Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

उच्च शिक्षा लिन जिल्लाबाट बाहिरिने घट्दै

शनिबार, ०४ असार २०७३

काठमाडौँ, ४ असार । जिल्लाभित्रै स्तरीय शैक्षिक संस्था स्थापना भएसँगै बुटवलबाट उच्च शिक्षा लिन बाहिरिनेको संख्या घटेको छ ।   रुपन्देहीका शैक्षिक संस्थाले पछिल्लो समय राष्ट्रियस्तरका शैक्षिक संस्थाले जस्तै शिक्षा दिन थालेपछि अन्य सहरबाट समेत उच्च शिक्षा लिन विद्यार्थी आउन थालेको संस्थाका सञ्चालक बताउँछन् । 

सञ्चालकहरू काठमाडौंबाट समेत विद्यार्थी बुटवल आउन थालेको बताउँछन् । गतवर्ष गएको भूकम्पपछि काठमाडौंमा अध्ययन गरिरहेका विद्यार्थी बुटवल फर्कने क्रम बढ्ेको उनीहरू बताउँछन् ।  

प्याब्सनका केन्द्रीय उपाध्यक्ष एवं न्यु होराइजन उच्च माविका प्राचार्य लोकनाथ उपाध्याय रुपन्देहीका शिक्षण संस्था सबै विषयमा उत्कृष्ट नतिजा दिन सफल रहेको बताउँछन् । यो अवस्थामा अब उच्च शिक्षाका लागि बाहिर जान  नपर्ने उनी बताउँछन् । ‘घरैमा बसेर राम्रो पढाइ हुने शैक्षिक संस्थामा पढ्न पाइन्छ भने किन भौँतारिँदै अन्यत्र जाने रु उनको प्रश्न छ । 

व्यवस्थापन अध्ययनमा उत्कृष्ट

व्यवस्थापन संकायमा नेपाल प्रथम भएको एक्सिस कलेजले शैक्षिक प्रगतिमा रुपन्देहीको प्रतिष्ठा बढाउन थप मद्दत पुर्‍याएको छ । कलेजका कार्यकारी निर्देशक कृष्ण पोखरेल कलेजले शैक्षिक गुणस्तरमा ध्यान दिएकाले परिणाम राम्रो पाएको बताउँछन् । 

यता, रुपन्देही इन्जिनियरिङ क्षेत्रको पढाइमा पनि अगाडि रहेको छ । यहाँका लुम्बिनी इन्जिनियरिङ कलेज भलबारी तथा सिसिटी कलेजले पनि शैक्षिक क्षेत्रमा चर्चा कमाएका छन् । 

बुटवलका अक्सफोर्ड, क्यानन, मणिमुकुन्द, दीप उच्च मावि, ग्लोरियस, कालिका उच्च मावि, कान्ति उच्च मावि, एचिर्भसलगायतका शिक्षण संस्थाले वर्षांैदेखि उत्कृष्ट शिक्षा प्रदान गरिरहेको सञ्चालक बताउँछन् । 

मेडिकल शिक्षामा अग्रणी

यता, मेडिकल शिक्षातर्फ पनि रुपन्देही अग्रणी रहेको छ । यहाँ दुईवटा मेडिकल कलेज सञ्चालित छन् ।  भैरहवास्थित युनिभर्सल इन्स्टिच्युट अफ एडभान्स इस्टडिज एन्ड रिसर्च प्रालि र रुपन्देही देवदहमा रहेको देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युट प्रालिले मेडिकल शिक्षा दिइरहेका छन् । यसका अतिरिक्त स्वस्थ्यसम्बन्धी दर्जन बढी शिक्षण संस्था जिल्लामा रहेका छन् । 

निजी तथा सरकारी क्षेत्रबाट शिक्षामा नयाँपनसहितको प्रतिष्पर्धा भइरहेको बुटवलमा पछिल्लोपटक दक्षिण कोरियाको अन्तर्राष्ट्रिय सहयोग संस्था कोइकाको ४५ करोड रुपैयाँको अनुदान सहयोगमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सानोठिमीले कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजीको भवन निर्माण गरी केही वर्ष अगाडिदेखि पढाइ सुरु गर्दै आएको छ । 

पटक–पटक एसएलसीमा उत्कृष्ट

विगत वर्षका एसएलसी परीक्षामा पनि रुपन्देहीका शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका थिए । यस क्षेत्रका स्कुल तथा कलेज सञ्चालले अब शिक्षाका लागि रुपन्देहीबाहिर धाउनुपर्ने आवश्यकता नरहेको बताउन थालेका छन् । 

हरेक तहको पढाइका लागि भौतिक संरचनादेखि शैक्षिक गुणस्तरमा समेत रुपन्देही अगाडि रहेको उनीहरूको भनाइ छ । 

यहाँको न्यु होराइजन एसएलसीमा २०५६ र २०५९ सालमा एसएलसी बोर्ड टप गर्न सफल भएको थियो भने एभरेस्ट बोर्डिङ स्कुल पनि उत्कृष्ट दशभित्र पर्न सफल भएको थियो । उच्च शिक्षामा विगतमा विज्ञानमा नेपाल टप गर्नसमेत होराइजन सफल भएको प्राचार्य लोकनाथ उपाध्याय बताउँछन् । 

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया