Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

किशोर–किशोरी मैत्री शिक्षा माग

सोमबार, २८ भदौ २०७२

काठमाडौं २८ भदौ / ९ र १० कक्षामा अध्ययनरत गौरी थापा, सुष्मा शाही, प्रगति लुहार, गंगा गोसाई, दीपक वलीलगायत डेढ दर्जन विद्यार्थी किशोर–किशोरी मैत्री शिक्षाको माग गर्दै  जाजरकोट सदरमुकाम पुगेका छन् । जाजरकोटको दुर्गम गाउँस्थित दीपेन्द्र उच्च मावि भुर र बाल उमावि झाप्रामा अध्ययनरत उनीहरूले जिल्ला शिक्षा र जिल्ला स्वास्थ्य कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

दुर्गम गाउँबाट आएका उनीहरूले ती कार्यालयमा किशोर–किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य समस्या सम्बन्धी माग सहितको पत्र बुझाएका छन् । उनीहरूले स्थानीय स्वास्थ्य संस्थामा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श, गर्भनिरोधक साधन, सुरक्षित गर्भपतन, पूर्ण गोपनियता, लगायत सेवा उपलब्ध हुने व्यवस्था गरिदिन शिक्षा र स्वास्थ्यका प्रमुख समक्ष माग गरेका छन् ।

त्यस्तै विद्यालय र स्वास्थ्य संस्था खुल्ने तथा बन्द हुने एउटै समय भएकाले किशोर–किशोरीलाई स्वास्थ्य सेवाका लागि भिन्न समयको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीलाई किशोर–किशोरी मैत्री सेवा तथा परामर्शका लागि तालिमको व्यवस्था गर्नुपर्ने र महिनावारी भएका बेला प्रत्येक विद्यालयमा खानेपानी, शौचालय र सेनीटरी प्याडको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।

भावी पिंढीलाई यौन तथा प्रजनन स्वास्थ्य समस्याबाट बचाउन सम्बन्धित निकायले लैङ्गिकमैत्री वातावरणको सिर्जना गरी आधारभूत सेवाको व्यवस्था गर्नुपर्ने जरुरी भएको छात्रा विष्णु गिरीले बताइन् । ‘विद्यालयमा सुरक्षित चर्पीको समेत व्यवस्था छैन । चर्पी भए पनि पानीको व्यवस्था छैन । स्वास्थ्य सेवा तथा परामर्शका लागि स्वास्थ्य संस्था पनि टाढा छन् । यी कारणले महिनावारीको समयमा पठनपाठन बाधा पुग्छ । कुनै बेला बीच बाटोबाटै घर फर्कनुपर्ने बाध्यता छ,’ गिरीले भनिन् ।

समाजमा कम उमेरमा विवाह गर्ने, कम जन्मान्तर, असुरक्षित यौन सम्पर्क राख्ने, लागूपदार्थ दुव्र्यसनलगायत समस्या कायम छन् । स्वस्थकर यौन तथा प्रजनन व्यवहारको अवलम्बन नगर्दा यी समस्या आएका हुन् । यसैकारण जिल्लामा ४५ प्रतिशत महिला पाठेघरको समस्याबाट पीडित भएको उनले बताइन् ।

पाठेघर खस्ने समस्याको न्यूनीकरणका लागि पनि हरेक विद्यालयमा किशोर–किशोरी मैत्री शिक्षाको आवश्यकता भएको महिला अधिकार मञ्च जाजरकोटकी संयोजक निर्मला थापाले बताइन् । छात्रा तथा दौतरी शिक्षा प्राप्त विद्यार्थीहरू यस्तो अभियानमा लागेका छन् । उनीहरू बिनाहिचकिचावट आफ्ना स्वाथ्य समस्याबारे खुलस्त राख्न सक्ने भएको थापाले बताइन् ।

विद्यार्थीका जायज मागबारे सम्बन्धित निकाय सकारात्मक भएको थापाले बताइन् । केड नेपालको आर्थिक सहयोगमा मञ्चले विगत ५ वर्षदेखि जिल्लाका दर्जन गाविसमा पाठेघर खस्ने समस्याको न्यूनीकरण र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताइन् ।

कान्तिपुरमा  भीमबहादुर सिंहले लेखेका छन् ।

प्रतिक्रिया