Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

पाठ्यपुस्तकविना परीक्षा

आइतबार, २७ भदौ २०७२

काठमाडौं २७ भदौ / बाजुरा जिल्लाका पूर्वोत्तर भेगका ११ गाविसका सबै विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले पाठ्यपुस्तकविना नै परीक्षा दिएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको पाँच महिनासम्म पनि पुस्तक नपुगेपछि पुस्तकविना नै अर्धवार्षिक परीक्षा दिएका हुन् ।

जनक शिक्षा सामग्रीले पर्याप्त पुस्तक जिल्लामा ल्याउन नसके पनि ग्रामीण भेगका विद्यार्थीले पाउन सकेका छैनन् । पुस्तक डिपोलाई ढुवानी रकम तिर्न नसक्दा पर्याप्त पुस्तक जिल्ला नभित्रिएको हो । जिल्लाका अधिकांश विद्यालयमा यो साताबाट अर्धवार्षिक परीक्षा सुरु भएको छ ।‘परीक्षा सञ्चालन त भयो, तर विद्यार्थीले पुस्तकविनै परीक्षा दिएका छन्,’ शम्भु सुनन्दा उमाविका जुकोटका विद्यार्थी चरित्र अयडीले बताए । जिल्लामा विद्यार्थी भर्ना अभियान सञ्चालन भएको पाँच महिना भइसकेको छ ।

जिल्लाको दुर्गम विच्छया माविका दिनेश बुढाले भने, ‘परीक्षा त सञ्चालन भयो, तर हामीले किताबै पाएका छैनौँ, हरेक वर्ष विच्छयाका विद्यार्थीले किताब पाउँदैनन् ।’ जिल्लाका जुकोट, वाई, रुगिन, विच्छया, कोल्टी, साप्पाटा, पान्डुसैन, गोत्री, जगन्नाथ, कोटिला, बाँधु र कोटिला गाविसमा पाठ्यपुस्तक पुगेको छैन ।

गत वर्ष जिल्लामा कक्षा १ देखि १० सम्म ८० हजार सेट पुर्‍याउनुपर्नेे थियो । तर, कतिपय विषयका पाठ्यपुस्तक नपाएरै विद्यार्थीले परीक्षा दिनुपरेको शिक्षा कार्यालयले पनि जनाएको छ । जिल्ला शिक्षा कार्यालय बाजुराले पाठ्यपुस्तकको रकम विद्यालयको खातामा समयमा पठाएको जनाएको छ ।

जिल्लामा दुई सय २३ बालविकास केन्द्र, दुई सय ७१ सामुदायिक विद्यालय र २७ वटा संस्थागत विद्यालय छन् । बाजुरामा हरेक वर्ष पर्याप्त पुस्तक नजाँदा िवद्यार्थी समस्यामा पर्ने गरेका छन् । पाठ्यपुस्तक अपुगकै कारण जिल्लामा एसएलसी नतिजा राम्रो आउने नगरेको शिक्षकहरूको गुनासो छ ।

नयाँ पत्रिकामा गगन अयडीले लेखेका छन् ।

प्रतिक्रिया