Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

बोरामा राष्ट्रिय पुस्तकालय

विहीबार, ०२ असार २०७३

काठमाडौँ, २ असार । तीन सय वर्ष पुराना किताब बोरामा कोचिएका छन् । वर्ष दिनदेखि एउटै कोठामा बेहाल अवस्थामा राखिएकाले ढुसी लागेको छ । भित्तातिरका पुस्तक धमिराले खान थालेको छ ।

यो हो, देशको एकमात्र राष्ट्रिय पुस्तकालयको हालत । गत वर्ष गएको भूकम्पले राष्ट्रिय पुस्तकालय रहेको ललितपुरको हरिहरभवन जीर्ण भएपछि डेढ लाख पुस्तकहरू बोरामा कोचेर राखिएका हुन् ।

भूकम्पबाट पुस्तक जोगिए पनि ठाउँको अभावमा काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन उच्चमाविको दुई तले भवनमा थुपारिएका छन् । मुनिको तलामा फर्निचर र केही पत्रपत्रिका तथा माथिल्लो तलामा ऐतिहासिक पुस्तकहरू छन् ।

अधिकांश पुस्तक प्लास्टिकका बोरामा पोको पारेर चाङमाथि चाङ राखिएका छन् । बीच भागका १४ वटा स्टिल र्‍याकमा अटेसम्मका किताब छन् ।

‘यसरी थन्क्याएको एक वर्ष भयो,’ कान्तिपुरको अनुरोधमा गोदामघर खोल्न पुगेका पुस्तकालय सहायक अमूल्यनारायण कण्ठले भने, ‘जोगाउन कपूर राखेका छौं । बेगन छरेका छौं । तर, झ्यालबाट पानी पसेर किताब भुसुक्कै भिजेछन् । कुनातिर धमिरा लागेछ ।’

हस्तलिखित ग्रन्थहरूमध्ये केहीलाई कपडाले बेरेर र्‍याकमा राखिएको छ । पुस्तक राखेको सिमेन्ट प्लास्टर गरिएको भुइँ भिजेको अवस्थामा छ । प्रमुख यादवचन्द्र निरौलाका अनुसार पुस्तकालयमा दर्ता गरिएका १ लाख ८ हजार किताब र पत्रपत्रिकासहित १ लाख ५० हजारभन्दा बढी छन् ।

‘भूकम्पबाट पुस्तकालय भवन ध्वस्त भए पनि किताब अहिलेसम्म जोगाएका छौं,’ उनले भने, ‘मन्त्रालयको ध्यानाकर्षण गराउँदै हैरान छौं । जग्गा दिनोस्, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउँछौं भनेका छौं । अझै बेवास्ता गरे अब बोरा नै माटो बन्न सक्छ ।’

पुस्तकालयले नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत भाषाका फरक शाखा विस्तार गरेको थियो । पुस्तकालयमा तीलगायत मराठी, पाली, फ्रेन्च, जापनिज, थाई, मलेसियन र नेपालमा बोलिने विभिन्न भाषाका पुस्तक छन् ।

सरकारले २०१३ पुसमा राष्ट्रिय पुस्तकालय स्थापना गरेको हो । सुरुमा राजगुरु हेमराज पाण्डेका निजी पुस्तकहरू खरिद गरेर पुस्तक संकलन सुरु गरिएको थियो ।

उतिखेर सिंहदरबार परिसरको सिक्री ढोका भवनमा रहेको उक्त पुस्तकालय २०१७ सालमा ललितपुरको हरिहरभवनमा सारिएको थियो । व्यवस्था फेरिए पनि पुस्तकालयलाई सरकारले प्राथमिकतामा राख्न नसकेको विज्ञहरूले गुनासो गरेका छन् ।

भाषाशास्त्री प्राध्यापक चूडामणि बन्धुले सरकारले पुस्तकको महत्त्व बुझ्न नसकेको टिप्पणी गरे ।

‘विभिन्न देशमा राष्ट्रिय पुस्तकालयका निम्ति सरकारले धेरै खर्च गर्छ,’ उनले भने, ‘छिमेकी मुलुक भारतमै पनि केन्द्रीय, राज्यस्तरीय, जिल्लागत र क्षेत्रीयस्तरका पुस्तकालय छन् ।’

