Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

२२ लाख विद्यार्थी अध्ययनबाट वञ्चित

आइतबार, २७ भदौ २०७२

काठमाडौं २७ भदौ / तराईमधेशमा चलिरहेको आन्दोलन प्रभावित २० जिल्लाका २२ लाख विद्यार्थी २६ दिनयता पठनपाठनबाट वन्चित भएको शिक्षा विभागले जनाएको छ।

विभागका निर्देशक खगेन्द्र नेपालका अनुसार आन्दोलन प्रभावित जिल्लाका २२ लाख विद्यार्थीको भविष्य अन्योलग्रस्त भएको छ। आन्दोलनरत दल र भातृ संगठनले विद्यालय बन्द गर्न चेतावनी दिएपछि त्यहाँ पठनपाठन ठप्प भएको सम्बन्धित जिल्लाका शिक्षा कार्यालयले जनाएका छन्।

विद्यार्थी र अभिभावकले आन्दोलनकारीसँग विद्यालय खोल्न र शान्तिपूर्ण वातावरणमा पठनपाठन हुन दिन आग्रह गरे पनि विद्यालय खुल्न सकेका छैनन्। चार वर्षअघि सरकारले 'विद्यालय र बालबालिका शान्ति क्षेत्र' भएको घोषणा गरेको थियो।

सर्लाहीमा सामुदायिक र निजी गरी कुल ५ सय ५९ विद्यालयका १ लाख ७४ हजार २ सय ४६ विद्यार्थी २६ दिनदेखि आन्दोलनका कारण घरमै बस्न बाध्य भएको निमित्त जिल्ला शिक्षा अधिकारी सुनील कुसवाहाले जनाए। 'मधेसीदल निकट शिक्षक नै आन्दोलन सघाउन स्कुल बन्द गराउँदै हिँडिरहेका छन्,' कुसवाहाले नागरिकसँग भने।

धनुषाका जिल्ला शिक्षा अधिकारी शंकर कार्कीका अनुसार जनकपुरमा साउन २६ गते सुरु आन्दोलनका कारण सहरी क्षेत्रका स्कुलमात्र बन्द भए। तर भदौ १८ गतेपछि ग्रामीण क्षेत्रका स्कुलसमेत बन्द भए। धनुषामा कुल ५ सय १ विद्यालयमा १ लाख ३५ हजार विद्यार्थी छन्। कार्कीले यो शैक्षिक सत्रमा एसएलसी परीक्षार्थीको पाठ्यक्रम पूरा गर्न चुनौतीपूर्ण बनेको बताए।

आन्दोलनरत दलसँग जिशिकाले विद्यालय शान्ति क्षेत्र भएकाले पठनपाठन सुचारु गर्न आग्रह गरे पनि उनीहरू आन्दोलन सफल पार्न विद्यालय बन्द हुनै पर्ने अडानमा छन्।

मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक कृष्णप्रसाद काप्रिका अनुसार क्षेत्रका धनुषा, महोत्तरी, सलार्ही, बारा, पर्सा र रौतहट गरी ६ जिल्लामा पठनपाठन २६ दिनदेखि नै ठप्प छ।

शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले आन्दोलनका कारण देशभर २० जिल्लाका २२ लाख विद्यार्थी २६ दिनयता अध्ययन अध्यापनबाट वञ्चित भएको जनाए। विभागले आन्दोलनरत दलका नेतासँग छलफल गरी विद्यालयलाई आन्दोलनबाट अलग राखेर निर्बाध सञ्चालन गर्ने वातावरण बनाउन अनुरोध गरेको उनले जनाए।

'विभागले सरोकारवाला निकायसँग आइतबारदेखि विद्यालय खोल्न आग्रह गरिसकेको छ,' निर्देशक नेपालले भने, 'राजनीतिक दलका प्रमुखले नै विद्यालय शान्ति क्षेत्र घोषणा गरेका हुन्। त्यसैले पनि स्कुल खुलाउन विभागले आग्रह गरेको हो।'

नागरिकमा रुबी रौनियारले लेखेकी छन् ।

प्रतिक्रिया