु । क्रेडिट आवर पनि पाउँछु । प्राज्ञिक लाईनमा पनि जान्छु । तर आज हैन पर्सि, दुई दिन पछि, दुई महिना पछि, दुई बर्ष पछि भन्यो भने उसको निम्ति बाटो दिने की नदिने ?

कुनै विद्यार्थीले म नीयमित स्कुलमा आउन, पढ्न नसक्ने रहेछु त्यसो भए मलाई खुला मोडमा जान दिने की नदिने ? भन्यो भने के गर्ने ? यस तर्फ सोच्नु पर्छ । त्यसैले ११ कक्षामा भर्ना हुनका लागि उसको ल्याकत परीक्षा जसलाई टफेल, आईएलटीएस जस्ता परीक्षाका प्रारुपमा सोच्नु पर्ने अवस्था आयो ।  

यस अघि 'क्यास' (विद्यार्थीको निरन्तर मूल्याँकन प्रणाली) लागू भयो । 'क्यास' लागू गर्दा 'झ्यास'हरुलाई माथि पठायौं । त्यही झ्यासलाई ए वी सी डी गर्ने वित्तिकै १२ मा गएर थुप्रिने भयो । यस्ता झ्यासहरु १२ मा गएर थुप्रिए पछि विश्वविद्यालयलाई ठूलो अप्ठ्यारो हुने परिस्थिती सृजना गर्दै गयौं । विश्वविद्यालय त्यसमा तयार छ की छैन ? यो कुरा सोच्नु पर्ने अवस्था आयो ।

ग्रेडिङ् हुने वित्तिकै गुणस्तर सुध्रन्छ भन्ने फटाह कुरा गर्यो शिक्षा मन्त्रालयले । यो अहिल्यै बन्द गर्नुस् । बरु सुधारात्मक कक्षाको निम्ति हाम्रा शिक्षकलाई कसरी तयार पार्ने ? मुख्य कुरा यो हो । हुन त अहिलेको बजेटमा त्यो कुरा उल्लेख छ । तर शिक्षकसंग सहकार्य नै नभएको यो कुरा शिक्षकले मान्ला ? किन भने – सामाजिक शिक्षा पढाउने शिक्षकले भन्ला – मेरा सबै विद्यार्थी पास भए, अंग्रेजीले भन्ला – मैले सक्दै सकिन ! त्यसो भए अंग्रेजीका शिक्षकलाई नालायक भन्दिने हो अव ? त्यसैले शिक्षकलाई कसरी तयार पार्ने भन्ने बारेमा मन्त्रालयले असाध्यै गम्भिर भएर सोच्नु पर्ने छ ।

हाम्रा शिक्षक अनुसन्धान गर्दैनन् । अनुभव गर्छन् । तर, त्यसलाई लिखत गर्दैनन् । त्यो कुराको पछि पनि लाग्दैनन् । हाम्रा निम्ति त्यो पीडा छ । त्यो शिक्षकलाई कसरी त्यता तिर लाने हो, अर्को ढंगले सोच्नु पर्ने छ । 
अब १० कक्षाको एसएलसी हैन । अव पनि १० कक्षाकै एसएलसी भन्दिने हो भने अर्को अप्ठ्यारो आउँछ । अब त एसएलसी भन्ने भाषै हरायो भन्न थाल्नु पर्यो । अब कक्षा १० को जाँच कक्षा १२ को जाँच भन्नु पर्छ ।
अहिले विद्यार्थीलाई कहाँ पढ्ने भन्ने अलमल छ । ब्यवस्थापनमा, विज्ञानमा, मानविकीमा भन्ने भाषा हैन । किन भने उच्च माध्यमिक शिक्षा परिषद्को निर्णयको विश्लेषण गर्ने हो भने त्यो एकद्धार प्रणाली हो । विद्यार्थीले कति क्रेडिट आवर पार गरे पछि त्यो प्रणालीमा जान्छ भन्ने कुरा हो अब ।

विद्यार्थीले के पढ्छ उसको रहरको कुरा हो । त्यसमा कति नम्बर ल्याउँछ जाँच्ने मान्छेको कुरा हो । तर उसले पढ्ने ब्यक्तिगत होस् वा सामुहिक होस् वा स्थानीय जे सुकै कोर्स भए पनि त्यसलाई सम्मान गर्ने कुरा मुख्य हो । यसलाई यो रुपमा ब्याख्या गर्न र बुझाउन जान्ने हो भने ग्रेडिङ्मा देखिएको अलमल कम हुन्छ नत्र अन्यौलमा पुर्याउँछ ।

यो अन्यौल चिर्न केही कुरा तत्काल गर्नु आवश्यक छ ।

नम्बर एक – अभिवृद्धि परीक्षा वा झूकाव परीक्षाको तयारी थालौं । किन भने विद्यार्थी जस्तो क्षमताको छ त्यता उसलाई धकेल्नु पर्यो ।

नम्बर दुई – स्तरीयता मापन परीक्षा प्रणाली बनाउन थालौं । किन भने यसले विद्यार्थीको क्षमता नाप्छ ।

नम्बर तीन – शिक्षकलाई सुधारात्मक कक्षामा लगाऔं । शिक्षकलाई भन्नु पर्यो – तपाई अनुसन्धानमा लाग्नुस्, विद्यार्थी कमजोर भयो भने तपाईलाइ कारवाही गर्छौ ।

यत्ति काम गर्न सकिएन भने हामीले जुन हिसावले ए वी सी डी लाई के के न होला भनेर ब्याख्या गर्यौं त्यो केही पनि हैन भन्ने पुष्टि हुन्छ ।

अंकमा जाँच्ने विदेशमा पनि छ, स्वदेशमा पनि छ । अंकमा जाँच्नु भनेको अपराधै त हैन । कति अंकमा जाँच्ने ? १३ अंकमा जाँच्ने हो भने डेनीस तरिका । नौ अंकमा जाँच्ने हो भने क्यानेडियन तरिका । अंक नै अपराध हो र ? हाम्रो जाँच्ने चलन एक सय अंकमा भयो । त्यसलाई नौ अक्षरमा बाँडेर ग्रेडिङ् भनियो ।

ग्रेडिङ् गर्ने वित्तिकै चिट चोर्न हराउँछ भन्ने अर्को नचाहिने कुरा भनियो । किन भने ई मा हुने मान्छेले ए मा आउनको निम्ति जहिले पनि चिट चोर्छ ।

ग्रेडिङ् गर्ने वित्तिकै गुणस्तर बढ्छ । त्यो पनि हैन । किन भने गुणस्तर बढ्ने भनेको शिक्षकको ताकतले हो । निजी विद्यालयले गुणस्तर दिएँ भनेको शिक्षककै तागतले हो ।  त्यसो भए अव ए वी सी डी मा जाँच्ने शिक्षकको क्षमता हेरौं । प्रयोगात्मक कक्षामा २५ मा २५, सैद्धान्तिक कक्षामा ७५ मा ५ । यो हाम्रो यथार्थ हो ।

यस्तो अंक दिने हाम्रा शिक्षकको बुद्धि भएको हुनाले त्यो बुद्धिले ए वी सी डी मा जाँची हाल्छ भन्ने कुरा पनि फटाह नै हो । किन भने, विश्वविद्यालयमा हामीले त्यही दशा देखेका छौं । २० मा १८ दिएन भने त्यो मुर्दावाद शिक्षक । १८ त दिनै पर्ने भन्ने नियम बनाउने । अनी १८ पछि बाँकी रहेका १९ र २० दुई नम्बरका लागि विचरा शिक्षकलाई हल्लाईरहने ! उसले शुन्ना नम्बर दियो भने के हुने ? विश्वविद्यालयको यो हालत पनि बुझौं ।

यी सबै कुरालाई विश्लेषण गरेर उपाय निकालौं । ग्रेडिङ्को यही नै फाईनल र सबै भन्दा गतिलो चिज हो भनेर नबुझ्न मेरो सुझाव छ ।

(ग्रेडिङ् र यसका चुनौतिबारे काठमाडौंमा भएको एक कार्यक्रममा शिक्षाविद् कोइरालाद्धारा व्यक्त विचारको सम्पादीत अंश )

प्रकाशित मिति २०७३ असार ४ गते

प्रतिक्रिया