राष्ट्रिय पुस्तकालयमा २३ कर्मचारीको दरबन्दी रहेमध्ये एक उपसचिव, पाँच अधिकृत, पाँच नासु, तीन खरिदारलगायत १८ जना कार्यरत छन् । गत वर्षको भूकम्पपछि पुस्तकालय अन्यत्र सारिए पनि कर्मचारी भने हरिहरभवन परिसरको तत्कालीन तबेला टहरामा कामविहीन छन् ।

पुस्तकालका निम्ति २०७२र७३ मा ९३ लाख ५२ हजार रुपैयाँ बजेट विनियोजित छ । पुस्तकालयले पत्रपत्रिका र अन्य प्रकाशनलाई इन्टरनेसनल स्ट्यान्डर्ड सेरियल नम्बर ९आईएसएसएन० दिँदै आएको छ ।

‘भूकम्पबाट दुस्ख परेको सर्वविदितै छ, राष्ट्रिय पुस्तकालयको भवन ध्वस्त बनेको भनिरहनु परेन,’ शिक्षा सचिव विश्वप्रकाश पण्डितले भने, ‘भूकम्पपछि सेवा दिन सकिएको छैन ।

पुस्तक संरक्षण मात्र भएको छ । राष्ट्रिय पुस्तकालयलाई अब राष्ट्रिय नै बनाउने गृहकार्य गरेका छौं ।

पुस्तकालय केन्द्रमा हुनुपर्छ भनेर मन्त्रालयले जमलमा रहेको जग्गालाई त्रिभुवन विश्वविद्यालयबाट फिर्ता लिएर त्यहाँ भवन निर्माण गर्ने योजना बनाइएको छ । पुस्तक नीति पनि बनाउँदै छौं । तर स्थायी संरचना बनाउन अझै समय लाग्छ ।’

भूकम्पपछि शिक्षा मन्त्रालयले केही महिनाका लागि महेन्द्र भवन उच्चमाविको भवनमा पुस्तक राखेको प्रिन्सिपल राकेश रोशनले बताए ।

‘राष्ट्रिय पुस्तकालयको पुस्तक नै भएकाले बढीमा वर्ष दिनसम्मका लागि भनेर दियौं,’ प्राविधिक कारणले गत वर्ष उच्चमावि सुचारु हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘यो वर्षबाट कक्षा ११ को पढाइ सञ्चालन गर्ने तयारीमा छौं । अब चाँडै पुस्तक रहेको गोदाम खाली नभए समस्या आउनेछ ।’ उक्त विद्यालयमा कक्षा १० सम्म साढे दुई सय विद्यार्थी पढछन् ।

वेबसाइट पुरानै

गुगल सर्च गरेमा राष्ट्रिय पुस्तकालय हरिहर भवनमा रहेको फेला पर्छ । गणतन्त्र आएको दस वर्ष कटिसक्दासमेत राष्ट्रिय पुस्तकालयको वेबसाइटमा ‘श्री ५ को सरकार’ नै उल्लेख छ । त्यसैगरी राष्ट्रिय पुस्तकालय कार्यालयविहीन भएको वर्ष दिन नाघिसके पनि पुरानै हरिहर भवनको फोटो राखिएको छ । पुराना सूचना र जानकारीहरू उल्लेख छन् ।

पुस्तकालय सुधारका निम्ति विगतमा जापान सहयोग नियोग ९जाइका०, युनेस्को, डानिडा प्रोजेक्टसित सहकार्य गरेको समेत उल्लेख छ । ‘सधैं स्रोतको अभाव छ,’ कमजोरी स्वीकार गर्दै प्रमुख निरौलाले भने, ‘वेबसाइट अपडेट गर्न अझै एक डेढ महिना लाग्छ ।’

राष्ट्रिय पुस्तकालयका दुर्लभ, महत्त्वपूर्ण पुस्तक संरक्षणका निम्ति जापान सरकारले सोह्र वर्षअघि माइक्रोग्राफिक यन्त्र प्रदान गरेको थियो । सन् २००१ मा प्राप्त माइक्रोफिल्म क्यामरा, प्रोसेसिङ मेसिन, माइक्रोफिल्म रिडर, बाइन्डिङ इकुप्मेन्टलगायत यन्त्र निकम्मा अवस्थामा थन्किएका छन् ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया