Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

सामुदायिक विद्यालयमा ई–भिलेज

विहीबार, ०२ असार २०७३

काठमाडौँ, २ असार । पाख्रीबास नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयमा इलेक्ट्रोनिक गाउँ (ई–भिलेज) केन्द्र स्थापना गरिएको छ । पाख्रीबास– ११ फलाटेमा रहेको अमर माविमा जिल्लामै पहिलोपटक आधुनिक कम्प्युटर ल्याबसहितको ई–भिलेज केन्द्रको स्थापना गरिएको हो ।

इ–भिलेजबाट विद्यार्थीसहित स्थानीयलाई इन्टरनेटको माध्यमबाट शिक्षा, स्वास्थ्य, सञ्चार, कृषिलगायत आफूलाई आवश्यक पर्ने विषयका बारेमा सजिलै जानकारी लिन सहयोग पुग्ने विज्ञान तथा प्रविधि मन्त्रालय सूचना प्रविधि विभागका निर्देशक रमेशराज सुवेदीले बताए । 

इ–भिलेज स्थापनाका लागि विज्ञान तथा प्रविधि मन्त्रालय सूचना प्रविधि विभागले ६ लाख ५० हजार मूल्यबराबरका उपकरण तथा सामग्री प्रदान गरेको छ । जसमा ल्यापटप एक थान, ब्रान्डेड डेस्कटप दुई थान, फोटोकपी मेसिन एक थान, प्रिन्टर स्क्यानर एक थान, मल्टी मिडिया प्रोजेक्टर एक थान रहेको विद्यालयका प्रधानअध्यापक दीपेन्द्र राईले बताए । 

यसैगरी, साउन्ड सिस्टम एक थान, सोलार प्यानल दुई थान, इन्भर्टर एक थानका साथै राउटर, ब्याट्री, हार्डडिस्कलगायत रहेका छन् । जिल्लाको दुर्गम गाउँ मानिएको फलाटेमा आधुनिक कम्प्युटर ल्याबसहितको ई–भिलेज केन्द्र स्थापना गरिएपछि विद्यार्थी तथा स्थानीय खुसी भएका छन्  । 

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया